नेभिगेसन मेनु

विमानस्थलमा ‘अल एरिया पास’ दुरुपयोग गरी निर्वाध सुन तस्करी
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-12-20 13:18

3-Page-Main2023-12-20-09-36-57

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्कर गर्न नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट वितरण हुने ‘अल एरिया पास’ दुरुपयोग हुने गरेको खुलेको छ । गत २१ मंसिरमा भएको १४ किलो सुन तस्करी पनि सोही पास दुरुपयोग भएको खुलेको छ ।

क्यानले विमानस्थलभित्र काम गर्ने कर्मचारीलाई कार्यक्षेत्र प्रवेश गर्न विशेष पासको व्यवस्था गरेको छ । यसका लागि उसले १३ कार्यक्षेत्र निर्धारण गरेको छ । पासवाहक कर्मचारी तोकिएको क्षेत्रबाहेकमा प्रवेश गर्न पाउँदैनन् । यदि गरिहाले पासवाहक कर्मचारीलाई गैरसैनिक हवाई उडान ऐन, २०१५ अनुसार कारबाही हुन्छ । तर, क्यानले केही विशेष कर्मचारीका लागि यस्तो पास बनाएको छ, जुन लिएर पासवाहक १३ वटै कार्यक्षेत्रमा विनारोकतोक जान सक्छ । १४ किलो सुन तस्करीमा सोही पास दुरुपयोग भएको खुलेको छ । 

विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले सुन तस्करीमा क्यानले उपलब्ध गराउने ‘अल एरिया पास’को दुरुपयोग भएको जानकारी दिए । ‘क्यानले विमानस्थलका कर्मचारीलाई कार्यक्षेत्रअनुसार विशेष पास उपलब्ध गराउँछ । तर, केही कर्मचारीले ‘अल एरिया पास’ पाएका हुन्छन् । सुन तस्करीमा संलग्न हुनेले यही पास दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।

भन्सार कार्यालयका अनुसार १४ किलो सुन तस्करीमा पक्राउ परेका शेरबहादुर बस्नेत, राधाकृष्ण श्रेष्ठ, रमेश देउला, लेखबहादुर तामाङ र अनिल श्रेष्ठसँग ‘अल एरिया पास’ थियो । बस्नेत विमानस्थलका ‘प्लम्बर’ हुन् । विमानस्थलभित्र धारा तथा शौचालयसम्बन्धी सबै काम उनीमार्फत हुँदै आएको थियो । सोही कारण उनलाई क्यानले उक्त पास उपलब्ध गराएको थियो । जसले गर्दा उनी विमानस्थलभित्रको सबै कार्यक्षेत्रमा विनारोकतोक आउजाउ गर्न सक्थे । 

अन्तर्राष्ट्रिय उडानको ‘अराइभल’ कक्षमा प्रवेश गर्नुअघि नजिकै एउटा सुविधासम्पन्न शौचालय छ । सुन बोकेर आउने भरिया (चन्द्रबहादुर गुरुङ र कृष्णबहादुर श्रेष्ठ) ‘अराइभल’को परीक्षण कक्षमा प्रवेश गर्नुअघि सीधै शौचालय जान्थे । बोकेर आएको सुन उनीहरूले शौचालयको ‘डस्बिन’मा हालिदिन्थे । र, ‘अराइभल’को परीक्षण कक्षमा प्रवेश गरी सजिलै बाहिरिन्थे । त्यसअघि नै सुन आएको सूचना ‘प्लम्बर’ बस्नेतकहाँ पुगिसक्थ्यो । विमानस्थलको ‘प्लम्बर’बाट अवकाश पाएको केही वर्षअघि मात्रै सोही पदमा करारमा नियुक्त भएका उनी सरासर शौचालय पुग्थे । डस्बिनमा सुन भए–नभएको यकिन गर्थे । र, सूचना क्यानका अर्का कर्मचारी श्रेष्ठलाई दिन्थे । 

श्रेष्ठ विमानस्थलको एसी टेक्निसियन हुन् । उनलाई पनि क्यानले ‘अल एरिया पास’ उपलब्ध गराएको थियो । करारमा कार्यरत उनी विनारोकतोक विमानस्थलको सबै कार्यक्षेत्रमा आउजाउ गर्न सक्थे । सुन आएको सूचनापछि उनी सोही पास लिएर शौचालय पुग्थे । डस्बिनको रेकी गर्थे । र, सुन भरिएको डस्बिन लिन विमानस्थलकै सरसफाइ कर्मचारीलाई पठाउँथे । 

सरसफाइ कर्मचारीले डस्बिन विमानस्थलको भिआइपी कक्षमा लिएर आउँथे । भिआइपी कक्षको ‘एक्सरे’ जाँच कक्षमा कार्यरत लेखबहादुर तामाङले डस्बिन चेकजाँच नै नगरी बाहिर पठाउँथे । उक्त सुन देउला र श्रेष्ठले बुझ्थे । सुनलाई विमानस्थलबाट उनीहरूले नै बाहिर निकाल्थे । र, विमानस्थलको गेटबाहिर कुरी बसेका अर्का भरिया दिलबहादुर गुरुङलाई बुझाउँथे । भन्सार कार्यालयका अनुसार सोही तवरबाट उनीहरूले एक वर्षदेखि विमानस्थलबाट सुन तस्करी गर्दै आएका थिए । गत २१ मंसिरमा बरामद १४ किलो सुन सोही तरिका अपनाएर गरेको अनुसन्धानबाट खुलेको छ । 

‘यिनीहरूले विगतदेखि नै ‘अल एरिया पास’ को दुरुपयोग गरेर सुन तस्करी गर्दै आएको देखिन्छ । सबै घटनामा सुन तस्कर गर्ने यिनीहरूको तरिका एउटै देखिन्छ । जस्तो, चन्द्रबहादुर र कृष्णबहादुरले सुन बोकेर ल्याउँथे । विमानस्थलको शौचालयको डस्बिनमा स्टोर गर्थे । विमानस्थलको प्लम्बर, एसी प्राविधिक र सरसफाइमा कार्यरत कर्मचारीको मिलेमतोमा सुन बाहिरिन्थ्यो, र गन्तव्यमा पुग्थ्यो । यिनीहरूले सोही तरिका अपनाएर एक वर्षदेखि सुन तस्करी गर्दै आएको अनुसन्धानबाट देखिन्छ,’ अनुसन्धानमा संलग्न भन्सारका अधिकृतले भने ।

विमानस्थलका कर्मचारीले बुझ्थे तस्करी गरेबापत एक लाख ६० हजार 

भन्सार कार्यालयका अनुसार १४ किलो सुन तस्करीमा हालसम्म १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रबहादुर घले, मीनबहादुर गुरुङ, सुशीला पाण्डे, गणेश चेपाङ, कपिल ओझा, शेरबहादुर बस्नेत, लेखबहादुर तामाङ, राधाकृष्ण श्रेष्ठ, रमेश देउला र अनिल श्रेष्ठ छन् । घले र गुरुङबाहेक सबै विमानस्थलका कर्मचारी हुन् । जसमध्ये पाण्डे, चेपाङ र ओझा सरसफाइ कर्मचारी हुन् । बस्नेत र श्रेष्ठ क्रमशः प्लम्बर र एसी प्राविधिक हुन् । तामाङ, देउला र श्रेष्ठ ज्यालादारीमा काम गर्ने कर्मचारी हुन् । उनीहरूले विमानस्थलबाट एकपटक सुन पास गराएबापत एक लाख ६० हजार रुपैयाँ बुझ्थे । उक्त रकम जिम्मेवारीअनुसार आपसमा बाँडफाँट गर्थे । भन्सारका अनुसार विमानस्थलभित्र तस्करीको सम्पूर्ण व्यवस्थापन गर्ने जिम्मा बस्नेतले लिएका थिए । उनैको निर्देशनअनुसार विमानस्थलका अन्य कर्मचारी तस्करीमा खटिन्थे । 

बस्नेतको मीनबहादुरसँग चिनजान थियो । उनलाई मीनबहादुरले नै सुन तस्करीको प्रस्ताव गरेका थिए । प्रतिट्रिप एक लाख ६० हजार रुपैयाँ उपलब्ध गराउने भनेपछि उनले मीनबहादुरको प्रस्ताव मानेका थिए । स्वयं मीनबहादुरले भने नेपालमा सम्पूर्ण व्यवस्थापन मिलाएबापत तस्करको मुख्य नाइकेबाट प्रतिटिप एक लाख रुपैयाँ बुझ्थे । सुन बोक्न प्रयोग गरिएका भरिया चन्द्रबहादुर र कृष्णकुमारले भने प्रतिटिप ५५ हजारदेखि ६० हजार रुपैयाँसम्म बुझ्थे । भन्सारका अनुसार उनीहरूलाई दुबईबाट सुन पठाउने भारतीय नागरिक अमित अग्रवाल हुन् । उनी दुबई बस्ने गर्छन् । भारतमा उक्त सुन गुरु नाम गरेका व्यक्तिले बुझ्ने गर्छन् । भन्सारका अनुसार उनको सम्बन्धमा हालसम्म थप विवरण खुल्न सकेको छैन ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर