नेभिगेसन मेनु

हङकङ निर्यात हुँदै फूल
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-10 14:14

Untitled-1 (2)

कात्तिक २४ गते । नेपाली बजारमा भारतीय फूलको निर्वाध प्रवेश रहेका बेला नेपालमै उत्पादित फूलले भने अन्तर्राष्ट्रिय बजार खोजी गरेको छ । तिहार नजिकिँदै गर्दा नेपाली मूलका नागरिक बसोवास गर्ने देश/स्थानमा फूलको बजार विस्तार गर्न लागिएको छ । 

यसै क्रममा चितवनबाट पहिलो पटक हङकङमा सयपत्री र मखमली फूल र मालाको निर्यात बिहीबार थालियो । कालिका नगरपालिकास्थित पदमपुरमा रहेको फूलमाला फर्म नेपालले ती फूलमाला शुक्रबार हवाई कार्गो गरी हङकङ पठाउँदै छ । फर्मका सञ्चालक गोविन्द बास्तोलाले पहिलो पटक छ सय सयपत्री र चार सय मखमली गरी हजार वटा माला र दुई क्विन्टल सयपत्री फूल निर्यात गर्न लागिएको जानकारी दिनुभयो ।

“हामीले अन्तर्राष्ट्रिय बजारमा फूल निर्यातको खोजी गरिरहेका थियौँ । यही क्रममा नेपाली मूलका नागरिकको बाहुल्य रहेको हङकङमा पहिलो पटक सयपत्री र मखमली माला र फूल निर्यात गर्न लागेका हौँ,” उहाँले भन्नुभयो । भारतीय फूलले नेपाली बजारमा गरेको हस्तक्षेपकै कारण फूलको कारोबार के हुने भन्ने चिन्ता भइरहेका बेला हङकङ निर्यातले राहत दिने बास्तोलाको भनाइ छ ।

हङकङ लगिने फूललाई  ‘ग्रेडिङ’ र ‘प्याकेजिङ’ मा विशेष ध्यान दिइएको छ । माला हङकङ निर्यात गर्ने व्यवसायी कमल सुवेदीले फूललाई व्यवस्थित ढङ्गले चिसो बरफसहितको प्याकेजिङ गरिएको जानकारी दिनुभयो । हङकङमा नेपाली फूल र मालाको माग बढ्दो रहेको पनि उहाँले जनाउनुभयो । हङकङ लैजान लागेको फूलमालाको मूल्य प्रतिकिलो ४५० रुपियाँमा खरिद गरिएको पनि उहाँले जानकारी दिनुभयो । 

माला निर्यातको शुभारम्भ गर्दै कालिका नगरपालिकाका प्रमुख विनोद ढकालले भारतीय फूल नेपालमा भित्रिइरहेका बेला नेपाली फूलले विश्व बजार खोज्नु स्वाभाविक रहेको बताउनुभयो ।  फर्मले पदमपुरमा तीन बिघा पाँच कठ्ठा क्षेत्रफलमा फूल खेती गरेको छ ।  

यस वर्ष चितवनमा भने ५० बिघाभन्दा बढी क्षेत्रफलमा फूल खेती गरिएको छ । जसबाट दुई लाख माला उत्पादन भएको बताइन्छ । 

३० करोडको फूलमाला बेचिने

यस वर्षको तिहारमा नेपालभर ३० करोडको फूलमाला बिक्री हुने अनुमान फ्लोरिकल्चर एसोसिएसन नेपालको छ । यस वर्ष तीन अर्ब ५० करोड रुपियाँको फूलमालाको कारोबार हुने लक्ष्य लिइएकामा तिहारमा मात्रै ३० करोडको कारोबार हुने अनुमान गरिएको हो । एसोसिएसनका अध्यक्ष मीनबहादुर तमाङले यस वर्ष सयपत्रीको माला १२५ रुपियाँ, मखमलीको ७० रुपियाँ, गोदावरीको मात्रै एक हजार रुपियाँ र गोदावरी मिक्स गरेको माला चार सय रुपियाँमा कारोबार भइरहेको पनि उहाँले जनाउनुभयो ।  

यस वर्ष नेपालमा ४० लाख माला खपत हुने छ ।  जसमध्ये गोदावरी मिसिएको माला ५० हजार, मखमली चार लाख ५० हजार र सयपत्री ३५ लाख माला नेपालमै खपत हुने छ । नेपालमा खपत हुनेमध्ये पाँच लाख माला मात्रै नेपालको उत्पादनमा कमी हुने पनि उहाँले जनाउनुभयो  । भारतबाट आउने अवैध फूलको आयत रोक्न माग गर्दै उहाँले वैध तरिकाले भन्सार तिरेर आयत भएको फूलसँग आफूहरू प्रतिस्पर्धा गर्न चाहेको पनि उहाँले बताउनुभयो । 

एसोसिएसनका अनुसार अघिल्लो वर्ष नेपालमा तीन अर्ब सात करोड रुपियाँको फूलको कारोवार भएको थियो । जसमध्ये ३३ करोड रुपियाँ बराबरको आयात र अन्य नेपाली  बजारकै फूलको मूल्य हो । गत एक वर्षमा ६८ लाख रुपियाँ बराबरको फूल निर्यात भएको छ ।  

नेपाली फूलमा विगतमा सबैभन्दा बढी क्यालिलियम फूलको गानो निर्यात भएको छ । यसका साथै गुलाफ र ग्ल्याडुडस फूल पनि निर्यात हुने गरेकामा अहिले ती फूलको व्यापारमा ठुलो गिरावट आएको बताइन्छ । 

बढी बिक्री हुने फूलको कारोबार घटिरहेका बेला मौसमी फूलको अन्तर्राष्ट्रिय निर्यातले व्यवसायीमा केही आशा पालाएको एसोसिएसनका अध्यक्ष तमाङको भनाइ छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर