नेभिगेसन मेनु

४० वर्षपछि धादिङ जोड्ने सडकमा पुल बन्यो
सम्पादक:南亚网络电视
समय:2024-04-11 11:43

adfhba

चैत्र २९ गते । धादिङको उत्तर क्षेत्र निकै विकट मानिन्छ । उत्तरी धादिङका अधिकांश स्थानमा अझै सहज सडक यातायात पुग्न सकेको छैन । उत्तरी धादिङलाई जोड्ने दामन पाख्रिन मार्गको काम सुरु भएको चार दसक भइसक्दा पनि अझै काम सम्पन्न भएको छैन । दामन पाख्रिन मार्गमा पर्ने किन्ताङफेदीमा पुल नबन्दा हिउँदमा मात्र उत्तरी धादिङमा यातायात सञ्चालनमा आइरहेको अवस्थामा यस वर्ष पुल बनेपछि निकै सहज हुने भएको छ । 

धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा चाइनिज ब्रिज निर्माणको काम सकिएको छ । उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख्रिन मार्गको किन्ताङ खोलामा सडक खन्न थालिएको करिब चार दशकपछि पक्की पुल निर्माण गरिएको हो । उत्तरी धादिङलाई जिल्ला सदरमुकाम जोड्ने यो नै मुख्य मार्ग भएकोले पुल निर्माण गर्न चासो दिएर लागेको धादिङ जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने सांसद रामनाथ अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार पुल निर्माण नेपाली सेनाको सहयोगबाट सम्भव भयो जसले गर्दा यहाँको मानिसको आवतजावत र आर्थिक विकासमा निकै टेवा पुग्दछ । 

किन्ताङ फेदीमा पुल नहुँदा बर्खाको पाँच महिना सवारी आवतजावत पूर्ण रूपमा बन्द हुने गर्दथ्यो । उत्तरी धादिङको रुवीभ्याली, गंगाजमुना, खनियाँबास र नेत्रावती डवजोङ गाउँपालिकालाई जोड्ने १४० फिट लम्बाई, ४।२ मिटर चौडाइको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको खनियाँबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताउनुभयो । ट्र्याक खोलिएको झन्डै चार दशकपछि अहिले किन्ताङ खोलामा चाइनिज ब्रिज हाल्ने काम भएपछि धादिङको उत्तरी क्षेत्रका स्थानीय खुसी बनेका छन् ।

पुल बनेपछि उत्तरी धादिङवासीको जीवन फेरिने खनियाबास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठ बताउनु हुन्छ । उत्तरी धादिङको जीवनस्तरमा सुधार ल्याउन पुल निर्माणका लागि २५ लाख आर्थिक सहयोग गरेको नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले बताउनुभयो । पुल नहुँदा आपतकालिन समयमा ठुलो समस्या व्यहोर्नु परेको रिजालको भनाइ छ । पुल बनेपछि उत्तरी धादिङको जनताको मुक्तिको दिन सुरु हुने खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङको भनाइ छ । जनजीवन सहज र उत्पादित कृषिजन्य उत्पादन बजारसम्म लैजान सकिने हुँदा जीवनस्तरमा पनि सुधार हुने उहाँले बताउनुभएको छ । 

किन्ताङफेदीमा बन्दै गरेको चाइनिज ब्रिजको दुवै भागमा फुटपाथ रहने गरी पुल निर्माण गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री ए र थ्री बि को स्वामित्वमा रहेको बेत्रावतीबाट ल्याएर हाल किन्ताङफेदीमा जडान गरिएको हो । पुल निर्माणमा १४ बाहिनी अन्तर्गत व्रिजिङ युनिट गौचरन एयरपोर्टबाट ३५ जना दक्ष कामदार सहितको टोलीले जडान गरेका हुन् । करिब एक करोड लागत लाग्ने अनुमान  रहेको किन्ताङफेदीमा बन्दै गरेको पुलले उत्तरी धादिङको विकासको ढोका खुल्ने सङ्घीय सांसद रामनाथ अधिकारीको भनाइ छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर