नेभिगेसन मेनु

अलपत्र छ वज्रगुरु स्तूपा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-06 13:01

Untitled-2-Recovered (1)

मङ्सिर २० गते । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ स्थित स्तूपाडाँडामा निमार्णाधीन वज्रगुरु स्तूप १८ वर्षदेखि अलपत्र अवस्थामा छ । बजेट अभाव र स्थानीयबिचको विवादका कारण बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर वज्रगुरु स्तूप अलपत्र अवस्थामा रहेको हो ।

बाह्रबिसे नगरपालिका–४ का गणेश मोक्तान नेतृत्वमा २०६४ सालदेखि उक्त स्तूप निर्माण सुरु भएको थियो । स्तूपको जग हाल्नेदेखि ठड्याउनेसम्मको काम भइसकेको छ । मोक्तानका अनुसार उक्त स्तूपलाई पूर्णता दिन अझै करिब दुई करोड रुपियाँ लाग्ने छ । तीनै तहको सरकारमा सो स्तूप निर्माण पूरा गर्नका लागि बजेट विनियोजन गर्न आग्रह गरिएको मोक्तानले जानकारी दिनुभयो । गजुर हाल्न, घेराबार गर्न, धारा, शौचालय निर्माण, पञ्चधातु राख्नेलगायतका कामका लागि दुई करोड रुपियाँ लागत अनुमान गरिएको उहाँले बताउनुभयो । 

बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको यस भेगमा बौद्धमार्गीका लागि तीर्थस्थल छैन । विभिन्न सङ्घसंस्थालाई पनि स्तूपको थप कामका लागि सहयोग गर्न अनुरोध गरिएको छ । २०६४ सालमा मोक्तानको नेतृत्वमा विभिन्न सङ्घसंस्था, थाइल्यान्डका राजगुरु र तत्कालीन बाह्रबिसे गाविसको ५० हजार रुपियाँको सहयोगमा ४० फिटको गोलाइमा वज्रगुरु स्तूपको निर्माण सुरु भएको थियो । 

निर्माण सुरु भएकै वर्षदेखि बजेट अभावमा स्तूपको काम २०७४ सम्म रोकिएको थियो । २०७४ को स्थानीय तहको निर्वाचनपछि बाह्रबिसे नगरपालिकाले १५ लाख रुपियाँ बजेट प्रदान गरेर थप काम निर्माण समितिका अध्यक्ष पुनम मोक्तानको नेतृत्वमा अघि बढेको थियो । २०७५ सालमा बाह्रबिसे नगरपालिकाले पाँच लाख रुपियाँ घाट निर्माणका लागि बजेट उपलब्ध गराएको थियो । २०७६ सालमा नगरपालिकाले नै १० लाख रुपियाँ बजेट उपलब्ध गराएपछि जीवन लामाको अध्यक्षतामा बनेको समितिले स्तूपको प्राङ्गण व्यवस्थापनका लागि ढुङ्गा बिछ्याएको थियो । सोही बेला सोलार बत्ती पनि जडान गरिएको थियो । 

विसं २०७६ मा बागमती प्रदेश सरकारको दुई लाख ५० हजार रुपियाँ बजेटमा स्तूपको प्रवेशद्वार निर्माण भएको थियो । यस्तै २०७७ सालमा बाह्रबिसेमा रहेको सब–स्टेसनले स्तूपको थप निर्माणका लागि सात लाख रुपियाँ सहयोग उपलब्ध गराएकामा टेन्डरमार्फत घेराबारको काम भएको थियो । २०७८ सालमा पाँच लाख रुपियाँ बजेटले स्तूप परिसरभित्र भीमसेन मन्दिर निर्माण गरिएको थियो ।  साथै २०७९ सालमा बागमती प्रदेश सरकारबाट थप कार्यका लागि समपूरक अनुदान अन्तर्गत एक करोड पाँच लाख रुपियाँ बजेट आएकोमा स्थानीयबिचको विवादका कारण उक्त बजेट फिज्र भएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर