नेभिगेसन मेनु

इजरायलबाट नेपालीको शव पठाउन अनिश्चित
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-10-15 13:13

IMG_6560 (1)

तेलअभिभ, इजरायल — दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किबुज अलुमिनमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीको शव पठाउन केही दिन लाग्ने भएको छ । इजरायल आफैं युद्धरत रहेकाले शव व्यवस्थापनलाई प्राथमिकता दिएको छैन । असोज २० मा किबुज अलुमिन प्रवेश गरी हमास लडाकुले अन्धाधुन्ध गोली र ग्रिनेड प्रहार गर्दा १० नेपाली मारिएका थिए । चार जना घाइते छन् भने एकको अवस्था अज्ञात छ ।

इजरायलमा ठूलो संख्यामा हताहती भएकाले शव पहिचान र व्यवस्थापन चुनौती छ । इजरायली अधिकारीका अनुसार शवलाई प्लास्टिकमा सिलबन्दी गरी ट्रकको फ्रिजमा राखिएको छ । ‘१३ सय शवको पहिचान भइसकेको छैन, जसमा विदेशी नागरिक पनि छन्,’ स्थानीय सञ्चारमाध्यमहरूले लेखेका छन्, ‘सबै नागरिकको पहिचान गर्न समय लाग्नेछ । डीएनए, फिंगरप्रिन्ट र दाँत हेरी पहिचान गरिनेछ ।’ इजरायलमा विदेशीसहित सबैको फिंगरप्रिन्ट राखिन्छ ।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले नेपाली मारिएको खबर पाएलगत्तै उचित ढंगले शव व्यवस्थापन गर्न इजरायली पक्षसँग समन्वय गरिएको बताइन् । ‘घटनास्थलबाट नेपालीको शव संकलन गर्ने बेला नै हामीले राहदानीको कपी पठाइदिएका छौं,’ उनले भनिन्, ‘शवलाई क्षेत्रगत हिसाबले अलगअलग रूपमा छुट्याएर राखिएको छ ।’

इजरायलको तेल अभिभमा १० वर्षदेखि बस्दै आएका पथरी, मोरङ निवासी प्रकाश पहिम लिम्बू र १५ वर्षदेखि बस्दै आएकी उनकी पत्नी रोजी थापा मगर बम आउने पूर्वसूचना (साइरन बजेपछि) बंकरभित्र छिरेर फलामबाट निर्मित झ्याल लगाउँदै । साइरन २ मिनेट बज्ने गर्दछ । अहिले बनेका नयाँ घर हरुमा हरेक फ्ल्याटमा एउटा बंकर बनाउने गरिएको छ । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

विद्यार्थी लिन इजरायल पुगेका परराष्ट्रमन्त्री एनपी साउदले समकक्षीसँगको संवादमा पनि नेपाली विद्यार्थीको शव यथासक्य छिटो पठाउने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

‘शव पठाउनका लागि परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित निकायमा पहल भइरहेको छ । उच्च तहबाट समन्वय गरिरहेका छौं,’ रिजालले भनिन् । आक्रमणमा घाइते भएकामध्ये सल्यानका विधान सेजवाल, दाङका प्रवीन डाँगी, गोरखाका हिमाञ्चल कट्टेलको उपचार जारी छ । कैलालीका धनबहादुर चौधरी घाइते अवस्थामा स्वदेश फर्किसकेका छन् । कञ्चनपुरका विपिन जोशी भने अझै बेपत्ता छन् ।

इजरायल–हमास द्वन्द्वपछि २ सय ५४ नेपाली विद्यार्थीलाई स्वदेश फर्काइएको छ । उनीहरूलाई हवाई उद्धारमार्फत शुक्रबार बिहान नेपाल पठाइएको हो । उनीहरूलाई स्वदेश फर्काउन सरकारले नेपाल वायु सेवा निगमको वाइडबडी विमान तेलअभिभ पठाएको थियो । त्यसका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल आएका थिए ।

सुनसान तेल अभिभ, इजरायलका सडकहरु । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

इजरायलमा मारिएका र स्वदेश फर्किएका सबै विद्यार्थी ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल आएका थिए । मारिएका १० सहित ४९ विद्यार्थीको टोली एक महिनाअघि मात्र इजरायल आएको थियो । उनीहरू सबै सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी हुन् । विद्यार्थीहरूका अतिरिक्त इजरायलमा ४ हजार ५ सय नेपाली कामदार छन् ।

गत शनिबारदेखि चर्किएको युद्धमा ३ हजार ५ सयभन्दा बढी मारिएका छन् । जसमा १ हजार ३ सयभन्दा बढी इजरायली र २ हजार २ सयभन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।

यसैबीच, इजरायली सेनाले उत्तरी गाजाका करिब ११ लाख बासिन्दालाई सहर छाड्न दिएको म्याद लगभग सकिएको छ । यतिबेला हजारौं प्यालेस्टिनी बालबच्चा र सरसामानसहित दक्षिणी गाजातर्फ गइरहेका छन् । आफ्नो थातथलो छाडेर सुरक्षित स्थानतर्फ गइरहेको प्यालेस्टिनी चढेको गाडीमा इजरायली आक्रमणसमेत भएको छ, जसमा २ देखि ५ वर्षका बालबालिका मारिएको बीबीसीले उल्लेख गरेको छ । उत्तरी गाजा र दक्षिणी गाजामा गरी करिब २२ लाख मानिसको बसोबास छ ।

यस्तै, शुक्रबार अबेर उत्तरी गाजा क्षेत्रबाट निस्किएको प्यालेस्टाइनीको समूहमाथि इजरायलले आक्रमण गरेको बीबीसीले पुष्टि गरेको छ । बीबीसीका अनुसार सलाह–अल–दिन सडकमा आक्रमण भएको थियो, जसमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । मर्नेमा अधिकांश महिला तथा बालबालिका छन् । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले भने यो घटनामा ७० जनाको मृत्यु भएको दाबी गरेको छ । इजरायलले भने यो घटनाबारे जाँच गरिरहेको बताएको छ ।

युद्धमा सर्वसाधारण मात्र होइन, रिपोर्टिङ गरिरहेका पत्रकारसमेत मारिएका छन् । इजरायली मिसाइल आक्रमणमा रोयटर्सका सहित ११ पत्रकारको मृत्यु भएको छ । इजरायलबाट हानिएको मिसाइल आक्रमणमा दक्षिणी लेबनानमा शुक्रबार रोयटर्सका भिडियो पत्रकार इसाम अब्दुल्लाहको मृत्यु भएको हो । रोयटर्सका अनुसार अल्मा अल–साबनजिकैको आक्रमणमा अल जजिरा र एएफपीका पत्रकारसमेत घाइते भएका छन् । आक्रमणमा ६ जना पत्रकार घाइते भएको समाचारमा उल्लेख छ । इजरायली सेना र हिजबुल्लाहबीच सीमामा लडाइँका क्रममा पत्रकारहरू आक्रमणमा परेका हुन् । लेबनानका प्रधानमन्त्री नजिब मिकाती र हिजबुल्लाह नेताहरूले घटनामा इजरायल जिम्मेवार रहेको बताएका छन् ।

इजरायली सेनाले भने घटना दुःखद् भएको बताएको छ । इजरायली सेनाले मृत्युको जिम्मा भने लिएको छैन । इजरायली सेनाका प्रवक्ता रिचर्ड हेचले घटनाको अनुसन्धान गरिरहेको जनाएका छन् । त्यस्तै राष्ट्रसंघका लागि इजरायली राजदूत गिलाड इर्दान युद्धमा यस्ता घटना हुने बताएका छन् । उनले भनेका छन्, ‘निश्चय पनि हामी काम गरिरहेका कोही पत्रकारलाई गोली हान्न वा मार्न चाहँदैनौं । तर तपाईंलाई थाहा नै छ, हामी युद्धमा छौं, घटना हुन सक्छ ।’

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) का अनुसार युद्धमा मारिनेमा ९ प्यालेस्टिनी, एक लेबनानी र एक इजरायली पत्रकार छन् । इजरायली हवाई आक्रमणमा प्यालेस्टाइनबाट सञ्चालित अल खाम्सा न्युजका प्रधानसम्पादक सइद अल तविलसमेत मारिएका छन् । त्यस्तै अर्का प्यालेस्टिनी पत्रकार मोहम्मद सोभसमेत मारिएको सीपीजेले जनाएको छ । त्यस्तै इजरायली फोटो पत्रकार रोई इदान बेपत्ता रहेको पनि न्युयोर्क टाइम्सले जनाएको छ । टाइम्स अफ इजरायलका अनुसार उनी र उनकी छोरीलाई हमासले बन्धक बनाएको आशंका गरिएको छ ।

कमिटीले युद्धमा अरू पत्रकार परे/नपरेकोबारे अनुसन्धान गरिरहेको पनि जनाएको छ । सीपीजेका मध्यपूर्वका संयोजक शरिफ मन्सुरले गाजामा पत्रकारहरू परिवारका सदस्य घाइते र मारिएको अवस्थामा समेत सूचना संकलनमा खटिइरहेको बताएका छन् । उनले भनेका छन्, ‘उनीहरू सबैभन्दा जोखिममा छन् तर अहिले तिनीहरूकै बढी खाँचो छ । अहिलेका दृश्य बताउने हाम्रा आँखा उनीहरू नै हुन् ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर