फिल्मको पटकथाबारे एक टेलिभिजन संवादमा कवि तथा लेखक उपेन्द्र सुब्बाले कमजोरी औँल्याएका थिए’साहित्य लेख्नेमा फिल्मको पटकथा लेख्ने सिपको कमी छ, पटकथा लेख्नेमा साहित्यको ज्ञानको कमीहुँदा फिल्मको पटकथा बलियो हुन सकेन।‘
पृष्ठभूमि हेर्ने हो भने उपेन्द्र साहित्यका जानकार मात्र हैनन् साहित्यको सफल प्रयोगकर्ता समेत हुन्। फिल्म ‘कबड्डी’मा खिर खुवाउने झाँक्रीको रूपमा प्रवेश गर्दा फिल्म लेखनको प्राविधिक पक्षबारे जानकार रामबाबु गुरुङसँग दोस्ती जम्यो। त्यसैको परिणाम फिल्मी प्लट र साहित्यको मिठास मिसिएको फिल्म ‘जारी’ बन्यो। दर्शक खुब रमाएँ। फिल्म २०८० को सर्वाधिक व्यापार गर्ने सूचीमा पहिलो नम्बरमा रह्यो।
२०८१ मा उनै उपेन्द्र फिल्म ‘मनसरा’ लिएर दर्शकमाझ आए शुक्रवार। धोका पाएर सङ्घर्ष गर्न शहर पसेकी एक सन्तानकी अविवाहित आमा लिम्बुनी (मिरुना मगर), प्रेमिकाको खोजीमा भौँतारिएका मानङ (दयाहाङ राई), दोस्रो विवाह गर्दा पनि बाउ बन्न नसकेका ददिराम पोखरेल (प्रवीण खतिवडा) अनि ददिरामकी दोस्री श्रीमती नानुमैयाँ श्रेष्ठ (मेनुका प्रधान) ललितपुरको नक्खु छेउछाउ गरेको सङ्घर्ष नै फिल्मको मूल कथा हो।
विवाह नभई सन्तान जन्माएर बिरक्तिएको लिम्बुनी र प्रेमिका खोज्न हिँडेका मानङबीच भेट हुन्छ कि हुन्न?, सन्तान नभएको झोकमा पहिलो श्रीमतीलाई कुटेर घरबाट निकालेर दोस्रो विवाह गर्दा पनि बाबु बन्न नसकेका ददिराम दोस्रो श्रीमतीबाटै बाबु बन्न सफल हुन्छन् कि लिम्बुनीलाई तेस्री श्रीमती बनाएर बाबुहीन उनको सन्तानको बाबु बन्छन्? यो फिल्म डोर्याउने उपकथा हुन्। यसैको वरपर फिल्म र पात्र घुमेका छन्।
‘जारी’ र ‘मनसरा’ को समानता कथाको केन्द्रीय विषयमा देखिन्छ। जारीमा जस्तै मनसरामा पनि निर्देशक उपेन्द्रले पुरुषको दृष्टिकोणबाट बाँझोपनको समस्यालाई पस्किएका छन्।
सन्तानहीन हुँदा महिलामाथि शङ्का गर्ने समाजमाझ बाँझोपनको समस्या पुरुषमा पनि हुन्छ र उनीहरू पनि पीडित हुन्छन् भन्ने सन्देश दिने प्रयास गरेका छन् निर्देशकले। उनले पुरुष पात्रलाई स्वार्थीको रुपमा प्रस्तुत गरेका छन् भने महिलालाई शंकालु।
यी दुवै फिल्मबीच अर्को समानता हो संवादमा। उपेन्द्रको कविताहरूमा भेटिने नौनीजस्तो कोमल साहित्यको उपस्थिति छ संवादमा। जारीमा पनि उनले दयाहाङ र मिरुना मार्फत फिल्मतिर लाग्दा रोकिएको साहित्य लेखनको प्यास मेट्ने प्रयास गरेका थिए। मनसरामा पनि उनले यी दुवै पात्रमार्फत आफ्नो साहित्यको मिठास पस्केका छन्।
‘खुवा बनाउनलाई शुद्ध दूध चाहिन्छ, प्रेम गर्नलाई सफा निष्कपट मन चाहिए जस्तै। प्रेम र खुवा उस्तै उस्तै हो‘ जस्ता संवादबाट निर्देशक उपेन्द्रले साहित्यको प्यास मेटेका छन्।
मनसरामा प्रेमी-प्रेमिकाबीचको साहित्यिक संवाद सुन्दा अहिलेका पुस्तालाई अलि अव्यवहारिक हो कि जस्तो लाग्न नि सक्छ। तर’ तिमिलाई हेर्न नपाउँदा मेरो भोकप्यास सबै हराउँछ,’ टाइपका शब्दको बलमा प्रेमयात्रा सुरु गरेका पुस्ताका लागि भने मिठो लाग्छ यी दुबैका संवाद।
उनले हुर्किन र फल्न अन्य जातको धानको सहयोग चाहिने ‘मनसरा’ प्रजातिको धानबाट फिल्मको नाम जुराएर समाजमा सबै हुर्किन एकल हैन बहुजातिबीच सहकार्य हुनुपर्छ है भन्ने सन्देश राम्रैसँग दिने प्रयास गरेका छन्।
२ घण्टा १८ मिनेट लामो फिल्मलाई निर्देशकले केही ठाउँमा दिक्क लाग्ने अवस्थामा पुर्याएका छन्। दृश्य अनुसार उनले दर्शकलाई कतै हाँस्ने त कतै रुने बनाउने प्रयासमा थाकेका भने छैनन्।
साहित्यमा बिम्बको सदुपयोग गर्न खप्पिस उनले फिल्ममा पनि त्यसको प्रयास गरेका छन्। तर यही आएर उनमा रहेको फिल्म लेखनको प्राविधिक पक्षको कमजोरीले फिल्मलाई वाह लायक बनाउन गाह्रो पारेको छ। लामा संवादले दर्शकलाई झिँजो लगाउने जोखिम छ।
मानङ (दयाहाङ)ले प्रेमिका मनसरा (मिरुना) खोज्न पोस्टर टाँसेको टाँस्यै गरेको दृश्यले दर्शकलाई दिक्क बनाउँछ। दयाहाङलाई यो चरित्रमा छान्नुको कारण जारीको हिट जोडीको क्रेडिट लिने निर्देशकको लोभ मात्र देखिन्छ।
रक्सी बेच्दै आएकी लिम्बूनी(मनसरा)को होटेलमा केटाहरूले पालाङ नाचेर गाएको लामो सिनमा दर्शक रमाउने भन्दा हाई काढ्न थाल्छन्।
सन्तानमा भन्दा खुवामा केन्द्रित ददिरामलाई जन्मदर र जनसङ्ख्या जस्ता तथ्याङ्क घोक्न लगाएर फिल्ममा पोख्नुको कुनै अर्थ देखिन्न।
एकातिर बाबुरामको ध्यान सन्तानभन्दा खुवामा केन्द्रित गराएका छन्। अर्कोतर्फ मदिरामा मत्याएर ‘बाउ-छोराको सम्बन्ध भनेको त इमोसन हो, एउटा भावनात्मक सम्बन्ध हो’ भन्न संवाद बोलाएर सन्तानहीन पुरुष हुनुको पीडा पनि पोखाएका छन्।
संवाद तुलनात्मक केही लामा छन्। यसले केही संवादले फिल्मको लयमा अवरोध पुर्याएको छ। पहिलो हाफको तुलनामा दोस्रो हाफमा फिल्मको कथा खुकुलो बन्दै जान्छ। दयाहाङ र मिरुनाबीचको ब्याकस्टोरीमा दर्शक केही अन्यौलमा पर्न सक्छन्। निर्देशक फिल्मको कथा टुङ्ग्याउन केही हतारिएको अनुभव हुन्छ।
फिल्मको कथा वाचनमा निर्देशक उपेन्द्रले जारीको लय पक्रिन सफल देखिएनन्। दयाहाङ र मिरुनाको जारीको केमेस्ट्री सम्झिएर मनसरा हेर्न जाने दर्शकले चित्त बुझाउन सक्दैनन्।
तर लाइटिङ र सिनेमाटोग्राफीले फिल्मलाई बलियो बन्न सघाएको छ। शैलेन्द्र कार्कीले फिल्मका दृश्य खिच्न मिहेनत गरेको देखिन्छ। फिल्मको म्युजिकमा निर्देशक उपेन्द्रले कन्जुस्याइँ गरेका छैनन्। ब्याकग्राउण्ड म्युजिकले फिल्मको लय बिगारेको छैन।
‘मनसरा’मा प्रवीण खतिवडा अनि मेनुकाको अभिनय अब्बल छ। मिरुनाको अभिनय शैली अघिल्ला फिल्मका भन्दा केही भिन्न गर्ने प्रयास गरेकी छिन्।
बाल कलाकारका रूपमा नेनाहाङ राईको अभिनयले फिल्मलाई बलियो बनाएको छ। दयाहाङ राई फिल्ममा उपस्थित मात्र भएका छन्।
निर्देशक उपेन्द्र आफ्नो कमजोरीबारे जानकार रहेछन्। उनले पटकथामा गरेको मिहेनत फिल्ममा देखिन्छ। तर पटकथा लेखनमा फिल्मको प्राविधिक पक्षबारेको ज्ञानको कमिले कमजोरीहरू छोप्न उनी सफल भएका छैनन्। पात्र छनौट र उनीहरूको चरित्र चित्रण अनुसारको अभिनय कला चिरोरेर निकाल्न निर्देशक उपेन्द्रले गरेको मिहेनत भने देखिन्छ।
तेस्रो फिल्म निर्देशन अगाडि कि फिल्म लेखनको प्राविधिक ज्ञान लिन अध्ययन गर्ने वा फिल्म लेखनको प्राविधिक पक्षबारे जानकारको सहयोग लिए मनसराको कमजोरी सुध्रिन सक्छ। जारी र मनसराबाट फरक स्वाद दिने निर्देशकको जन्म भने भएको छ है।