हेटौँडा । भदौ २४ गतेको आन्दोलनमा बागमती प्रदेश सरकारअन्तर्गत खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय पनि जलेर नष्ट भयो ।
हेटौंडा–१ स्थित चौकीटोल आरालोमा रहेको उक्त मन्त्रालयमा प्रदर्शनकारीले आगो लगाएर खरानी पारे । एउटै भवनमा रहेका ४ मन्त्रालय जलेर नष्ट हुँदा सोही भवनमा रहेको भुइँ तलाको आधा र पहिलो तलाको आधा भागमा रहेको उक्त मन्त्रालय यतिवेला क्षतविक्षत अवस्थामा छ । खण्डहर बनेको यस मन्त्रालको प्रारम्भिक क्षति अनुमान ५ करोड रुपैयाँभन्दा बढी छ ।
मन्त्रालयका सचिव इन्द्रदेव भट्टका अनुसार आगलागीका कारण मन्त्री र सचिवले प्रयोग गर्दै आएका पाँच वटाबाहेक सबै कोठा र अधिकांश कागजपत्रहरू जलेका छन् । त्यस्तै पाँच वटा सवारीसाधन जलाइएका छन्, जसमा २ वटा चार पांग्रे सवारीसाधन छन् भने ३ वटा सरकारी तथा निजी मोटरसाइकल र स्कुटरहरू छन् ।
मन्त्रालयको लेखा, प्रशासन, स्टोर लगायतका शाखाहरू जलेका छन् । उक्त स्थानमा रहेका कागजातसहित २ वटा ल्यापटप र ९ वटा कम्प्युटर तथा प्रिन्टरहरूमा क्षती पुगेको उनले बताए । मन्त्रालयमा रहेका फर्निचर तथा मेसिन औजारहरू तोडफोर्ड गरिएका छन् भने ९ सेट सोफाहरू जलेका छन् ।
मकवानपुरको सिँचाइ डिभिजनको क्वाटरबाट सेवा दिइने
मन्त्रालयले तत्कालीन अवस्थामा अस्थायी रूपमा मकवानपुरको सिँचाइ टोलमा रहेको सिँचाइ डिभिजनको कार्यालयको क्वाटरबाट काम थाल्ने तयारी गरेको छ । सोहीअनुसार मन्त्रालयको सचिव भट्टको नेतृत्वमा कार्यालय व्यवस्थापनको काम धमाधम भइरहेको छ । सचिव भट्टका अनुसार अस्थायी रुपमा सिँचाइ डिभिजन कार्यालयको दुई वटा क्वाटर खाली गरेर मन्त्रालय राख्ने तयारी गरिएको हो ।
डिभिजन कार्यालयभित्र रहेका २ वटा क्वाटरमध्ये एउटा भवनमा मन्त्री र सचिवको कार्यकक्ष तथा अर्कोमा मन्त्रालयको महाशाखा राख्ने तयारी छ ।
सो स्थानमा तत्काल कार्यालय व्यवस्थापन गरेर सेवा प्रारम्भ गर्ने गरी तयारी भएको सचिव भनाइ छ । बिहीबार उक्त भवनको निरीक्षणपछि त्यहाँ रहेको आवास गृह (क्वाटर) व्यवस्थापनको लागि निर्देशनसमेत गरिएको उनले बताए । उक्त भवनमा सामान्य मर्मतको काम गरेर तत्काल सेवा सुचारु गर्ने तयारीमा मन्त्रालय छ ।
हाल मन्त्रालयको जल्नबाट बाँकी रहेको फर्निचर तथा काजगातहरू ल्याएर व्यवस्थापनको काम भइरहेको छ । कर्मचारीहरूका लागि आवश्यक कक्षहरू व्यवस्थापन गर्न र उपकरणहरूको व्यवस्थापन कार्य भइरहेको उनले जानकारी दिए ।
मन्त्रालय रहेको भवन मर्मतका लागि परीक्षण गर्ने कार्य भइरहेको र रिपोर्टका आधारमा व्यवस्थापनको काम थाल्ने पनि उनले बताए ।