नेभिगेसन मेनु

धनुषाका दुई सहिद छैनन् सूचीमा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-01 12:47

22

माघ १८ गते । सहिद सप्ताह बुधबारबाट सकिएको छ । देश तथा जनताको मुक्ति र अधिकारका लागि जीवन बलिदान गर्ने सहिदप्रति सम्मान गर्न देशैभर माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाइएको थियो । 

नेपाली जनतालाई अधिकारसम्पन्न नागरिक बनाउँदै जहानियाँ राणाशासन,  निरङ्कुश पञ्चायती व्यवस्था एवं त्यसपछिका विभिन्न अधिकार प्राप्तिका आन्दोलन एवं लोकतान्त्रिक जनआन्दोलनमा प्राण आहुति गरेका वीर सपुतको योगदान स्मरण गर्दै सहिद सप्ताह मनाइएको थियो । 

धनुषाका दुई सहिदलाई भने राज्यबाट उपेक्षित गरिएको स्थानीयको भनाइ छ । धनुषाको धनुषाधाम नगरपालिका–६, उमाप्रेमपुरका सहिद ईश्वर लामा र पदम लामाको नाम सहिदको सूचीमा समावेश नगरिएकाले स्थानीय दुःखी भएका हुन् । 

सहिदमध्ये ईश्वरका भाइ राजकुमार लामाले पहुँच नपुगेकाले इश्वर र पदमको नाम सहिदको सूचीमा समावेश हुन नसकेको बताउनुभयो । दुवैलाई सहिदको सूचीमा राख्न स्थानीयवासीको सहभागितामा राजनीतिक दलका शीर्ष नेतालाई भेटेर पहल गरिदिन आग्रह गर्दै आएको उहाँले बताउनुभयो । सहिदको योगदान र पहिचान कायम गराउन सहयोगको अपिल गर्दै राजकुमारले भन्नुभयो, “सहिद कुनै पार्टी विशेषको हुँदैन भन्ने हाम्रो बुझाइ छ । राष्ट्र र जनताका लागि जीवनको आहुति दिएका हुन्छन् । उहाँहरूले पनि प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि जीवनको आहुति दिनुभएको हो ।” 

उहाँका अनुसार २०४२ साल पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा होमिएका दुवै जनालाई तत्कालीन पञ्चायती शासकले षड्यन्त्रमूलक ढङ्गले हत्या गरी लास बेपत्ता पारेका थिए । २०४२ सालमा कांग्रेसले घोषणा गरेको सत्याग्रह आन्दोलनमा भाग लिएका दुवै जना जेठ ११ गते गिरफ्तारीमा परेका थिए । तत्कालीन पञ्चायती प्रशासनले गिरफ्तार गरी विभिन्न यातना शिविर, अस्थायी जेल तथा अड्डासार गर्ने बहानामा दुवै जनाको हत्या गरी लास बेपत्ता गरेको ईश्वर लामा र पदम लामाका विषयमा भएका अनुसन्धान प्रतिवेदनमा उल्लेख रहेको उहाँको भनाइ छ । 

यसै गरी हिरासतमा भेट भएका विमलेन्द्र निधि, रामहरि जोशी, रामराजाप्रसाद सिंह, मोहनचन्द्र अधिकारी, मार्सलजुलुम शाक्य, राधाकृष्ण मैनाली, दमननाथ ढुङ्गाना, आनन्दप्रसाद ढुङ्गाना, रेवतीरमण सुवेदी, सिपी मैनाली, राजेश्वर नेपाली, लोककृष्ण भट्टराईलगायत ४० जनाले लेख्नुभएको संस्मरणमा उहाँहरूको योगदानको चर्चा गर्नुभएको छ । उहाँहरूले ईश्वर लामा र पदम लामालाई राज्यले अहिलेसम्म सहिदको सूचीमा नपारेकामा आश्चर्य प्रकट गर्नुभएको छ । 

त्यसअघि २०३१ जननायक विश्वेश्वरप्रसाद कोइरालाले आह्वान गरेको सशस्त्र सङ्घर्षमा संलग्न हुँदा ईश्वर लामा गिरफ्तारीमा परेर छ वर्षभन्दा बढी कठोर जेल जीवन बिताउनुभएको थियो । त्यस बखत उहाँलाई फाँसी वा जन्मकैद हुन सक्ने राजकाज मुद्दा लगाइएको थियो । २०३७ साल वैशाख १ गते ईश्वर आममाफी पाएर कारागारमुक्त हुनुभयो । 

जेलबाहिर आएपछि नेपाली कांग्रेसका शीर्ष नेताहरू बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेद्रनारायण निधिसँग प्रत्यक्ष सम्पर्कमा रहेर पार्टी सङ्गठन सुदृढीकरण र आन्दोलन विस्तारका लागि अहोरात्र खट्नुभएको थियो । २०३९ सालमा बिपीको देहावसनपछि जिल्लामा नै रहेर राजनीतिक अभियानमा जुट्नुभएको उहाँ त्यस बखत जिल्ला कांग्रेस धनुषाको कार्यसमितिका कार्यकारिणी सदस्यसमेत रहिसकेको उहाँसम्बन्धी गरिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

२०४२ सालमा पञ्चायती प्रशासनले पक्राउ गर्दा ईश्वर २९ वर्षका हुनुहुन्थ्यो भने पदमको उमेर ३० वर्ष थियो । पहुँच नपुगेर उहाँ दुवैको नाम सहिदको नामावलीमा समावेश हुन नसकेको स्थानीयको आरोप छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर