काठमाडौँ, १२ वैशाख : नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल र राजकीय भ्रमणमा रहनु भएका कतारका अमिर (राजा) शेख तामिन बिन हमाद अल थानी बीच काठमाडौंको सोल्टी होटलमा भेट वार्ता सुरु भएको छ।
कतारी अमिर र प्रधानमन्त्री प्रचण्ड नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनुका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
वार्तापछि उहाहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोग, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।
कतारी अमिरको सम्मानमा प्रधानमन्त्री दाहालले दिवाभोजको आयोजना गर्नुहुनेछ । कतारका अमिर थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा हिजो अपराह्न काठमाडौं आएका हुन् । कतारी विशिष्ट अतिथि आजै अपराह्न काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ ।