नेभिगेसन मेनु

निगमको जहाज ८६ दिनदेखि ग्राउन्डेड, इजरायलमा मर्मत हुँदै
सम्पादक:南亚网络电视
समय:2024-03-04 13:29

thumb

काठमाडौँ — राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ‘लुम्बिनी’ नामक न्यारोबडी ८६ दिनदेखि ग्राउन्डेड भएको छ । मर्मतका लागि इजरायल पठाइएको उक्त जहाज निगमको चरम व्यवस्थापकीय लापरबाहीका कारण झन्डै तीन महिनादेखि ग्राउन्डेड भएको हो । जसका कारण निगमलाई मासिक साढे आठ करोडभन्दा बढी रुपैयाँ नोक्सानी भइरहेको छ ।

सबैभन्दा छोटो दूरीमा दुईतर्फी उडान गर्ने जहाजले पनि सबै खर्च कटाएर कम्तीमा १० लाख रुपैयाँ नाफा गर्ने वायुसेवा सञ्चालकहरूको सरदर तथ्यांक छ । उक्त जहाज ४२ दिनअघि इजरायल पठाइनुअघि काठमाडौंमा पनि ४४ दिन ग्राउन्डेड थियो ।

‘नेपालबाट सबैभन्दा नजिकको भारतको राजधानी नयाँदिल्ली र काठमाडौंका लागि मात्रै दैनिक ११ वटा उडान हुन्छन्,’ निगमको सञ्चालक समिति स्रोतले भन्यो, ‘यीमध्ये निगमले दैनिक एउटा मात्रै उडान गरिरहेको छ । जहाज अभावले एउटा उडान तीन महिनादेखि कटौतीमा परेको छ । यही रुटमा एक पटकमा १० लाखसम्म नाफा हुन्थ्यो । लामो दूरीका उडानहरूको नाफा त ५० लाख रुपैयाँसम्म पुग्छ । तर हाम्रो जहाज इजरायलमा थन्किएको छ । पर्यटनमन्त्री सुदन किरातीलाई जहाज उडे/नउडेको मतलब नै छैन ।’

निगम अर्थ विभागसम्बद्ध स्रोतका अनुसार, एउटा न्यारोबडीले दैनिक ९० लाख रुपैयाँसम्मको कारोबार गर्छ । यसबाट घटीमा १० लाख खुद मुनाफा हुन्छ । तर, निगमको जहाज ग्राउन्डेड हुँदा आर्जनमा मात्रै नोक्सानी भएको छैन, ऋणबाट खरिद गरिएको जहाज भएकाले निगमले थप ब्याजसमेत बेहोर्नु परिरहेको छ । निगमका अधिकारीहरूका अनुसार, दुइटा न्यारोबडीको करिब ८ अर्ब रुपैयाँ ऋण छ । त्यसको वार्षिक १० प्रतिशत ब्याज मात्रै ८० करोड हुन जान्छ । इजरायलमा थन्किएको जहाजको दैनिक ब्याज करिब ११ लाख हाराहारी निगमले तिर्नुपर्छ । ‘एउटा जहाजले एक सुक्को नकमाए पनि दैनिक ११ लाख ब्याज तिर्नैपर्छ । बरु साँवा पछि तिर्दा पनि हुन्छ । ऋणको ब्याज छुट हुँदैन,’ स्रोतले भन्यो ।

यो साधारण हिसाबअनुसार, नाइन एन–अल्फा किलो एक्सरे कलसाइन भएको उक्त जहाज ग्राउन्डेड हुँदा दैनिक घाटा २१ लाख हाराहारीमा छ । निगमले जहाज नउडाउँदा गुमाएको दैनिक १० लाख नाफा र ११ लाख हाराहारी ब्याज गरी ८६ दिनको कुल नोक्सानी १८ करोड गरेको देखिन्छ । उक्त न्यारोबडी जहाजको दायाँ इन्जिनको विस्तृत मर्मत गर्नुपर्ने भएपछि इजरायलस्थित इजरायल एरोस्पेस इन्डस्ट्रिज लिमिटेड इजरायल (आईएआई) मा गत पुस २७ मा पठाइएको थियो । त्यसअघि इन्जिनमा समस्या देखापरेकाले मंसिर १३ को अन्तिम उडानपछि यो त्रिभुवन विमानस्थलमा करिब डेढ महिना ग्राउन्डेड भएको थियो ।

जापान, मलेसिया, हङकङ, थाइल्यान्ड, भारत, कतार, दुबई र साउदी अरबका १० वटा गन्तव्यमा नियमित उडान गर्न दुई वाइडबडी र दुई न्यारोबडी गरी निगमले चार वटा एयरबसका जहाज आफ्नो बेडामा राखेको छ । तर, एउटा न्यारोबडी जहाज तालिकाअनुसार मर्मत नगर्दा निगमले सातामा दर्जनौं उडान कटौती गर्दै आएको छ । यसका कारण निगमले करोडौंको व्यापार गुमाउनुपरेको छ । ‘अहिले पूर्वमा जापान होस् वा दिल्ली, दुबई सबैतिर यात्रुको चाप राम्रो छ,’ निगमको वाणिज्य विभागका एक उच्च अधिकारीले भने, ‘तर, हाम्रो व्यवस्थापकले बजार नै बुझ्न सकेन । मन्त्रीले पनि पछिल्ला महिना ४ वटा राजनीतिक समिति गठन गरे । कार्यकर्तालाई लाखौं रुपैयाँ भत्ता यहीबाट बाँडेर दुरुपयोग गरे । यस्तो समस्याबारे न त संसदीय समिति बोल्छ, न त अख्तियार । निगम राजनीतिक नेतृत्वकै कारण देखादेख धराशायी बनाइँदै छ ।’

इजरायलस्थित आईईआईले निगमको इन्जिन कहिले बनाउने हो र कहिले पठाउने हो भन्नेबारे अझै यकिन टुंगो लागेको छैन । अर्का एक कर्मचारीले बताएअनुसार, उक्त जहाजको इन्जिन पाटर््स अझै नपाइएको भन्दै माघ २९ मा निगमलाई आईएआईका प्रोजेक्ट म्यानेजर मे नायुले इमेल लेखेका थिए । आईएआईले निगमलाई पुरानो इन्जिन मर्मत गरेर बढीमा दुई साताभित्रै दिनुपर्ने सम्झौता भए पनि उसले यो उल्लंघन गरेको छ । उसले इन्जिन मर्मत गर्दा कम्तीमा ६४ करोड रुपैयाँ लाग्ने भनेको छ । निगमले यसै बराबरको एलसी (प्रतीतपत्र) स्ट्यान्डर्ड चार्टर्ड बैंकमा खोलिसकेको छ । निगमका प्रवक्ता रमेश पौडेलले केही समयअघि आईएआईएले स्पेयर पार्ट्स नपाएको जानकारी गराएको स्विकार्दै यथाशक्य चाँडो जहाज मर्मत भई नेपाल आउने दाबी गरे ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर