फागुन १४ गते । धनुषाको धनौजी गाउँपालिका–२, तत्मा टोलकी लिलम मण्डलको विवाह भएको नौ वर्ष भयो । हाल उहाँका तीन सन्तान छन् तर उनीहरूको जन्मदर्ता नहुँदा विद्यालय जानबाट वञ्चित छन् । लिलम अहिले माइतीमा नै बस्दै आउनुभएको छ । उहाँको श्रीमान् विवाहपछि वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा हुनुहुन्छ । उहाँसँग विवाह दर्ताको प्रमाणपत्र पनि छैन । श्रीमान् स्वदेश फर्केपछि मात्र विवाहदर्ता गर्ने र बालबालिकाको जन्मदर्ता गर्ने लिलम बताउनुहुन्छ । त्यतिबेलासम्म उहाँका सन्तानले भने विद्यालय भर्ना हुनबाट वञ्चित हुनुपर्ने पिरलो उहाँलाई छ ।
लिलमका तीन सन्तानमध्ये जेठी छोरी राखी मण्डल आठ वर्षको, माइलो छोरा कार्तिक चार वर्षको र कान्छो छोरा गणेश डेढ वर्षका भए ।
उहाँ भन्नुहुन्छ, “जन्मदर्ता नहुँदा न विद्यालय पठाउन सकेको छु, न सरकारबाट पाउने कुनै सेवासुविधा नै लिन सकेको छु । वडा कार्यालयले नागरिकता र बाबुको उपस्थितिबिना जन्मदर्ता बनाउन नमिल्ने बताएको छ ।” यस्तै धनुषाको बटेश्वर गाउँपालिका–२ मा बसोबास गर्दै आएका ५० वर्षीय दुखिया महरा र ३५ वर्षीय ललिता महराकी छोरी पूजा महरा बटेश्वरस्थित शिवशक्ति माध्यमिक विद्यालय कक्षा ६ मा पढ्दै हुनुहुन्छ । उहाँ पढाइमा अब्बल हुनुहुन्छ तर कक्षा ६ पछि विद्यालय आउन पाउँछु कि पाउँदिन भनेर चिन्तित हुनुहुन्छ । पूजाका बुवा दुखिया महरा भन्नुहुन्छ, “अहिलेसम्म अनुरोध गरेकै भरमा विद्यालयले जन्मदर्ता प्रमाणपत्रबिना नै पूजालाई कक्षा ६ सम्म पढ्न दिएको छ तर अब के हुने हो थाहा छैन ।” उहाँ भन्नुहुन्छ, “जन्मदर्ता कसरी बनाउने ।
उहाँको नागरिकता महोत्तरी बलुवा नगरपालिकाको हो । दुखिया महराकी छोरी पूजा बटेश्वरस्थित मामा घरमा जन्मेर त्यहीनजिकैको शिवशक्ति माविमा पढ्दै आउनुभएको छ । वडा कार्यालयले बाबुको नागरिकता जहाँको हो, त्यहीँ जन्मदर्ता बनाउन जानु भनेका कारण पूजाको जन्मदर्ता बनाउन नसकेको पूजाका बुवा दुखिया महरा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मैले नागरिकताको सिफारिस लिएको वडामा जाँदा तपाईंको छोरी यहाँ जन्मेको होइन भन्नुहुन्छ । जहाँ जन्मेको हो त्यहाँको वडामा जन्मदर्ता बनाउनूस् भन्नुहुन्छ । म कहाँ गएर बनाउने हो भन्ने अन्योलमा छु ।”
बटेश्वर गाउँपालिका–२ का अध्यक्ष विजयकुमार महतो भन्नुहुन्छ, “जिल्ला प्रशासन कार्यालयले जन्मदर्तासम्बन्धी अन्तव्रिर्mया कार्यक्रम गरेपछि हामीले जन्मदर्ता बनाउनेबारे बुझेका छौँ । पहिले बुवाआमा दुवैको नागरिकता नभई जन्मदर्ता बनाउने गरेका थिएनौँ तर अन्तव्रिर्mयापछि यस कार्यमा सचिवले पनि साथ दिइरहनुभएको छ । अहिलेसम्म बुवाको मात्र नागरिकता भएका १५ जनाभन्दा बढी बालबालिकाको जन्मदर्ता बनाइसकेका छौँ । आमाबुवा दुवैको नागरिकता नभएका बालबालिकाका अभिभावक भने कोही आएका छैनन् ।” उहाँले भन्नुभयो, “उमेर नपुगी विवाह भयो र बच्चा भयो भने त्यसमा बच्चाको के दोष हुन्छ ? जन्मदर्ताका कारण बालबालिका कुनै पनि अधिकारबाट वञ्चित हुनुहुँदैन ।”
दलित मुसहर समुदायमा जन्मदर्ता नहुँदा भोग्नु परेको समस्या थुप्रै छन् । बालबालिका शिक्षा, स्वास्थ्य, सरकारी सेवासुविधाबाट वञ्चित हुनु परेको छ । प्रशासनिक झन्झटका कारण पनि उनीहरू जन्मदर्ता गराउन अगाडि नै सर्दैनन् । बाबु विदेशमा भएका बेला जन्मिएको अधिकांश बालबालिकाको जन्मदर्ता नहुँदा अधिकांश मुसहरका बालबालिका शिक्षाबाट समेत वञ्चित हुनु परेको वडा नं. २ का अध्यक्ष महतोको भनाइ छ ।