काठमाडौं — जेन–जीको प्रदर्शन, कर्फ्यु र निषेधाज्ञाले खाद्यवस्तुलगायतको आपूर्ति प्रणालीमा प्रत्यक्ष असर परे पनि अभाव नहुने भएको छ । अत्यावश्यक वस्तुका रूपमा रहेका यी वस्तुको ढुवानीमा समस्या देखिए पनि मौज्दात पर्याप्त रहेको व्यवसायी बताउँछन् । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी, खाद्य किराना व्यवसायी संघ र खुद्रा व्यापार संघका अनुसार चामल, दाल, तेल, आँटा, मौदा, गेडागुडी पर्याप्त छ ।
‘खाद्यान्नको अवस्थाबारे चिन्ता गर्नुपर्ने अवस्था छैन । खुद्रा र होलसेल गरी एक महिनाभन्दा बढीलाई पुग्ने मौज्दात छ,’ खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भने, ‘मिल पनि नेपालमै छ । अहिले विशेष परिस्थितिले ढुवानीमा समस्या भए पनि खुलेपछि चिन्ता गर्नुपर्ने अवस्था छैन ।’ दसैं नजिकिएकाले खपत बढ्ने अुनमानमा व्यवसायीले मौज्दात राखेको उनले जनाए ।
खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले पनि खुद्रा व्यापारीले क्षमताअनुसार मौज्दात राखेकाले अभाव नहुने बताए । ‘सरकारले तोकेको समयअनुसार व्यापार गरिराखेका छौं । खुद्रामा क्षमताअनुसार १० देखि १५ दिनका लागि मौज्दात हुन्छ, बिक्रीमा समस्या छैन,’ तुलाधरले भने, ‘अहिलेको अवस्थामा खाद्यान्नमा कुनै समस्या छैन । नयाँ परिस्थितिमा चाहिनेभन्दा नथुपारौं ।’
खाद्य वस्तुमा कुनै समस्या नभएकाले मूल्य पनि नबढ्ने तुलाधरको दाबी छ । यसका लागि सरकारी नियमन जरुरी रहेको उनले बताए । ‘खुद्रा व्यापारीसँग भएको सामानमा मूल्यवृद्धि हुँदैन । सामान सकिएपछि होलसेलबाट ल्याउनुपर्छ, होलसेलले उपलब्ध गराएको मूल्यअनुसार बिक्री हुन्छ,’ तुलाधरले भने, ‘विशेष परिस्थितिमा केहीले मूल्य बढाउन सक्छन्, सजग हुन जरुरी छ ।’
खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग पनि २८ हजार टन खाद्यान्न मौज्दात छ । जसले गर्दा अभावको समस्या नआउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जनाए ।‘हामीले३२ हजार टन खाद्यान्न मौज्दात राखेका थियौं, तर आन्दोलनका क्रममा लहान गोदामबाट ५ हजार टन लुटियो,’ आचार्यले भने, ‘थापाथली, हेटौंडा, भैरहवालगायत सबै गोदाममा गरी २८ हजार टन मौज्दात छ । चाडबाडसम्म अभाव हुँदैन ।’
व्यवसायीका अनुसार तरकारी बजारमा पनि चहलपहल बढ्न थालेको छ । उपत्यकाको करिब ७० देखि ७५ प्रतिशत माग धान्दै आएको कालिमाटी फलफूल तथा तरकारी बजारमा बिहीबार करिब २५ प्रतिशत कारोबार भएको छ । बिहान १० बजेसम्म बजार खुलेपछि तरकारी बजारमा कारोबार बढेको छ । ‘तरकारी बजारमा रहेको तरकारीहरू बिक्री भएको छ । शुक्रबारका लागि रातिदेखि तरकारी आएको छ,’ तरकारी फलफूल व्यवसायी महासंघका महासचिव भरत खतिवडाले भने, ‘अब बिस्तारै सहज हुने अनुमान छ ।’
व्यवसायीका अनुसार सार्वजनिक सवारीसाधन नचल्दा किसानले तरकारी टिपेनन् । सोही कारण बुधबार तरकारी बजारमा तरकारी आएन । बिहीबार केही खुकुलो भएकाले शुक्रबारदेखि कारोबार हुने महासंघको भनाइ छ ।
‘मकवानपुर, काठमाडौं, धादिङ र काभ्रेमा टिपेको करिब २ सय टन तरकारी आएको थियो । सोही तरकारी बिहीबार बिक्री भएको छ,’ कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितीका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘किसानको बारीमा तरकारी छ, बजारमा आउन सकेन । सम्भवतः शुक्रबारदेखि केही सहज हुन सक्ला ।’
दुग्ध पदार्थको आपूर्ति पनि सहज बन्दै
अत्यावश्यक वस्तुका रूपमा रहेको दुग्ध पदार्थको आपूर्ति सहज बन्दै गएको छ । दुग्ध विकास संस्थान (डीडीसी) र डेरी उद्योग संघका अनुसार बजार आपूर्तिमा कुनै समस्या छैन । तर कर्फ्यु र निषेधाज्ञाका कारण खुद्रा या किराना पसलबाट सर्वसाधरणलाई बिक्रीमा समस्या छ ।
‘सामान्य अवस्थामा डीडीसीले उपत्यकामा दैनिक ६८ हजारदेखि ७० हजार लिटर दूध बिक्री गर्दै आएको छ । बिहीबार करिब ६२ हजार लिर दूध बिक्री भएको छ,’ डीडीसीका निमिक्त महाप्रबन्धक सञ्जीव झाले भने, ‘अत्यावश्यक वस्तु भएकाले आपूर्तिमा समस्या देखिएको छैन । तर पसलबाट सर्वसाधरणलाई बिक्रीमा समस्या देखियो । बिक्री गरेको दूध फिर्ता आउने समस्या बढ्यो ।’
मंगलबार केही समस्या देखिए पनि बुधबारदेखि सबै जिल्लाबाट दूध आएको छ । किसानको दूध पनि बिस्तारै उठेको छ । डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले पनि किराना पसल, चिया पसल, होटल बन्द हुँदा डेरीबाट दूध बिक्री हुन नसकेको जनाए ।
‘अन्डा बिक्रीमा समस्या छैन, ढुवानी गर्न पाएनौं’ नेपाल लेयर्स कुखुरापालक संघले अन्डा बिक्रीमा समस्या नभए पनि ढुवानीमा समस्या उत्पन्न भएको जनाएको छ । सवारी साधन भएका केही व्यवसायीले आफैं ढुवानी गरे पनि अन्यको हकमा भाडाका ढुवानी साधन समेत नपाइएको संघका सचिव मदन पोखरेलले बताए ।
‘निषेधाज्ञाले ढुवानीमा अवरोध भयो । आफ्नै स्रोत भएका केही साथीले ढुवानी गरेका पनि छन् । तर भाडाका सवारी पाएनौं,’ सचिव पोखरेलले भने, ‘अहिलेको अवस्थामा उत्पादनमा समस्या छैन । ३/४ दिनलाई पुग्ने मौज्दात पनि छ । तर ढुवानी गर्न सकेनौं ।’