भारतको उत्तर प्रदेशलाई ‘प्रधानमन्त्रीको राज्य’ भन्ने गरिन्छ । ‘नेहरूदेखि मोदीसम्म’ लोकसभा निर्वाचन जितेका कीर्तिमानी नौ सांसदले प्रधानमन्त्री बनेर देशको बागडोर सम्हालेपछि उक्त विशेषण भिराइएको छ ।
उत्तर प्रदेशबाट निर्वाचित नौ मध्ये चार पण्डित जवाहरलाल नेहरू, लालबहादुर शास्त्री, इन्दिरा गान्धी र राजीव गान्धी काँग्रेसी नै थिए । यसबाहेकका पाँच गैरकाँग्रेसीमा चौधरी चरण सिंह, विश्वनाथ प्रताप सिंह, चन्द्रशेखर, अटल बिहारी वाजपेयी र नरेन्द्र मोदी हुन् ।
९—९ जना सांसदलाई यूपीका जनताले दिल खोलेर भोट दिइसकेका छन् । पूर्वप्रधानमन्त्री विश्वनाथ र अटल बिहारीले आफ्नो राजनीतिक करियरमा उक्त प्रदेशबाट पटक—पटक लोकसभा निर्वाचन जितेका थिए ।
त्यस्तै, फूलपुरबाट पण्डित नेहरू र विश्वनाथ । इलाहाबादबाट लालबहादुर र विश्वनाथ, रायबरेलीबाट इन्दिरा, बागपतबाट चौधरी चरण सिंह, अमेठीबाट राजीव, फतेहपुरबाट फेरि विश्वनाथ, बलियाबाट चन्द्रशेखर, लखनऊ र बलरामपुरबाट अटल बिहारी र वाराणसीबाट मोदीले जितेका हुन् ।
राजनीतिक रुपमा उत्तर प्रदेशलाई ‘प्रधानमन्त्रीको राज्य’ भनिएपनि सामाजिक र आर्थिक हिसाबले कुनै बदलाब देखिँदैन । पण्डित नेहरूको लोकसभा निर्वाचन क्षेत्र फूलपुरको अवस्था सबैभन्दा खराब छ । बाँकी निर्वाचन क्षेत्रको अवस्था पनि त्यस्तै देखिन्छ ।
यतिबेला एउटा गम्भीर प्रश्न छ, उत्तर प्रदेशले नौ वटा प्रधानमन्त्री दियो । तर मतदाताले आखिर के पाए ? जवाफमा भन्ने गरिएको छ, के हिन्दू—मुस्लिमको दंगा र राम मन्दिर मात्रै हो ?
उत्तर प्रदेशलाई अन्यत्रको तुलनामा गरिबीले झन् गाँजेको छ । बेरोजगारीको उस्तै अवस्था छ । ‘यूपीमा फेरिएको योगीको डोजर आतंक र प्रधानमन्त्री नरेन्द्र मोदीको गफ मात्रै,’ अधिकांश तटस्थ मतदाताको भनाइ हो यो ।