नेभिगेसन मेनु

एसियाली खेलकुद आजदेखि
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-09-23 14:02

१९औं एसियाली खेलकुद हुने मुख्य खेलस्थल हाङचउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियम ।

हाङचउ — एसियाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो आकारको प्रतियोगिता शनिबारदेखि चीनको उत्तर दक्षिणी सहर हाङचउ सहरमा सुरु हुँदै छ । कोरोना प्रकोपका कारण एक वर्षपछि सरेको प्रतियोगिताको सफल आयोजना गर्दै चीनले भन्न चाहेको छ, ‘हामी कति धेरै सुरक्षित छौं र हामीले कति धेरै प्रगति गरेका छौं ।’ 

चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङचउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच प्रतियोगिता उद्घाटन गर्नेछन् । चिनियाँ मिडियाका अनुसार सीले प्रतियोगिताको सफल आयोजनाका लागि व्यक्तिगत रुचि देखाउँदै लगातार निर्देशन पनि दिइरहेका छन् । अन्य धेरै राष्ट्राध्यक्ष र सरकार प्रमुखसँगै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

प्रतियोगिताकै लागि भनेर पूरा हाङचउ सहर सिंगारिएको छ र यसक्रममा चीनले बाँकी विश्वलाई भन्न चाहेको छ, ‘मुटुदेखि मुटुसम्म भविष्य’ का लागि । यसपल्ट प्रतियोगितामा ४५ देशका १२ हजारभन्दा बढी खेलाडीको सहभागिता रहनेछ, यो एसियाली खेलकुदमा अहिलेसम्मको कुनै पनि सहभागिताभन्दा बढी हो । चीनमा आयोजना हुन लागेको यो तेस्रो एसियाली खेलकुद हो । यसअघि बेइजिङ र ग्वाङचउमा यो बृहत् खेलकुदको आयोजना भएको छ । चीन पुराना दुई संस्करणभन्दा बढी सफल र भव्य आयोजना गर्न चाहन्छ, समग्रमा १९ औं एसियाली खेलकुद ।

सन् १९५१ मा भारतको नयाँदिल्लीमा आयोजित पहिलो संस्करणबाट सुरु भएको प्रतियोगिताको यसपल्टको संस्करण यस क्षेत्रको जनसंख्या, अर्थतन्त्रको आकार र भौगोलिक कारणले पनि बृहत् मानिएको हो । खासमा यो प्रतियोगिता पछिल्लो सेप्टेम्बरमै हुनुपर्ने थियो । चीनको कोभिड प्रकोपप्रति शून्य सहनशीलताका कारण प्रतियोगिता एक वर्ष पछाडि सरेको हो । चिनियाँ सरकारले त्यही महामारीका कारण लगाइरहेको सबै प्रकारको प्रतिबन्ध भने हटाइसकेको छ ।

प्रतियोगिता आयोजना कमिटीका प्रवक्ता चेन वेइछिङले भनेका छन्, ‘हामीले यस प्रतियोगिताको आयोजनाका क्रममा धेरै चुनौती सामना गरेका छौं, तर अहिले प्रतियोगिताको पूर्ण सफलताका लागि हामी पूर्णतः तयार छौं ।’ प्रतियोगितामा ४० खेल समावेश गरिएका छन् र त्यसमा ४ सय ८१ स्पर्धा समावेश छन् । हाङचउले प्रतियोगिताका लागि भनेर ५४ खेल स्थलमा प्रयोगमा ल्याउनेछ, त्यसमध्ये १४ केन्द्र नयाँ निर्मित गरिएका हुन् । उद्घाटन स्थलको नाम ‘बिग लोट्स’ पनि छ र यहीं समापन समारोह पनि आयोजना हुनेछ । प्रतियोगिताकै लागि भनेर १० हजार क्षमताको भव्य तथा सानदार एसियाली भिलेजको पनि निर्माण गरिएको छ ।

हाङचउ छेउछाउका केही अन्य सहरले पनि केही खास–खास खेलको आयोजना गर्दै छ । सांघाईबाट बुलेट ट्रेनबाट एक घण्टाको दूरीमा रहेको हाङचउको जनसंख्या कुल १ करोड २० लाख रहेको छ र यहाँ प्राचीन बौद्ध मन्दिरहरू रहेका छन् । यसलाई पहाड र तालको सहर पनि भन्ने गरिन्छ । यहाँका बगैंचा पनि ऐतिहासिक महत्त्वका रहेका छन् । हाङचउको सबैभन्दा ठूलो परिचय यहाँको ‘वेस्ट लेक’ रहेको छ । यो अलिबाबाका ज्याक माको जन्मथलो पनि हो । प्रविधिमा निकै अगाडि रहेको हाङचउ सहर ड्राइभरविहीन बस, रोबट कुकुर र अनुहार चिन्ने प्रविधिका लागि पनि प्रसिद्ध छ ।

निमा र वीरबहादुरले अगुवाइ गर्ने

उद्घाटन समारोहमा सुरुमै गरिने मार्चपासमा एक–एक महिला र पुरुष खेलाडीले नेपालको झन्डा बोक्दै अगुवाइ गर्ने भएका छन् । नेपाल ओलम्पिक कमिटीका अनुसार महिलामा उसुकी निमा घर्तीमगर र पुरुषमा तेक्वान्दोका वीरबहादुर महराले यो ऐतिहासिक अवसर पाउन लागेका छन् । निमा पछिल्लो दुई संस्करणको दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता हुन् । यस्तै वीरबहादुरले पछिल्लो सागमा स्वर्ण जितेका थिए । उद्घाटन समारोह दुई घण्टाका हुनेछ । त्यसको सुरुमा प्रतियोगितामा सहभागी ४५ देशका खेलाडी तथा पदाधिकारीले मार्चपास गर्नेछन् ।

यसका लागि ४० मिनेट छुट्याइएको छ । त्यसपछि केही औपचारिक कार्यक्रम हुनेछन् र अन्त्यमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । नेपालले कुल २९ खेलमा सहभागिता जनाउँदै छ । सहभागी हुने खेलाडीको संख्या भने २ सय ५३ रहेको छ । नेपाली टिमका सेफ द मिसन तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले चीनमा हुन लागेको प्रतियोगितामा असल छिमेकीको नाताले यत्तिको सहभागिता स्वाभाविक र सकारात्मक रहेको बताएका छन् । उनले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै नेपाली खेलकुदका लागि यो प्रतियोगिता सिक्ने सबैभन्दा राम्रो थलो रहेको बताए ।

यस्तै नेपाल ओलम्पिक कमिटीमा उपाध्यक्ष र कार्यकारी निर्देशकसँगै नेपाली टिमको डेपुटी सेफ मिसन रहेका चतुरान्दराज वैद्यले प्रतियोगितामा नेपालको प्रदर्शन राम्रो रहने विश्वास पोखे । उद्घाटन समारोह अगाडि नै केही खेलका स्पर्धा भने सुरु भइसकेका छन् । त्यसमध्ये नेपालले पुरुष भलिबल, टेबल टेनिस र महिला फुटबलमा आफ्नो चुनौती पेस गरिरहेको छ । शुक्रबारसम्म नेपाली टिममा आधाभन्दा बढी खेलाडी, प्रशिक्षक र पदाधिकारी हाङचउ आइपुगेका छन् । उद्घाटन समारोहपछि प्रतियोगिता द्रुत गतिले अगाडि बढ्नेछ ।

... सात दशकमा दुई रजत र २२ कांस्य

नेपालले भारतमा भएको पहिलो संस्करणको एसियाली खेलकुददेखि नै यसमा सहभागिता जनाउने गरेको छ । सात दशकभन्दा लामो प्रतियोगिताको इतिहासमा नेपालले १९५४ र १९६२ को संस्करणमा भने भाग लिएको थिएन । त्यस अर्थमा अहिलेको प्रतियोगिता नेपाल सहभागी १७ औं एसियाली खेलकुद हुनेछ । नेपालले अहिलेसम्म प्रतियोगिताको इतिहासमा दुई रजत र २२ कांस्य जितेको छ । नेपालले पहिलो पदकका लागि १९८६ को एसियाली खेलकुदसम्म कुर्नॅपरेको थियो । दक्षिण कोरियाको सोलमा आयोजित प्रतियोगितामा नेपालले एकैपल्ट आठ कांस्य जितेको थियो ।

नेपालको अहिलेसम्मको उच्च प्रदर्शन दुई रजत रहेको छ । १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेकी थिइन् । यस्तै इन्डोनेसियामा भएको पछिल्लो एसियाली खेलकुदमा पनि नेपालले प्याराग्लाइडिङतर्फ रजत जितेको थियो । २०१० र २०१४ को एसियाली खेलकुदमा भने नेपाल एक–एक कांस्यमै सीमित रहनुपरेको थियो । तेक्वान्दोले सर्वाधिक १ रजत र १५ कांस्य जितेको छ । यस्तै तेक्वान्दोकै दीपक विष्ट एक्लैले दुई कांस्य जितेका छन् । हाङचउमा नेपालको पदकको सम्भावना कस्तो छ त ?

परिषद्ले तेक्वान्दो, कराँते र बक्सिङलाई पदक जित्ने सक्ने खेलमा राखेको छ । सदस्य सचिव घिसिङले यस सम्बन्धमा प्रतिक्रिया दिएका छन्, ‘एसियाली खेलकुद आफैंमा निकै ठूलो र उच्च दर्जाको रहेको छ । यसमा विश्व र ओलम्पिक च्याम्पियनहरूको सहभागिता रहने गरेको छ । त्यसैले यो प्रतियोगिता नेपाली खेलकुदका लागि सिक्ने थलो भने हो ।’ उनले ठूला प्रतियोगिताको मुखमै पदकको सम्भावनाबारे कुरा गर्नु ठीक नहुने बताए । उनले यस एसियाली खेलकुदको समाप्तिमा नेपाली खेलकुदबारे गम्भीर विश्लेषण भने आवश्यक रहने दाबी गरे ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर