नेभिगेसन मेनु

६५ वर्षमा नेपालले पठायो राष्ट्रसंघीय मिसनमा एक लाख ४७ हजार ७४० सैनिक
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-12-19 14:19

um-mission2023-12-19-06-19-59

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा सहभागिता जनाउन थालेको ६५ वर्षमा एक लाख ४७ हजार सात सय ४० नेपाली सैनिकले विभिन्न देशमा शान्ति स्थापनार्थ काम गरेका छन् । मिसनहरूमा कर्तव्य पूरा गर्ने सिलसिलामा ६५ सैनिकले ज्यान गुमाएका छन् भने ६६ जना घाइते भएका छन् ।

नेपाल सन् १९५५ मा राष्ट्रसंघको सदस्य भएको थियो । १९५८ देखि नेपाली सेना संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा पर्यवेक्षक पठाएर पहिलोपटक सहभागी भएको हो । सेनाले सन् १९७३ देखि इजरायल र इजिप्टको सीमा साइनाईमा फौज पठाएको थियो । त्यहाँ खटिएको पुरानो गोरख गण नै शान्ति स्थापक मिसनमा नेपालको पहिलो फौजी मिसन हो । नेपाली सेनाका अनुसार ६५ वर्षमा कुल ४४ मिसनमा नेपाली सैनिकले काम गरेका छन् । राष्ट्रसंघीय मिसनमा धेरै सैनिक पठाउनेमा नेपाल दोस्रो मुलुक हो । 

मालीमा शान्ति मिसन बन्द, १६ नेपाली सैनिक फर्किन बाँकी

पश्चिम अफ्रिकाको मालीस्थित संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसन (युनाइटेड नेसन्स मल्टिडाइमेन्सनल इन्टिग्रेटेड स्टेबलाइजेसन मिसन इन माली) १५ पुसपछि बन्द हुने भएको छ । त्यहाँ खटिएका एक सय ८२ नेपाली सैनिकमध्ये पहिलो चरणमा ९३ जना र दोस्रो चरणमा सोमबार ५९ जना फिर्ता भएका छन् । बाँकी १६ जना सैनिक निकट भविष्यमै फिर्ता हुने सैनिक प्रवक्ता भण्डारीले जानकारी दिए । इन्जिनियरिङ गुल्म नवौँ डफ्फाका शान्ति सैनिकहरू सेनानी (मेजर) प्रज्ज्वल थापाको नेतृत्वमा हातहतियार तथा बन्दोबस्तीका सामग्रीहरूसहित सोमबार स्वदेश फर्केका छन् । 

माली मिसन बन्द भए पनि राष्ट्रसंघीय मिसनमा धेरै सैनिक पठाउने दोस्रो मुलुकको स्थान भने नेपालले जोगाउनेछ । तर, अहिले सबैभन्दा धेरै सैनिक पठाउनेमा पहिलो बंगलादेश तेस्रो स्थानमा र हाल तेस्रो स्थानमा रहेको भारत पहिलो स्थानमा पुग्नेछन् । 

सैनिक प्रवक्ता सहायकरथी भण्डारीका अनुसार हाल माली मिसनमा बाँकी रहेकासहित विश्वका १२ शान्ति स्थापक मिसनमा पाँच हजार आठ सय ९७ नेपाली सैनिक कार्यरत छन् । माली मिसन बन्द भएपछि बाँकी ११ मिसनमा पाँच हजार आठ सय ८१ सैनिक रहनेछन् । ‘अहिलेको अनुपात हेर्दा माली मिसनबाट हाम्रो फौज फिर्ता भइसकेपछि पनि राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा धेरै सैनिक पठाउने मुलुकमा हामी दोस्रो स्थानमा यथावत् रहनेछौँ,’ उनले भने । 

बंगलादेशले शान्ति स्थापक मिसनमा ६ हजार नौ सय ५६ सैनिक खटाएकोमा माली मिसनबाट एक हजार सात सयजना फिर्ता हुँदै छन् । अब बंगलादेशका पाँच हजार दुई सय ५६ सैनिक बाँकी रहनेछन् । हाल पहिलो ठूलो संख्याबाट बंगलादेश तेस्रो बन्दै छ । भारतले बंगलादेशलाई उछिन्दै छ । माली मिसनमा भारतीय सैनिक छैनन् । अन्यत्रका शान्ति स्थापक मिसनमा ६ हजार ७३ भारतीय सैनिक खटिएका छन् । १५ पुसपछि भारत पहिलो स्थानमा पुग्नेछ । 

नेपालले राष्ट्रसंघको मागअनुसार तत्कालै परिचालन गर्न सक्ने अवस्थामा दुई कम्पनी फौज तयार राखेको छ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिमपछि बन्दोबस्तीका सामानसहित दुई कम्पनी तयारी अवस्थामा राखेको छ । मिसनमा तैनाथीका लागि पाँचखालस्थित तालिम केन्द्रमा तीनवटा कम्पनी र एउटा बटालियनस्तरका सैनिक पनि तालिमरत छन् । 

शान्ति मिसनको बजेट ६.१ अर्ब डलर

राष्ट्रसंघको प्रशासनिक तथा बजेट हेर्ने निकाय (फिफ्थ कमिटी)ले आगामी एक वर्ष (२०२४ जुनसम्म) का लागि सबै शान्ति स्थापक अप्रेसनका लागि ६.१ अर्ब डलर विनियोजन गरेको छ । सक्रिय रूपमा नौवटा मिसन, तीनवटा सेवा केन्द्र र राष्ट्रसंघ मुख्यालयमा स्टाफका रूपमा खटिने शान्ति सैनिकदेखि सबै स्टाफको तलबभत्ता र सैनिक सामग्रीहरूको भुक्तानीका लागि यो रकम विनियोजन भएको राष्ट्रसंघको वेबसाइटमा उल्लेख छ । चालू बजेट गत वर्षको भन्दा ४.९ प्रतिशत बढी हो । 

महिला सैनिक थप्ने योजना

नेपालले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा १० हजार सेना पठाउने प्रतिबद्धता जनाएको छ । सेनाको पछिल्लो तथ्यांकअनुसार शान्ति स्थापक मिसनमा पाँच सय ७३ जना महिला सैनिक कार्यरत छन् । हालसम्म दुई हजार तीन सय ७६ महिला सैनिकले मिसनमा काम गरेका छन् । सन् २०२८ सम्म मिसनमा फौजी महिलाको संख्या १५ प्रतिशत तथा सैन्य पर्यवेक्षक तथा स्टाफ अफिसरको संख्या २५ प्रतिशत पुर्‍याउने लक्ष्य राष्ट्रसंघले लिएको छ । सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले नेपाली सेना क्रमिक रूपमा महिलाको संख्या बढाउने पक्षमा रहेको बताए । ‘क्रमिक रूपमा महिला सैनिकको सहभागिता बढाउन हामी प्रयासरत छौँ,’ उनले भने ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर