नेभिगेसन मेनु

आज सुनकोशी–मरिण डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’
सम्पादक:南亚网络电视
समय:2024-05-08 13:19

sunkoshi2024-05-08-06-23-31

राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गतको सिँचाइ सुरुङको ‘ब्रेक थ्रु’ बुधबार हुने भएको छ । सुनकोशी गाउँपालिका–७ स्थित कानढुंग्रीमा एक विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरुङको ब्रेक थ्रु गर्ने कार्यक्रम छ । १३.३ किलोमिटर लामो सिँचाइ सुरुङमा अब ५० सेन्टिमिटर मात्रै खन्न बाँकी छ । बुधबार टनेल बोरिङ मेसिन (टिबिएम) कानढुंग्रीमै निस्कनेछ ।

चिनियाँ निर्माण कम्पनी ‘चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड’ले असोज ०७९ देखि सुरुङ खन्न सुरु गरेको साढे एक वर्षमा टनेल ब्रेक थ्रु गर्न लागिएको हो । सुरुङ खन्ने काम असोज ०८१ भित्र सक्ने लक्ष्य भए पनि पाँच महिनाअघि नै सकिएको छ । सुरुङ निर्माण गर्न सिँचाइ विभाग र कम्पनीबीच चैत ०७७ मा १० अर्ब पाँच करोड ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । त्यसपछि २८ असोज ०७९ देखि टिबिएम मेसिनमार्फत सुरुङ खन्न सुरु गरिएको हो ।    

यद्यपि, यो सुरुङलाई पानी बगाउन योग्य बनाउन भने थप डेढ वर्ष लाग्ने बताइएको छ । ब्रेक थ्रु भएपछि भू–एक्सरे गरेर सुरुङ र वरिपरिका भूभागको भौगर्भिक अध्ययन तथा अवलोकन गरिनेछ । सुरुङको भुइँ र भित्तालाई विशेष रूपमा ढलान गरिनेछ । पानी नचुहिने गरी भुइँ र भित्ता ढलान (राउनटी) गर्नेलगायत फिनिसिङका काम गर्नुपर्छ । त्यसपछि सुरुङमा पानी हालेर परीक्षण गर्नेलगायतका काम गर्न थप डेढ वर्ष समय लाग्ने आयोजना प्रमुख मित्र बरालले बताए । ‘भेरी–बबई सुरुङमा ब्रेक थ्रु गरेपछि फिनिसिङको काम झन्डै डेढ वर्ष लागेको थियो । यो सुरुङको ब्यास त्योभन्दा ठूलो छ । तर, डेढ वर्षमा सुरुङलाई पानी बग्न योग्य बनाउने लक्ष्य छ,’ उनले भने । 

भौतिक प्रगति ३० प्रतिशत

परियोजनामा सुरुङसँगै ३१.०७ मेगावाटको जलविद्युत् आयोजना, बाँध, प्रसारणलाइन, विभिन्न सिँचाइ संरचनालगायत पूर्वाधार बनाउनुपर्छ । त्यसमा इलेक्ट्रोमेकानिकल र प्रसारणलाइनबाहेकका पूर्वाधार र संरचनाको निर्माण भइरहेको छ । हालसम्म आउँदा आयोजनाको समग्र भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २९ प्रतिशत पुगेको निर्देशक बरालले बताए । 

जलविद्युत्को हेडवक्र्स, पावरहाउस, हाइड्रोमेकानिकललगायत संरचना निर्माणका लागि गत आवमै पटेल इन्डिया र नेपालको रमन कन्स्ट्रक्सनले जोइन्ट भेन्चर (जेभी)सँग १२ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेर काम अघि बढाइएको थियो । इलेक्ट्रोमेकानिकल र प्रसारणलाइन निर्माणका लागि खरिद प्रक्रिया अघि बढाएको निर्देशक बरालले बताए । समग्रमा असोज ०८४ भित्र परियोजना सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनको भनाइ छ । २० फागुन ०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यस आयोजनाको शिलान्यास पनि गरेका थिए ।

यस्ता छन् परियोजना बनेपछि हुने फाइदा

यो परियोजनाले तराईको एक लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउनेछ । साथै, ३१.०७ मेगावाट विद्युत्समेत उत्पादन गर्नेछ । परियोजनामा सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीको पानीलाई सुरुङमार्फत सिन्धुली जिल्लाको मरिण नदीमा खसालिनेछ । त्यसलाई हालको बागमती सिँचाइ आयोजनाको संरचनामार्फत मध्य–तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका करिब एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याइनेछ ।

तराई क्षेत्रमा  सञ्चालन भइरहेका सिँचाइ आयोजनाहरू नदी बहाब प्रणालीमा आधारित छन् । यो आयोजना बनेपछि उक्त क्षेत्रमा १२ महिना नै सिँचाइ सुविधा पुगेपछि उक्त क्षेत्रमा तीन गुणा उत्पादन बढाउन सक्ने आयोजना प्रमुख बरालले बताए । तोकिएको क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउन सकेमा कृषिबाट वार्षिक २६ अर्ब आम्दानी हुने आयोजनाको आकलन छ । साथै, पानी डाइभर्सन गर्ने क्रममै यसै आयोजनाभित्र ३१.०७ मेगावाट क्षमताको जलविद्युत् आयोजना पनि बन्नेछ ।

यसका लागि सुनकोशी नदीमा ब्यारेज निर्माण गरिनेछ । तामाकोशी र सुनकोशीको दोभान बेनीभन्दा केही तल सुनकोशी नदीमा एक सय ५८ मिटर लामो ब्यारेज निर्माण गरिनेछ । साथै, विद्युत् उत्पादनका लागि आवश्यक इन्टेक, डिसेन्डर पनि बनाइनेछ । उत्पादित विद्युत् ४४ किलोमिटर प्रसारणलाइनमार्फत सर्लाहीको नवलपुरमा निर्माणाधीन सबस्टेसनमा जोडिनेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर