नेभिगेसन मेनु

विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीको सेटै परिवर्तन हुँदै
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-12-22 13:17

3-pageko2023-12-22-09-51-21

 

अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीको सेट नै परिवर्तन गर्ने भएको छ । ट्राभल एजेन्सीको ‘सेटिङ’मा बनाइएको फर्जी कागजात प्रयोग गरी नेपाली युवालाई भिजिट भिसामा अवैध तवरले विदेश पठाउने घटनामा कार्यालयका कर्मचारी नै संलग्न रहेको खुलेपछि विभागले यस्तो गर्न लागेको हो ।

विभागका अनुसार शाखा अधिकृत तहको कम्तीमा ३५ कर्मचारी परिवर्तन गरिनेछ । त्यसलगत्तै अन्य दर्ताका कर्मचारी पनि परिवर्तन गरिनेछ । विशेष गरी सरुवा भएपछि पनि थमौती गरेर पुनः सोही कार्यालयमै कार्यरत कर्मचारी पहिलो चरणमा हटाइनेछ । प्रहरीबाट पक्राउ परेका र पक्राउ हुने डरले फरार रहेका कर्मचारीको ठाउँमा तुरुन्तै नयाँ कर्मचारी खटाइने विभागले जनाएको छ । 

विभागका महानिर्देशक रुद्रसिंह तामाङले अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीको सेट नै परिवर्तन गर्न लागिएको जानकारी दिए । ‘विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीको सेट नै परिवर्तन गर्न लागिएको छ । यसका लागि आवश्यक सबै तयारी पूरा भएको छ । फर्जी कागजातमा नेपाली युवालाई विदेश पठाउने धन्दामा कार्यालयकै कर्मचारी संलग्न रहेको खुलेपछि यस्तो गर्न लागिएको हो,’ उनले भने ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष अप्रेसनपछि विमानस्थलस्थित अध्यागमन कार्यालयका शाखा अधिकृत नरवीर खड्का दुई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए । उनलाई घुस दिने इन होलिडे ट्राभलका कर्मचारी पदम लामालाई पनि प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानपछि उनले होलिडे ट्राभलका सञ्चालक सरोज यादवबाट यसअघि पनि चार लाख रुपैयाँ घुस बुझेको खुलेको छ ।

धन्दामा अध्यागमन कार्यालयकै अर्का शाखा अधिकृत विमल पौडेल पनि संलग्न रहेको खुलेको छ । उनले पनि ट्राभल एजेन्सीबाट पटक–पटक गरी करोडभन्दा धेरै घुस रकम बुझेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पक्राउ हुने भएपछि अहिले उनी फरार छन् । उनी पूर्वगृहसचिव महेश्वर न्यौपानेको सिफारिसमा विमानस्थलस्थित अध्यागमन कार्यालय पुगेका थिए । पौडेल यसअघि न्यौपानेको निजी सचिवसमेत रहेका थिए । सरुवापछि पनि न्यौपानेकै दबाबका कारण उनी पुनः विमानस्थलमै कार्यरत रहेका थिए । 

पौडेलसँगै विमानस्थलस्थित अध्यागमनका अर्का शाखा अधिकृत ताराबहादुर कुँवर पनि फरार छन् । प्रहरीका अनुसार उनले पनि ट्राभल एजेन्सीबाट पटक–पटक घुस बुझेको अनुसन्धानबाट खुलेको छ । प्रहरीको अप्रेसनपछि फरार हुने कर्मचारी अरू पनि रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको भनाइ छ । ‘फर्जी कागजातमा नेपाली युवालाई विदेश पठाउने घटनामा प्रहरी अनुसन्धानरत छ । यसमा अध्यागमनका केही कर्मचारी पक्राउ परेका छन् भने केही फरार छन् । अनुसन्धान जारी छ । फरार रहेकाहरूको खोजीकार्य जारी छ,’ अनुसन्धान कार्यालयका डिएसपी गोविन्द पन्थीले भने ।

फर्जी कागजातका आधारमा नेपाली युवालाई विदेश पठाउन सघाउने धन्दामा नेपाल वायुसेवा निगमका कर्मचारी पनि संलग्न रहेको खुलेको छ । धन्दामा संलग्न रहेको पाइएपछि प्रहरीले निगमका अधिकृत ४२ वर्षीय होमनाथ पोखरेल र सुब्बा अरवीन्द्र यादवलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पोखरेलले रोलेक्स ट्राभलका कर्मचारी सञ्जय तामाङ र राजकिशोर साहबाट १८ लाख रुपैयाँ घुस बुझेका थिए । उक्त रकम रोलेक्सका सञ्चालक देवराज खनालले उपलब्ध गराएका थिए । त्यस्तै, निगमका सुब्बा यादवले अन्ट्राट्रिप ट्राभलका सञ्चालक ३० वर्षीय मनुराज चौधरीबाट १२ लाख रुपैयाँ घुस बुझेका थिए ।

प्रहरीको अप्रेसनपछि शंकास्पद भिसा बरामद घट्यो 

नक्कली भिजिट भिसाविरुद्ध प्रहरीको अप्रेसन सुरु हुनुअघि अन्तर्राष्ट्रिय विमानस्थलस्थित सुरक्षामा रहेका प्रहरीले दैनिक कम्तीमा दुई सयवटा भिसा नियन्त्रणमा लिन्थ्यो । तर, अहिले घटेर १० मा झरेको छ । विमानस्थलस्थित सुरक्षा कार्यालयले अप्रेसन सुरु हुनुअघिको महिना दिनमै शंकास्पद एक हजार ६ सय ९७ भिसा नियन्त्रणमा लिएको थियो । नियन्त्रित भिसाविरुद्ध अनुसन्धान गर्न कार्यालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई भनेको थियो । सोही कागजातका आधारमा अनुसन्धान कार्यालयले घटनाको अनुसन्धान गरेको थियो । 

प्रहरीले करिब ४० दिनको अवधिमा अध्यागमन कार्यालयका कर्मचारीसहित ट्राभल एजेन्सीका सञ्चालक, बिचौलिया र फर्जी कागजात बनाउने धन्दामा संलग्न ३६ जनालाई पक्राउ ग¥यो । त्यसयता शंकास्पद कागजात पक्राउ पर्ने दर घटेको विमानस्थलस्थित सुरक्षा कार्यालयका डिआइजी अर्जुन चन्दले जानकारी दिए । ‘पहिले विमानस्थलबाट शंकास्पद भिजिट भिसा मात्रै दैनिक कम्तीमा दुई सयभन्दा धेरै बरामद हुन्थे । अहिले त्यो दर घटेको छ । दैनिक आठदेखि १० वटा जति शंकास्पद भिसा बरामद हुने गरेको हाम्रो अप्रेसनबाट देखिन्छ । यसो हुनु प्रहरीको सफलता हो,’ उनले भने ।

प्रहरीबाट पुरस्कृत व्यक्तिबाटै अपराध 

बुद्धबहादुर बल लामा

फर्जी कागजात बनाई नेपाली युवालाई भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न भएकाको पक्राउ संख्या ३६ पुगेको छ । त्यसमध्ये पछिल्लोपटक पक्राउ पर्ने बुद्धबहादुर बल लामा, कमलराज हमाल, मनोज तामाङ लामा र पदम लामा छन् । पक्राउ परेकामध्ये बुद्धबहादुर नेपाल प्रहरीबाट पुरस्कृत व्यक्ति हुन् । उनलाई तत्कालीन आइजिपी शैलेश थापाले नेपाल प्रहरी डेमा उत्कृष्ट समाजसेवी पुरस्कारबाट पुरस्कृत गरेका थिए ।

मकवानपुर घर भएका उनको बागमती प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख डिआइजी वसन्त लामासँग नजिकको सम्बन्ध थियो । उनकै सिफारिसमा उनलाई तत्कालीन आइजिपी थापाले पुरस्कृत गरेका थिए । क्रसर व्यवसायी उनको बौद्धमा एड भिका टुर सेन्टर नामको ट्राभल एजेन्सी छ । सोही एजेन्सीमार्फत उनी युवा जम्मा गर्थे, नक्कली कागजात बनाउँथे । र, अध्यागमन कार्यालयको कर्मचारीको सेटिङमा युवालाई विदेश पठाउँथे ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर