नेभिगेसन मेनु

तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ आज नेपाल आउँदै
सम्पादक:南亚网络电视
समय:2023-11-08 12:54

1699412191_wang-1200x560 (1)

- प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल हुने

- चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्दै, पाँचदिने भ्रमणका क्रममा पोखरा पनि जाँदै

चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने औपचारिक भ्रमणमा बुधबार नेपाल आउँदै छन् तिब्बतको पार्टी सेक्रेटरी चीन सरकारका निर्णायक अधिकारीमध्येहरू एक मानिन्छन् । उनको भ्रमणका क्रममा प्रधानमन्त्रीको चीन भ्रमणमा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल हुनेछ । 

तिब्बतको नेपाल मामिला सञ्चालनसँग सम्बन्धित सबै निकायका पदाधिकारीसहितको टोली वाङको भ्रमण दलमा आउन लागेको हो । उनले काठमाडौंमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यसूची छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणपछि चीनबाट आउन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । तिब्बतको कार्यकारी प्रमुख रहेका वाङ पोखरा भ्रमणमा पनि जाँदै छन् । 

नयाँ पत्रिकालाई प्राप्त उनको कार्यतालिकाअनुसार वाङले बुधबार उपराष्ट्रपति रामसहाय यादवसँग दिउँसो २ बजे शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले बिहीबार (२३ कात्तिक) बिहान ८ बजे प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने कार्यतालिका छ । बिहीबार बिहान ११ बजे उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीसँग पनि भेटवार्ता गर्दै छन् । 

प्रधानमन्त्री प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार डा. रूपक सापकोटाले चिनियाँ भ्रमण टोलीसँग प्रधानमन्त्रीको चीन भ्रमणमा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल हुने बताए । ‘छिमेकी चीनको हामीसँग सीमा जोडिएको क्षेत्र रहेका कारण तिब्बतका पार्टी सेक्रेटरीको भ्रमणलाई हामीले महत्व दिएका छौँ,’ सापकोटाले भने । 

प्रचण्ड र तिब्बत सेक्रेटरी वाङबीच यसअघि १० असोजमा तिब्बतको राजधानी ल्हासामा भेटवार्ता भएको थियो । भेटवार्तामा भएका सहमतिअनुसार नेपाल र चीनबीचका नाका क्रमशः सञ्चालन भएका छन् । भेटवार्तामा नेपाल र चीनबीच परम्परागत सीमानाका पूर्वाधार व्यवस्थापन गर्दै क्रमशः खुला गर्ने सहमति भएको थियो । त्यहीअनुसार सीमानाकाहरू खुल्न थालेका छन् । मुस्ताङको कोरला नाका २७ कात्तिकबाट खुल्ने तयारी छ । 

उनी नेपालप्रति सद्भाव राख्ने चिनियाँ नेताहरूमध्ये एक रहेको परराष्ट्रका उच्च अधिकारीहरू बताउँछन् । ‘उहाँले प्रधानमन्त्रीसँगको भेटवार्तामा नेपालसँगको सम्बन्धबारे अत्यन्तै हार्दिक र उदारतापूर्वक कुराकानी गर्नुभएको थियो,’ ल्हासामा भएको भेटमा सहभागी रहेका सापकोटाले भने । 

चिनियाँ नेता वाङले बिहीबार अपराह्न ४ बजे राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । अध्यक्ष तिमिल्सिनाले तिब्बत पार्टी सचिव वाङको सम्मानमा रात्रिभोज आयोजना गर्दै छन् । 

चिनियाँ नेता वाङ २४ कात्तिकमा गण्डकी प्रदेशको राजधानी पोखरा जानेछन् । पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसँग उनको भेटवार्ता हुनेछ । बिहीबार सोही साँझ मुख्यमन्त्री पाण्डेले उनको सम्मानमा रात्रिभोज आयोजना गर्दै छन् । पोखरामा रहँदा वाङले चीन–नेपाल सांस्कृतिक आदान–प्रदानसम्बन्धी परियोजनाको निरीक्षण गर्ने कार्यतालिका छ । 

उनी २५ कात्तिकमा काठमाडौं फर्केपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भेटमा नेपाल र तिब्बतबीच सीमा सुरक्षालगायतका विषयमा छलफल हुनेछ । सोही साँझ वाङ नेतृत्वको टोलीले नै दूतावासका अधिकारीहरू तथा नेपाली शुभेच्छुकहरूका लागि धन्यवाद ज्ञापन गर्ने रात्रिभोज आयोजना गर्दै छ । वाङले २६ वैशाखमा भक्तपुरमा चिनियाँ सहयोगमा भूकम्पपछि निर्मित संरचनाको अनुगमन गर्नेछन् । त्यसपछि उनी श्रीलंकाको राजधानी कोलम्बो प्रस्थान गर्ने कार्यक्रम छ । 

वाङले तिब्बत–काठमाडौं हवाई सेवा चाँडै सञ्चालन हुने विश्वास दिलाएका थिए । नेपाली अधिकारीका अनुसार उनको भ्रमणलगत्तै स्याफ्रुबेँसी–रसुवागढी सडक मर्मत र विस्तार सुरु हुनेछ । 

उनको भ्रमणका क्रममा प्रधानमन्त्रीको चीन भ्रमणमा भएको सहमतिअनुसार नेपाल–चीन सीमाको संयुक्त निरीक्षण गर्र्ने विषयमा थप छलफल हुनेछ । चीनको सार्वजनिक सुरक्षा मन्त्रालय र नेपालको गृह मन्त्रालयबीच तीन तहमा सीमा सम्पर्क प्रणाली स्थापना गर्ने गरी प्रोटोकलमा हस्ताक्षर गर्ने सहमति भएको थियो । यसबारेमा गृहमन्त्री श्रेष्ठ र वाङबीच छलफल हुनेछ । 

आपराधिक मामिलामा पारस्परिक कानुनी सहायतासम्बन्धी चीन–नेपाल सन्धिको अनुमोदनलगायतका विषयमा पनि छलफल हुनेछ । उनी फर्केपछि अरनिको राजमार्ग मर्मत परियोजनाको चौथो चरणको काम पनि चीन पक्षले सुरु गर्ने भएको छ । 

दुई देशबीच सहमति भएअनुसार केरुङ–रसुवागढी, चिलिमे २२० केभी सीमापार ऊर्जा प्रसारणलाइन निर्माणका विषयमा पनि छलफल हुनेछ । जलविद्युत्, हावा ऊर्जा, सौर्य ऊर्जा, बायोमास ऊर्जा हाइड्रोजनको क्षेत्रमा सहकार्यका लागि गठित नेपाल–चीन संयुक्त कार्यान्वयन संयन्त्रलाई सक्रिय बनाउने विषयमा पनि गृहमन्त्री श्रेष्ठ र वाङबीच छलफल हुने गरी नेपालको तयारी छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर