नेभिगेसन मेनु

वैदेशिक रोजगारी एक वर्ष : सात लाखभन्दा बढीले श्रम स्वीकृति लिए
सम्पादक:南亚网络电视
समय:2024-04-15 11:57

baidesik-rojgar

वैशाख ३ गते । पछिल्लो एक वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या सात लाख नाघेको छ । वैदेशिक रोजगार विभागका अनुसार २०८० को वैशाखदेखि चैत महिनासम्म सात लाख ११ हजार ३५१ जना श्रम स्वीकृति लिएर विदेश गएका छन् । 

त्यसो त अघिल्लो वर्ष २०७९ चैतदेखि वैशाख महिनासम्म श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या सात लाख ७३ हजार २४२ हजार थियो । जुन सङ्ख्या २०८० सालको भन्दा २०७९ सालमा श्रम स्वीकृति लिनेको सङ्ख्या ६१ हजार ८१९ जनाले बढी हो । वैदेशिक रोजगार विभागका अनुसार २०७८ सालमा भने साढे पाँच लाख जना युवाले श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका थिए । यो तथ्याङ्क हेर्दा पछिल्लो दुई वर्षमा रोजगारीका लागि बिदेसिनेको सङ्ख्या बढेको पुष्टि हुन्छ । विभागका अनुसार यो वर्षको सो अवधिमा सबैभन्दा धेरै चैत महिनामा ७० हजार ९३३ जना र सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जना विदेशिएका छन् । यस्तै जेठ महिनामा ५९ हजार ४२२ जनाले श्रम स्वीकृति लिएका छन् भने असारमा ५५ हजार २९९ जना, साउनमा ५५ हजार ५७५ जना गएको विभागको प्रतिवेदनमा उल्लेख छ । विभागका अनुसार भदौमा ५० हजार ८८४ जनाले विदेश जान श्रम स्वीकृति लिएकोमा असोज महिनामा ५६ हजार २३५ श्रम स्वीकृति लिएर विदेशिएका छन् । यसरी नै मङ्सिरमा ६८ हजार २०१ जना, पुस महिनामा ६५ हजार ८१३ जना, माघ महिनामा ६२ हजार १४७ जना र फागुनमा ६५ हजार ६५८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । 

युएई पहिलो श्रम गन्तव्य

२०८० सालमा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) भएको छ । विभागका अनुसार सो अवधिमा सात लाख ११ हजार ३५१ जनाले श्रम स्वीकृति लिएकोमा युएईका लागि लागि एक लाख ६३ हजार ७६८ जनाले श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्ष लगातार तेस्रो श्रम गन्तव्य देश रहेको युएई यो वर्ष भने सुरुदेखि नै पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ । यस अवधिमा नेपालीको दोस्रो श्रम गन्तव्य देश कतार रहेको छ । विसं २०७९ मा नेपाली श्रमिकको चौथो श्रम गन्तव्य देशका रूपमा रहेको कतार यो वर्षको तथ्याङ्क हेर्दा दोस्रो स्थानमा छ । अघिल्लो वर्ष नेपालीको पहिलो श्रम गन्तव्य देश भएको मलेसिया यो वर्षमा भने चौथो स्थानमा छ । यस्तै गत वर्ष सो अवधिमा नेपालीको दोस्रो श्रम गन्तव्य देश रहेको साउदी अरब यो पटक भने तेस्रो स्थानमा रहेको छ । 

विभागका अनुसार यो वर्ष कात्तिकबाहेक अन्य महिना रोजगारीमा जानेको सङ्ख्या ५० हजारभन्दा माथि नाघेको छ । कात्तिकमा नेपालीको ठुला चाडपर्व दसैँतिहार भएका कारण यो महिना भने बिदेसिनेको सङ्ख्या नबढेको हो । गएको चैत महिनामा ७० हजार ९३३ जनाले श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेसिएका छन् । 

विभागका महानिर्देशक डण्डुराज घिमिरेले चालु आवको सुरुदेखि नै युएई नेपालीको पहिलो श्रम गन्तव्य बन्न सफल भएको बताउनुभयो । गतका दुई वर्ष मलेसिया नेपालीको पहिलो श्रम गन्तव्य देश रहेकोमा यो वर्षको सुरुदेखि नै युएई पहिलो गन्तव्य देश बन्न सफल भएको उहाँको भनाइ छ । महानिर्देशक घिमिरेले पछिल्लो वर्ष मलेसियाका रोजगारदाता कम्पनीले आप्रवासी श्रमिकका लागि नयाँ लिने कार्य बन्द गरेकाले पनि पछिल्लो पटक मलेसिया जानेको सङ्ख्या घटेको बताउनुभयो ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै ती श्रमिकले विदेशमा काम गरेर पठाउने विप्रेषण दरमा पनि वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले गत महिना सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको आठ महिना (फागुन महिना) सम्म नौ अर्ब ६१ अर्ब रुपियाँ विप्रेषण भित्रिएको छ । गत वर्ष सो अवधिमा सात अर्ब ९४ अर्ब रुपियाँ विप्रेषण भित्रिएको थियो । विप्रेषण भित्रिने दरमा २१ प्रतिशतले वृद्धि भएको हो । यो तथ्याङ्क हेर्दा मासिक औसत एक खर्ब २२ अर्ब रुपियाँ भित्रिएको देखिन्छ । यो वर्षको यस अवधिसम्म आएको विप्रेषण गत वर्षको यसै अवधिको तुलनामा २५.३ प्रतिशत धेरै रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर