नेभिगेसन मेनु

पुसका लागि वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको कति ?
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-12-17 13:24

interest2023-12-17-07-38-56

लगानीयोग्य पुँजी थुप्रिन थालेपछि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाउन थालेका छन् । खासगरी मुद्दती निक्षेपको ब्याजदरमा बैंकहरूले कटौती गर्न सुरु गरेका छन् । बैंकहरूले पुसका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरले यस्तो देखाएको हो । नयाँ दरअनुसार प्राइम कमर्सियल बैंकबाहेक सबै बैंकको ब्याजदर एकल अंकमा कायम भएको छ ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बजारमा कर्जाको माग नभएर बैंक तथा वित्तीय संस्थामा निक्षेप थुप्रिएकाले ब्याजदर घट्दै गएको बताए । निक्षेप थुप्रिए पनि केही महिनाअघि बैंकहरू खोसाखोस हुने त्रासले ब्याजदर घटाउन तयार थिएनन् । तर, अहिले ब्याजदर घट्दा पनि निक्षेप थुप्रिने अवस्था रहेकाले धमाधम ब्याजदर घटाउनुपरेको उनको भनाइ छ । उनले भने, ‘ब्याजदर घट्ने क्रममा छ । कर्जाको माग नभएको अवस्था निक्षेप थुप्रिएर बसेको छ । ब्याजदर घटबढ हुने बजारकै कारण हो । अहिले बजार सुस्त भएकाले ब्याजदर घटेको हो । बजार चलायमान हुने भएपछि मात्रै ब्याजदर बढ्ने हो ।’

नेपाल राष्ट्र बैंकका अनुसार गत मंगलबारसम्ममा कुल निक्षेप संकलन ५९ खर्ब ८९ अर्ब पुगेको छ । जसमा वाणिज्य बैंकहरूको मात्रै ५२ खर्ब ९८ अर्ब छ । कुल कर्जा प्रवाह ४९ खर्ब ८९ अर्ब पुगेकोमा वाणिज्य बैंकमार्फत ४४ खर्ब १४ अर्बको कर्जा प्रवाह भएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेपको अनुपात ८०.५ प्रतिशत कायम छ । 

घट्दो ब्याजदरले अर्थतन्त्रको सुस्त गतिलाई संकेत गरेको खालिङको टिप्पणी छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नीतिगतदर तथा बैंकदर घटाए पनि त्यसको असर बजारमा खासै नपर्ने उनले बताए । बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट ऋण लिनै नपर्ने अवस्थामा नीतिगत दर सस्तो हुनुले ब्याजदरमा खासै प्रभाव नपार्ने उनको भनाइ छ । 

ब्याजदर निर्धारणमा राष्ट्र बैंकको नियन्त्रण कायमै रहेकाले सोचेजस्तो ब्याजदर घट्न नसकेको निजी क्षेत्रको भनाइ छ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले केन्द्रीय बैंकको बैंकहरूलाई मात्रै संरक्षण गर्ने विभेदकारी नीतिले ब्याजदर अपेक्षित रूपमा घट्न नसकेको बताए । १० प्रतिशतभन्दा बढी घटाउन नमिल्ने व्यवस्थाले निक्षेपको ब्याजदर अपेक्षित रूपमा नघटेको उनको भनाइ छ । उनले भने, ‘हामीले हेर्दा बैंकहरूलाई बढी नै संरक्षण गर्दा यस्तो अवस्था आएको छ । केन्द्रीय बैंकको १० प्रतिशतभन्दा बढी घटाउन दिएको छैन । बढाउँदा यो व्यवस्था ल्याएको थियो । तर, अब सहज परिस्थितिमा किन कायम राख्नुपर्‍यो ?’ 

त्यस्तै, बैंकहरूको नाफा सुनिश्चित गरिदिने उद्देश्य राख्ने आधार दरसम्बन्धी व्यवस्था नै खारेज गर्नुपर्र्ने माग उनको छ । उनले भने, ‘सरकारले कुनै एक किसिमको व्यवसायको नाफा सुनिश्चित किन गरिदिने ? बैंकको मात्रै हेरेर यो समस्या आएको हो । अब खुला गर्नुपर्छ ।’ 

बैंकहरूले शनिबार प्रकाशित गरेको सूचनाअनुसार बैंकहरूको ब्याजदर मंसिर महिनाको तुलनामा घटेको छ । मंसिर महिनामा ९.७१ प्रतिशत औसतमा व्यक्तिगत मुद्दती ब्याजदर रहेको २० वटा वाणिज्य बैंकहरूले पुसमा ८.९९१ प्रतिशत कायम गरेका छन् ।  समग्रमा बैंकहरूको औसत ब्याजदर ०.६२ प्रतिशत विन्दुले घटेको छ । 

पुस महिनाका लागि २० मध्ये १८ वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । जसमध्ये सबैभन्दा बढी हिमालयन बैंकले घटाएको छ । मंसिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा १०.६०३ प्रतिशत रहेको यस बैंकको अधिकतम ब्याजदर पुसमा २ प्रतिशत विन्दु घटेर ८.६०३ प्रतिशत कायम भएको छ । त्यसैगरी, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सन्राइज बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबिआई बैंकले १ प्रतिशत विन्दु ब्याजदर घटाएका छन् ।

प्रभु बैंक र सानिमा बैंकले भने मंसिर महिनाकै ब्याजलाई निरन्तरता दिएका छन् । यी दुबैको अधिकतम ब्याजदर ९ प्रतिशत रहेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत बैंकदर घटाएसँगै बैंकहरूको निक्षेपको ब्याजदरमा समेत प्रभाव परेको हो । राष्ट्र बैंकले अघिल्लो शुक्रबार (मंसिर २२ गते) चालू वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै बैंकदर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा ल्याएको थियो ।

साथै नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा ल्याएको छ । साथै, निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको छ । यो पहलले बैंकहरूले पुसमा कम्तीमा १ प्रतिशत विन्दुले निक्षेपको ब्याजदर घटाएका हुन् ।

कुन बैंकको कति ?

व्यक्तिगत मुद्दतीतर्फ एनआइसी एसियाको ब्याजदर घटाएर ८.६७ प्रतिशत पुर्‍याएको छ । एनएमबिले ब्याजदर ९ प्रतिशत पुर्‍याएको छ । नबिल बैंकको ब्याजदर ८.६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ८.६१ प्रतिशत र नेपाल इनभेष्टमेन्ट मेगा बैंकको ९.५ प्रतिशत कायम भएको छ । त्यस्तै, ग्लोबल आइएमईको ब्याजदर ८.६ प्रतिशत पुगेको छ भने हिमालयन बैंकको ब्याजदर ८.६०३ प्रतिशत कायम भएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर ८.५६ प्रतिशत, कृषि विकास बैंकको ब्याजदर ९.०१२ प्रतिशत, एभरेस्टको ८ प्रतिशत, नेपाल एसबिआई बैंकको ९.६ प्रतिशत, ८.५५६ प्रतिशत, सिटिजन्सको ९.३५ प्रतिशत, कुमारीको ९.३१ प्रतिशत र लक्ष्मी सन्राइजको ९ प्रतिशत कायम भएको छ । त्यस्तै, सिद्धार्थ बैंकको ब्याजदर ९.२५ प्रतिशत, प्राइमको १० प्रतिशत र माछापुच्छ्रे बैंकको ब्याजदर ९.६ प्रतिशत कायम भएको छ । 

औसत ब्याजदर १०.३३ प्रतिशतबाट ८.९९ प्रतिशतमा झर्‍यो

भदौयता व्यक्तिगत मुद्दती ब्याजदर औसतमा घट्दो क्रममा छ । भदौमा १०.३३ प्रतिशत पुगेको मुद्दती ब्याजदर घटेर पुसमा आइपुग्दा ८.९९ प्रतिशत कायम भएको छ । असोजमा १०.२६ प्रतिशत, कात्तिकमा ९.९६ प्रतिशत र मंसिरमा ९.७१ प्रतिशत कायम भएको थियो । 

त्यस्तै, संस्थागत मुद्दतीतर्फ समेत भदौयता ब्याजदर घटेको छ । भदौमा औसत ब्याजदर ८.२८ प्रतिशत रहेकोमा पुसमा ६.८८ प्रतिशत कायम भएको छ । असोजमा यस्तो ब्याजदर ८.२३ प्रतिशत, कात्तिकमा ७.८५ प्रतिशत र मंसिरमा ७.५४ प्रतिशत पुगेको थियो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर