नेभिगेसन मेनु

फोहोरले पुरिँदै पवित्र पोखरी
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-21 12:19

dashrath_phokhari

फागुन ९ गते । प्राचीन मिथिलाको राजधानी जनकपुरधामका पवित्र पोखरीहरू यतिबेला संरक्षणको पर्खाइमा छन् । जन्मदेखि मृत्युसम्म आवश्यक पर्ने यहाँका पोखरी फोहोरको थुप्रोले पुरिन थालेका छन् । यहाँको परम्परा अनुसार मानिस जन्मँदा पोखरीमा गएर स्नान गरेपछि शुद्ध हुने, विवाहमा गरिने मटकोर विधिका लागि पनि पोखरीबाट माटो झिकिन्छ र मानिस मरेपछि पनि मलामीले पोखरीमै स्नान गर्ने गरिन्छ तर ती पोखरीको अवस्था भने दिनानुदिन दयनीय बन्दै गएको छ । नगरको फोहोरले पोखरी पुरिने अवस्थामा पुग्दा पनि सरोकारवाला निकायको आँखा पुग्न सकेको छैन ।  

जनकपुरधामलाई ‘५२ कुट्टी, ७२ कुण्ड’ अर्थात् ५२ सन्तको आश्रम र ७२ वटा पोखरी भनेर पनि चिनिन्छ तर अधिकांश पोखरी फोहोरले भरिएर डम्पिङ साइट जस्ता भएका छन् । अतिक्रमण र सौन्दर्यीकरणको नाममा पोखरी साघुँरिँदै गएका छन् । कतिपय पोखरी लुप्त भइसकेका छन् । 

यस्तै पुरिने अवस्थामा रहेको जनकपुरधामस्थित वडा नं. ३ देवान टोलस्थित देवान पोखरी फोहोर फाल्ने स्थानका रूपमा परिणत भएको छ । पोखरी संरक्षणको नाममा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले २०७१ सालमा पोखरी अतिक्रमण गरेर बनाइएका घर टहरा हटाउने अभियानमा पनि लागेको थियो तर पोखरी वरपरका घर टहरा हटाएको नौ वर्ष बित्दा पनि पोखरी भने संरक्षण हुन सकेन । 

पोखरी चिनिने भनेको पानीले हो तर देवान टोलस्थित देवान पोखरीमा पानी देखिँदैन । फोहोरको थुप्रो मात्र देखिन्छ । परिषद्ले भत्काएका घरधनीहरू त्यही वरपरका बासिन्दा नै थिए । नौ वर्षसम्म पनि पोखरी संरक्षणका लागि कुनै पहल नभएपछि भत्किएका अधिकांश घरवाला पुनः पोखरी वरिपरिको ठाउँ ओगट्ने प्रयासमा छाप्रो बनाउन थालेपछि देवान पोखरीको अस्तित्व मेटिने खतरा बढेको सोही वडाका अध्यक्ष दीपेन्द्र साहले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “उक्त पोखरीलाई अब नमुना पोखरीका रूपमा निर्माण गर्ने योजना बनाएको छु । साता दिनभित्र पोखरी सौन्दर्यीकरणका लागि टेन्डर निकाल्ने प्रक्रिया अगाडि बढ्छ ।”  

यस्तै जनकपुरधाम वडा नं. ११ तत्मा टोल छेउमा रहेको लक्ष्मण अखडा पोखरी, वडा नं. ६ स्थित दशरथ मन्दिर नजिकमा रहेको दशरथ पोखरीको अवस्था पनि उस्तै छ । पोखरी छेउछाउ दुर्गन्धित बनेको छ । वडा नं. ८ स्थित बृहत्तर जनकपुर क्षेत्र विकास कार्यालयको ठिकअगाडि रहेको कपाल मोचनी पोखरीमा छेउमै रहेको जानकी हेल्थ केयर एन्ड टिचिङ अस्पताल प्रालिको फोहोर व्यवस्थापन हुने गरेको छ । पोखरी छेउमा राखिएको ट्याक्टरको एक ट्रलीमा अस्पतालबाट निस्केका फोहोरलाई जलाएर व्यवस्थापन गर्ने गरिन्छ । अझै हावाहुरी चल्दा त्यो फोहोर उडेर सबै पोखरीमा मिसिन्छ । 

दुई वर्षअघिसम्म बृहत्तरले पोखरी संरक्षणको कार्य गर्दै आएको थियो तर दुई वर्षदेखि कुनै बजेट नआएका कारण बृहत्तरले कुनै कार्य नगरेको बृहत्तरका निमित्त कार्यकारी निर्देशक चिरञ्जीवी ढुङ्गानाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “बृहत्तरले गर्दै आएको कार्य अहिले थलिएको छ । सरकारले बजेट उपलब्ध नगराएपछि हाम्रो कार्यालयबाट कुनै काम गर्न सकेका छैनौँ । पोखरीहरू ठेक्का लागेका छन् र ठेक्का लगाउनेले पनि पोखरीको कुनै ख्याल गरेका छैनन् । पोखरी दूषित हुने सम्भावना बढेको छ ।”   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर