काठमाडौँ — जेन–जीको आन्दोलनपछि पहिलो दिन बिहीबार खुलेको बजार (नेप्से) मा १६० अंकको ‘पहिरो’ गएको छ । आन्दोलनका कारण भदौ २४ देखि नेप्से बन्द गरिएको छ । १० दिनपछि बिहीबार सेयर बजार खुल्यो, जसमा अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ६ प्रतिशतले घटेर २ हजार ५ सय ११.९१ बिन्दुमा ओर्लेको छ ।
बिहीबार मात्र नेप्से १६०.३३ अंकले घटेको छ । एकै दिन यति धेरै अंकले नेप्से घटेको इतिहासमै यो पहिलो पटक हो । २०८१ साउन २२ मा नेप्से एकै दिन १४५.०५ अंकले घटेको थियो ।
नेप्से बढेको दिनमा भने एकै दिन १६१.९४ अंकको वृद्धि भएको छ । ०७८ भदौ २१ म एकै दिन बढेको नेप्सेको थियो । बिहीबार बजार खुलेको पहिलो दुई मिनेटमा नेप्से ४ प्रतिशतले घटेपछि २० मिनेटका लागि सर्किट ब्रेकरमार्फत सेयर कारोबार बन्द गरिएको थियो । त्यसपछि ११ः२२ मा बजार खुल्यो । बजार खुलेको पहिलो मिनेटमा नेप्से ५ प्रतिशतले घट्यो । ११ः२३ मा दोस्रो सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागि कारोबार रोकियो । त्यसपछि खुलेको बजार ६ प्रतिशतले घटेपछि १२ः०६ मा तेस्रो सर्किट ब्रेकरमार्फत कारोबार बन्द गरिएको नेप्सेले जनाएको छ । बजार बन्द हुँदा नेप्से १ सय ६० अंकले घटेर २ हजार ५ सय ११.९१ बिन्दुमा ओर्लिएको छ ।
सेयर बजारमा हुने अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न नेपाल स्टक एक्सचेन्जले २०६४ सालदेखि सर्किट ब्रेकरको व्यवस्था गरेको छ । २०६४ अघि सेयर बजारमा एकै दिन जति पनि घटबढ हुन सक्ने व्यवस्था थियो । हालको व्यवस्थाअनुसार बजार खुलेको पहिलो घण्टामा नेप्से चार प्रतिशतले बढ्दा या घट्दा सर्किट ब्रेकरमार्फत २० मिनेटका लागि कारोबार रोकिन्छ । त्यसपछि खुलेको बजार एक घण्टाभित्र ५ प्रतिशतले बढ्दा या घट्दा दोस्रो सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागि कारोबार रोकिन्छ । त्यसपछि खुलेको बजार एक घण्टामा ६ प्रतिशतले बढ्दा या घट्दा दिनभरकै लागि कारोबार स्थगित गरिन्छ ।
यसकारण एकै दिन नेप्से परिसूचक ६ प्रतिशतभन्दा बढी बढ्न वा घट्न सक्दैन । समग्र बजारमा मात्रै होइन, सर्किट ब्रेकरको व्यवस्था नेप्सेले कम्पनीहरूमा समेत लगाएको छ । कुनै कम्पनीको सेयर मूल्य १० प्रतिशत घटबढ भए सर्किट ब्रेकरमार्फत नियन्त्रण गर्दै आएको छ । बिहीबार ७ हजार ३ सय ३५ पटक मात्र सेयर कारोबार भए । ती कारोबारमा ९ कम्पनीको मात्र सेयर मूल्य बढ्यो, २ सय १७ वटाको घट्यो । छोटो अवधिमा पनि १७ लाख ५२ हजार ७ सय ८१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ७२ करोड ८७ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि घटेको हो ।
उक्त दिन व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै ९.३४ प्रतिशत घट्यो । यस्तै, अन्य उपसमूहको परिसूचक ७.४८, होटल तथा पर्यटनको ७.२४ र लगानीको ७.१८ प्रतिशत घटे । बिहीबार बैंकिङ उपसमूहको परिसूचक ५.५२, विकास बैंकको ५.१३, वित्त कम्पनीको ४.५२, जलविद्युत्को ५.४०, जीवन बिमाको ६.६६, उत्पादन तथा प्रशोधनको ५.०२, लघुवित्तको ४.०८ र निर्जीवन बिमाको ५.४२ प्रतिशत घटेको नेप्सेले जनाएको छ । बिहीबार १६ वटा कम्पनीको मूल्य १० प्रतिशत घटेको छ ।