नेभिगेसन मेनु

भूकम्प प्रभावितलाई पठाइयो राहत सामग्री
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-07 12:43

Untitled-1

कात्तिक २१ गते । बुटवल उपमहानगरपालिकाले कर्णाली प्रदेशका भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री पठाएको छ । उपमहानगरपालिकामा बसेको विपत् व्यवस्थापन समितिको बैठकले गरेको निर्णय अनुसार चामल, दाल, तोरीको तेल, नुन, सोयाबिन, ब्लाङ्केट र म्याट गरी एक ट्रक सामान जाजरकोट पठाइएको छ । 

उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले एकद्वार प्रणालीमार्फत राहत सामग्री हस्तान्तरण गर्ने निर्णय अनुसार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत जाजरकोट पुग्ने गरी राहत सामग्री हस्तान्तरण गर्नुभएको हो । राहत सामग्री हस्तान्तरण गर्दै प्रमुख पाण्डेयले उपमहानगरपालिकाले २५ लाख रुपियाँ, जनप्रतिनिधिले थप पाँच लाख रुपियाँ र कर्मचारीको तर्फबाट समेत सहयोग गर्ने निर्णय भएको बताउनुभयो । 

उहाँले बुटवलभित्रका सामाजिक सङ्घ संस्थाहरूलाई एकद्वार प्रणालीमार्फत राहत सामग्री पठाउने व्यवस्था भएकाले सोही अनुसार गर्नका लागि आह्वानसमेत गर्नुभयो । अव्यवस्थित रूपमा राहत सामग्री पठाउँदा वास्तविक प्रभावितसम्म पुग्न नसकेको र अन्योल सिर्जना हुने भएकाले एकीकृत रूपमा राहत सामग्री सङ्कलन गरी पठाउने व्यवस्था मिलाइएको प्रमुख पाण्डेयले बताउनुभयो ।

राहत सामग्री लिएर उपमहानगरपालिकाका दुई जना कर्मचारी र दुई जना पत्रकार जाजरकोट प्रस्थान गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले बताउनुभयो । उपमहानगरपालिकाकै स्रोतबाट एक ट्रक राहत सामग्री पठाइएको र बुटवलका सङ्घ संस्थाहरूको राहत सामग्री सङ्कलन भएपछि पुनः सामग्री पठाइने बताइएको छ । 

भूकम्पका घाइतेलाई परामर्श सेवा

खजुरा समाचारदाताका अनुसार भूकम्पमा परी घाइते भई उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पताल ल्याइएका जाजरकोट र रुकुमपश्चिमका बिरामीका लागि अस्पतालले थप परामर्श तथा उपचार सेवा सुरु गरेको छ । भूकम्पबाट चोटपटक लागी घाइते भएका बिरामी, परिवारका सदस्यहरू गुमाएका बिरामी तथा परिवारका सदस्य र कुरुवाहरूका लागि सोमबारबाट अस्पतालमै मनोसामाजिक परामर्श तथा उपचार सेवा सुरु गरिएको छ । 

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार उक्त उपचार सेवाका लागि मानसिक रोग विशेषज्ञ र मनोसामाजिक परामर्श तालिम प्राप्त दुई जना चिकित्सक र एक जना नर्सको व्यवस्था गरिएको छ । 

कन्सल्टेन्ट साइक्याट्रिक चिकित्सक डा. लीला देवकोटा, कन्सल्टेन्ट साइक्याट्रिक चिकित्सक डा. प्रदीप रेग्मी र मनोसामाजिक परामर्शदाता नर्स कमलाकुमारी डाँगीले बिरामी तथा कुरुवा र आफन्तलाई सो उपचार सेवा सुरु गरेको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । भूकम्पमा परेका घाइते, आफन्त तथा कुरुवालाई पर्न सक्ने मानसिक आघातबाट बचाउन मनोसामाजिक परामर्श उपचार सेवा सुरु गरिएको उहाँले बताउनुभयो । भूकम्पमा परी घाइते भएकामध्ये बाँकेका एक जना, जाजरकोटका २८ जना, सल्यानका एक जना र रुकुमपश्चिमका १३ गरी ४३ जनालाई उपचारका लागि बाँकेमा ल्याइएको थियो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर