नेभिगेसन मेनु

इजरायलमा हमासको हमलामा १० नेपाली विद्यार्थीले गुमाए ज्यान, एक अझै बेपत्ता
सम्पादक:南亚网络电视
समय:2023-10-09 13:50

04209b68

इजरायल र प्यालेस्टाइनको सीमावर्ती सहर गाजामा शनिबार हमास समूहले गरेको हमलामा किबुजस्थित कृषि फार्ममा इन्टर्नमा रहेका १० नेपाली विद्यार्थीको निधन भएको छ । बिएस्सी एग्रिकल्चर अध्ययन गरेर ‘लन एन्ड अर्न’ कार्यक्रमअन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न एक महिनाअघि मात्रै इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका ४९ मध्ये १० विद्यार्थीको ज्यान गएको हो । एक विद्यार्थी अझै बेपत्ता छन् ।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले आइतबार किबुज अलुमिम फार्ममा रहेका नेपाली विद्यार्थीको निधन भएको पुष्टि गरेकी छिन् । मृतकको शव स्वदेश लैजान तथा त्यहाँ रहेका नेपालीको उद्धारका लागि छलफल भइरहेको जानकारी दिइन् । इजरायलको राजधानी तेलअभिभबाट राजदूत रिजालले नयाँ पत्रिकासँग टेलिफोनमा भनिन्, ‘१० नेपाली विद्यार्थीको दुःखद निधन भएको छ । उहाँहरूको शव स्वदेश लैजान र उद्धार गर्नुपर्ने नेपालीको उद्धारका लागि छलफल भइरहेको छ ।’ 

नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयलाई मृतक, घाइते र बेपत्ता भएका नेपालीको सूची पठाएको छ । परराष्ट्र मन्त्रालयले प्राप्त गरेको सूचीअनुसार कैलालीको घोडाघोडी नगरपालिका– ४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी नगरपालिका– ६ का गणेशकुमार नेपाली, कैलाली बौनियाँका आशिष चौधरी, दार्चुलाको लेकम गाउँपालिका– ५ का दीपेशराज विष्टको मृत्यु भएको छ ।

त्यस्तै, डोटीको तत्कालीन पचनली गाविस– ३ का राजन फुलारा, डोटीकै तत्कालीन लामिखाल गाविस– ८ का पदम थापा र सल्यानको शारदा नगरपालिका– ३ का प्रवेश भण्डारीको मृत्यु भएको छ । त्यस्तै, दार्चुलाको मालिकार्जुन नगरपालिका– ४ का लोकेन्द्रसिंह धामी, धनुषाको तत्कालीन सपही गाविस– ६ का आनन्द साह र सुनसरीको तत्कालीन मधुवन गाविस– १ का राजेशकुमार स्वर्णकारको मृत्यु भएको छ । 

परराष्ट्रले भने मृतकहरूको सूची सोमबार मात्रै सार्वजनिक गर्ने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले आइतबार प्रतिनिधिसभामा इजरायलको घटनाबारे जानकारी दिने क्रममा केही नेपाली हताहती भएको बताए पनि विस्तृत खुलाएका थिएनन् । परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई घटनाको पुनः पुष्टि गर्न निर्देशन दिएको छ ।

सल्यानको त्रिवेणी गाउँपालिका– १ का प्रमोद केसी र कैलालीको भजनी–त्रिशक्ति नगरपालिका– ४ का वीरेन्द्र चौधरीलाई उद्धार गरेर राजधानी तेलअभिभतर्फ पठाइएको छ । अर्को सहरमा रहेका, तर सुदूरपश्चिम विश्वविद्यालयको त्यही समूहमा इजरायल गएका कञ्चनपुरका भीमदत्त नगरपालिका– ३ का विपिन जोशी अहिलेसम्म सम्पर्कमा आएका छैनन् । 

b9d55d03-ca52-49a9-bf05-584ecf6b15ea08102023134236.jpg

ग्रिनेडको छर्रा लागेका चार विद्यार्थी भने अस्पतालमा उपचाररत छन् । शारदा– २ सल्यानका विधान सेजवाल, दाङको दंगीशरण गाउँपालिका– ३ का रविन डाँगी, कैलालीको टीकापुर नगरपालिका– ९ का धनबहादुर चौधरी र गोरखाको गोरखा नगरपालिका– ८ का हिमाञ्चल कट्टेलको अस्पतालमा उपचार चलिरहेको छ । उनीहरू चारैजनालाई सोमबार उद्धार गरेर राजधानी तेलअभिभ ल्याउने तयारी भइरहेको छ । भण्डारीले टेलिफोनमा भने, ‘हामी सबै तेलअभिभ जाने तयारीमा छौँ ।’ 

इजरायलस्थित नेपाली राजदूतावास (नियोग) उपप्रमुख अर्जुन घिमिरेले विद्यार्थीसँग समन्वय गरेका छन् । घिमिरेले तेलअभिभबाट स्वदेश फर्किने बन्दोबस्तका लागि चिन्ता नलिन र सुरक्षित रूपमा राजधानी पुग्न वा परिस्थिति हेरेर आफू बसेकै ठाउँमा सुरक्षित रहन आग्रह गरेको बताए । आइतवार पनि घिमिरेले विद्यार्थीसँग भिडियो कलमार्फत जानकारी लिएका थिए ।

उनीहरूसहित सुदूरपश्चिम विश्वविद्यालयका ४९ जनाको समूह २७ भदौमा नेपालबाट इजरायल गएको थियो । नेपाल र इजरायलबीच भएको सम्झौताअनुसार उनीहरू कृषि कार्यका लागि गएका हुन् । परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा सरकारले गठन गरेको समन्वय संयन्त्रको बैठक सोमबार बिहान ९ बजे परराष्ट्र मन्त्रालयमा बोलाइएको छ । बैठकपछि इजरायलमा नेपालीहरूको मृत्युलगायत विषयमा परराष्ट्रले विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । परराष्ट्रका सहसचिव शरदराज आरणले समन्वय संयन्त्रमा रहेका सबैलाई अनिवार्य उपस्थितिका लागि सूचना जारी गरेका छन् । 

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा १० नेपाली विद्यार्थीको निधन भएको घटनाबारे छलफल गर्न सोमबार सर्वदलीय बैठक बोलाएका छन् । बिहान ८ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 

कृषि क्याम्पस रामपुरका विद्यार्थीको उद्धारको माग

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनबाट इजरायलमा कृषि कार्य अध्ययन कार्यक्रममा पुगेका विद्यार्थीको उद्धारको माग गरिएको छ । रजिस्ट्रार शारदा थपलियाका अनुसार सन् २०२२ गएका ६ जना र २०२३ मा गएका एक सय १३ जना गरी एक सय १९ जना विद्यार्थी सकुशल रहेको जानकारी प्राप्त भएको छ ।

तर, इजरायलको दक्षिणी क्षेत्रमा हमला जारी रहेकाले उनीहरूको उद्धारको माग विश्वविद्यालयले गरेको हो । विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले आइतबार विज्ञप्ति जारी गरेर विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न विश्वविद्यालयले सरकारका विभिन्न निकाय तथा रमाट नेगेभ इन्टरनेसनल ट्रेनिङ सेन्टरलाई अनुरोध गरेको उल्लेख छ । विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहिराखेको बताउँदै थपलियाले स्थानीय सुरक्षा प्रणालीबाट अनुरोध भएबमोजिमका सुरक्षाका उपाय अपनाउन र सजक रहन अनुरोध गरेको बताइन् ।

नेपाल फर्केर लोकसेवा लड्ने राजनको सपना इजरायलमै बिलायोे 

डोटीको शिखर नगरपालिका– ५ पचनालीका राजन फुलाराको नेपालमा आएर लोकसेवा लड्ने सपना इजरायलमै बिलाएको छ । सुदूरपश्चिम विश्वविद्यालयको बिएस्सी एजीका विद्यार्थीका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न इजरायल पुगेका राजनले एक हप्ताअघि आफ्ना काका राजेन्द्र फुलारासँग भिडियोमा कुरा गर्दै आफू नेपाल आएर लोकसेवा आयोगको तयारी गर्ने योजना सुनाएका थिए । तर, इजरायलमा भएको हमलामा उनको ज्यान गएको छ ।  

राजनसँगको कुराकानी सम्झँदै राजेन्द्रले भने, ‘यहाँ त केही सिक्ने हो अंकल, गर्ने त आफ्नै देशमा हो, नेपाल आएर लोकसेवाकै तयारी गर्छु ।’  जिल्ला अस्पताल डोटीमा कार्यरत  काका राजेन्द्रसँग मोबाइलको क्यामेरा फर्काउँदै राजनले भनेका थिए,  ‘ऊ त्यही हो अंकल गाजा, यहाँ जतिवेला पनि आक्रमण हुन सक्छ, हामीलाई हमला हुनेबित्तिकै बंकरमा बस्न पनि सिकाइएको छ ।’ छोरा गुमेको खबरले बुबा घनश्याम विक्षिप्त बनेर बेहोस अवस्थामा छन् ।  घनश्याम ऋण सापट गरेर छोरालाई उच्च शिक्षा पढाइरहेका थिए  ।  

इजरायलको किबुज अलुमिमबाट नरेशसिंह भण्डारी भन्छन्– बंकरभित्र त्रासमा छौँ, बाहिर गोली चलेको आवाज सुनिरहेका छौँ 

सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना इन्टर्न गर्न एक महिनाअघि इजरायल आएका हौँ । हामीलाई यहाँ विभिन्न समूहमा राखिएको थियो । हामी ११ जनाको समूह किबुज अलुमिम भन्ने ठाउँमा छौँ । शनिबार बिहानैदेखि हामी बंकरमा बसेका छौँ । बाहिर गोलाबारी पड्केको आवाज आइरहेको छ । किबुजको अर्को ठाउँमा १७ जनाको समूहमा साथीहरू बस्नुभएको थियो । उहाँहरू हिजै गोलीको निसानामा पर्नुभएको रहेछ, १० जना रहनुभएन । १० जना साथी जहाँ बित्नुभयो, त्यहीँ भाग्यले दुईजना साथीहरू बाँचेर फुत्किनुभएछ । उहाँहरू तेलअभिभतर्फ जाँदै हुनुहुन्छ । एकजना साथी हराउनुभएको छ । मृत्यु भएका १० जना साथी शनिबार बिहानैदेखि सम्पर्कमा हुनुहुन्थेन । 

हामी त्रासमा छौँ । बंकरमा जसोतसो खाएर बाँचेका छौँ । बाहिर गोली चलेको आवाज सुनिरहेका छौँ । खासमा रकेट मात्रै प्रहार भएको हुन्थ्यो भने हामीलाई चिन्ता हुने थिएन । आतंककारीहरू इजरायलको बोर्डर भत्काएर, प्यारासुटबाट उत्रेर, पानीबाट तरेर आएका छन् । उनीहरू घरघरमा पसेर मानिसलाई गोली हानिरहेका छन् । यसले त्रासदी थपेको छ, कसको कतिवेला के हुन्छ भन्ने अनिश्चित छ । हामीलाई उद्धारका विषयमा नेपाली राजदूतावासका उपनियोग प्रमुख अर्जुन घिमिरेले समन्वय गरिरहनुभएको छ । यहाँबाट सुरक्षित रूपमा राजधानी तेलअभिभ कसरी पुग्ने भनेर सरसल्लाह गरिरहेका छौँ । आइतबार तुलनात्मक रूपमा परिस्थिति सहज देखिएको हुनाले हामी यहाँबाट सोमबार बाहिरिने विषयमा सल्लाह गरिरहेका छौँ । तेलअभिभ पुगेपछि दूतावाससँग सम्पर्कमा रहन्छौँ । उहाँहरूले स्वदेश फर्किने विषयमा चिन्ता नगर्नू भन्नुभएको छ । 

परराष्ट्रमन्त्रीद्वारा सदनलाई जानकारी:  इजरायलमा छन् ४७६५ नेपाली 

इजरायलमा हमासको आक्रमणपछि त्यहाँ रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री एनपी साउदले सदनलाई जानकारी गराएका छन् । उनका अनुसार हाल इजरायलमा चार हजार पाँच सय नेपाली केयरगिभरको रूपमा कार्यरत छन् । त्यस्तै, २६५ विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययन गरिरहेका छन् । कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इजरायल गएको मन्त्री साउदले बताए । सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ विद्यार्थी दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत छन् । यो स्थान गाजा क्षेत्रनजिक रहेको र त्यहाँ हमास समूहबाट गम्भीर आक्रमण भएको थियो । 

सरकारले बनायो समन्वय संयन्त्र

इजरायलमा रहेका नेपालीको अवस्था पहिचान र उद्धारका लागि सरकारले परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा सबै सरोकारवाला निकाय सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरेको छ । ‘यस संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपालीको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायत सम्पूर्ण कार्यहरू गर्नेछ,’ मन्त्री साउदले सदनमा भने । 

आक्रमणपछि नेपालीको अवस्था बुझ्न तथा उनीहरूको सुरक्षाको प्रत्याभूति गर्न परराष्ट्रले आफ्नो संयन्त्र एवं सम्पर्क परिचालन गरेको मन्त्री साउदले बताए ।

नेपाली दूतावासलाई नेपालीको उद्धार गर्न, त्यहाँको वस्तुस्थितिको जानकारी गराई सुरक्षित रूपमा रहन, इजरायल सरकारले जारी गरेको सुरक्षा निर्देशन तथा नियम पालना गर्नका लागि जानकारी गराउन निर्देशन दिइसकेको उनले जानकारी गराए । ‘नेपाली राजदूतावासले इजरायलमा रहेका नेपालीलाई आवश्यक जानकारी सम्प्रेषण गर्ने, इजरायल सरकारसँग समन्वय गरी आवश्यक उद्धार र घाइते भएका नेपाली नागरिकको उपचारका लागि पहलकदमी लिइरहेको छ,’ उनले भने । सरकार इजरायलमा रहेका नेपालीलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्नका लागि पूर्ण प्रतिबद्ध रहेको मन्त्री साउदको भनाइ छ । 

इजरायलमा रहेका ११९ नेपाली विद्यार्थीलाई स्थानान्तरण गरिँदै छ: कृषि विश्वविद्यालय

इजरायलमा रहेका आफ्ना ११९ जना विद्यार्थी सकुशल रहेको चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले  जानकारी दिएको छ ।

विश्वविद्यालयकी रजिस्ट्रार प्राध्यापक डा. शारदा थपलियाले आइतबार  एक प्रेस विज्ञप्ति जारी गर्दै  ती विद्यार्थीलाई  स्थानान्तरणको प्रयास भइरहेको जानकारी दिनुभएको छ ।

कामसँगै अध्ययन गर्ने कार्यक्रम अन्तर्गत इजरायलमा ११९ जना विद्यार्थी सकुशल छन् उहाँले भन्नुभएको छ “इजरायलमा भएको अतङ्ककारी हमलाको खेद प्रकट गर्दै विश्वविद्यालयबाट २०२३ मा इजरायल गएका ११३ जना र २०२२ मा गएका ६ जना गरी ११९ जना विद्यार्थी सकुशल हुनुहुन्छ ।  “ विभिन्न सरोकारवाला निकायहरूलाई अनुरोध गरेर सुरक्षित स्थानमा स्थानान्तरणको प्रयास भइरहेको  विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।

विज्ञप्तिमा भनिएको छ, ‘ हालसम्म हामीलाई प्राप्त सूचना अनुसार विश्वविद्यालयका विद्यार्थीहरू इजरायलमा सकुशल रहेको जानकारी मिलेको छ । यस अप्ठ्यारो अवस्थामा विद्यार्थीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल सरकार प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपालस्थित इजरायलको राजदूतावास एवम् इजरायलस्थित नेपाली राजदूतावासलाई जानकारी दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक सहयोगको लागि अनुरोध गर्ने काम भइराखेको छ ।

यस अवस्थामा हामी विद्यार्थीहरूसँग निरन्तर सम्पर्कमा रहिराखेको र स्थानीय सुरक्षा प्रणालीबाट अनुरोध भए बमोजिम सुरक्षाका उपायहरू अपनाउन र सजग रहन अनुरोध गरिरहेका छौँ ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर