नेभिगेसन मेनु

सुनकोशी–मरिन डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’ २६ वैशाखमा
सम्पादक:南亚网络电视
समय:2024-04-18 12:08

sunkoshi2024-04-18-07-45-08

राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गतको सिँचाइ सुरुङको ‘ब्रेक थ्रु’ २६ वैशाखमा गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा विशेष समारोहका बीच सुरुङको ब्रेक थ्रु गरिने आयोजना निर्देशक मित्र बरालले बताए । ‘ब्रेक थ्रुका लागि प्रधानमन्त्रीज्यूको समय पक्का भइसकेको छ । नेपाल सरकारसहित बागमती र मधेश प्रदेशका उच्च पदस्थ अधिकारीहरूको पनि उपस्थिति हुनेछ,’ उनले भने, ‘कुनै भौगोलिक तथा प्राविधिक समस्या नआएमा २६ वैशाखमा सुरुङ ब्रेक थ्रु हुनेछ ।’ 

३ वैशाखमा सिस्नेखोला–नागढुंगा सुरुङमार्गको ब्रेक थ्रु भएको २३औँ दिनमा १३.३ किलोमिटरको सिँचाइ सुरुङ ब्रेक थ्रु गर्न लागिएको हो । चिनियाँ निर्माण कम्पनी ‘चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड’ले असोज ०७९ देखि टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिमार्फत उक्त सुरुङ खनिरहेको छ । हालसम्म १३.०३८ किमि सुरुङ खनिसकिएको छ । अब २६२ मिटर मात्रै खन्न बाँकी छ । 

सुरुङ निर्माण गर्न सिँचाइ विभाग र कम्पनीबीच चैत ०७७ मा १० अर्ब ५ करोड ६८ लाखमा ठेक्का सम्झौता भएको थियो । २८ असोज ०७९ देखि टिबिएम मेसिनमार्फत सुरुङ खन्न सुरु गरिएको थियो । त्यसको साढे एक वर्षमा सुरुङ ब्रेक थ्रु हुन लागेको हो । यो नेपालको दोस्रो आधुनिक सिँचाइ सुरुङ हो । यसअघि भेरी बबई सिँचाइ आयोजनामा पनि १२.२१ किमिको सुरुङ बनाइएको छ । ३ वैशाख ०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सुरुङको ‘ब्रेक थ्रु’ गरेका थिए । यद्यपि, उक्त परियोजना अझै सञ्चालनमा आइसकेको भने छैन । 

सुरुङ तयार हुन डेढ वर्ष लाग्ने 

यद्यपि, यो सुरुङ तयार हुन भने थप डेढ वर्ष लाग्ने बताइएको छ । यो सुरुङलाई ब्रेक थ्रु गरेर मात्रै हुँदैन, पानी बग्न (प्रवाह गर्न) योग्य बनाउनुपर्छ । त्यो रूपमा सुरुङ तयार गर्न अझै डेढ वर्ष लाग्ने आयोजना निर्देशक बरालले बताए । ब्रेक थ्रु भएपछि भूएक्सरे गरेर सुरुङ र वरिपरिका भूभागको भौगर्भिक अध्ययन तथा अवलोकन गरिनेछ । यसैगरी, सुरुङको भुइँ र भित्तालाई विशेष रूपमा ढलान गरिनेछ । पानी नचुहिने गरि भुई र भित्ता ढलान (राउनटी) गर्नेलगायतका फिनिसिङका काम गर्नुपर्छ । यस्ता काम गर्न थप डेढ वर्ष समय लाग्ने निर्देशक बरालले बताए । 

२८ प्रतिशत भौतिक प्रगति, असोज ०८४ मा परियोजना सञ्चालन 

चैत मसान्तसम्म परियोजनाको समग्र भौतिक प्रगति भने २८ प्रतिशत पुगेको छ । यस परियोजनामा सुरुङसँगै ३१.०७ मेगावाटको जलविद्युत् आयोजना, बाँध, प्रसारण लाइन, विभिन्न सिँचाइ संरचनालगायतका पूर्वाधार बनाउनुपर्छ । त्यसमा इलेक्ट्रोमेकानिकल र प्रसारण लाइनबाहेकका पूर्वाधार र संरचनाको निर्माण भइरहेको छ । 

जलविद्युत्को हेडवक्र्स, पावरहाउस, हाइड्रो मेकानिकललगायतका संरचना निर्माणका लागि गत आवमै पटेल इन्डिया र नेपालको रमन कन्ट्रक्सनले जोइन्ट भेन्चर (जेभी)सँग १२ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेर काम अघि बढाइएको थियो । इलेक्ट्रोमेकानिकल र प्रसारणलाइन निर्माणका लागि खरिद प्रक्रिया अघि बढाएको निर्देशक बरालले बताए । समग्रमा असोज ०८४ भित्र परियोजना सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनको भनाइ छ । तराईको एक लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने र ३१.०७ मेगावाट विद्युत्समेत उत्पादन गर्ने लक्ष्यसहित यो आयोजना अघि बढाएको हो । २० फागुन ०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यस आयोजनाको शिलान्यास पनि गरेका थिए ।

परियोजनामा सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीको पानीलाई सुरुङमार्फत सिन्धुलीको मरिन नदीमा खसालिनेछ । साथै, त्यसलाई हालको वाग्मती सिँचाइ आयोजनाको संरचनामार्फत धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका करिब एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याइने छ । साथै, पानी डाइभर्सन गर्ने क्रममै यसै आयोजनामाभित्र ३१.०७ मेगावाट क्षमताको जलविद्युत् आयोजना पनि बन्नेछ । यसका लागि सिन्धुलीको खुर्काेट बजारदेखि करिब २ किलोमिटर माथितिर सुनकोशी र तामाकोसीको दोभानदेखि करिब १ सय ५० मिटर तलतिर सुनकोशी नदीमा ब्यारेज निर्माण गरिनेछ । साथै, विद्युत् उत्पादनका लागि आवश्यक इन्टेक, डिसेन्डर पनि बनाइनेछ । उत्पादन भएको विद्युत् ४२ किलोमिटर प्रसारण लाइन निर्माण गरेर सर्लाहीको नवलपुरमा निर्माणाधीन सबस्टेसनमा जोडिनेछ ।

सरकारले आफ्नै लगानीमा यो आयोजना बनाउँदै छ । पहिला यसमा ४६ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको थियो । त्यसमा ११ अर्ब कम अर्थात् ३५ अर्बमा यो आयोजना बन्दै छ । आयोजना सञ्चालनमा आएपछि सुनकोशी र तामाकोसी किनारमा बसोवास गर्ने समुदायका निम्ति आयआर्जनको प्रचुर सम्भावना रहेको आयोजना व्यवस्थापन पक्षको भनाइ छ । बहुउद्देश्यीय आयोजना भएकाले त्यस क्षेत्रमा माछापालनदेखि आन्तरिक तथा बाह्य पर्यटनको उल्लेख्य वृद्धि हुनेछ । साथै, मनोरञ्जन तथा ताल–जलाशयमा पर्यटन व्यवसायसमेत फस्टाउने अपेक्षा छ । 

देशको तराई क्षेत्रमा विकास भई सञ्चालन भइरहेका सिँचाइ आयोजना नदी वहाब प्रणालीमा आधारित छन् । महाभारत र चुरे क्षेत्रबाट उत्पत्ति भएका नदीहरूबाट विकास भएका अधिकांश सिँचाइ प्रणालीमार्फत वर्षायाममा सबै संरचना विकास भएको जमिनमा सिँचाइ सुविधा पुग्ने गरेको छ । तर, स्रोतमा पानीको उपलब्ध नहुँदा हिउँद र वसन्तमा थोरै जमिनमा मात्र सिँचाइ सुविधा पुग्छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर