बेइजिङ । भदौ २३ अर्थात सेप्टेम्बर ९ मा भारतको संघीय राजधानी नयाँदिल्लीमा जी-२० शिखर सम्मेलन हुँदैछ । विश्वका १९ वटा सबैभन्दा ठूला अर्थतन्त्र र युरोपेली संघ मिलेर बनेको जी-२० को शिखर सम्मेलनको आयोजक भएकोमा भारत ज्यादै खुशी देखिएको छ । यो खुशी भारतका जी-२० लोगो लगाएका सामान, सेवा हुँदै प्रचारप्रसारको रफ्तार हेरेर देख्न सकिन्छ । भारतले जी-२० को क्रमानुगत अध्यक्षता इन्डोनेसियाबाट पाएको थियो । दुई दिने जी-२० शिखर सम्मेलनको कार्यक्रम समापनसँगै बाज्रिलले सन् २०२३ को जी-२० आयोजना गर्न अध्यक्षमा पाउनेछ । त्यसपछि दक्षिण अफ्रिकामा सर्नेछ ।
भारत र भारतीय डायस्पोराले ज्यादै गर्व गरेर प्रचार गरेको जी-२० शिखर सम्मेलनको बारेमा बुझ्नै पर्ने सात सवाल यहाँ चर्चा गरिएको छः
१. भारतले पाएको विश्वस्तरीय कूटनीतिक सम्मेलनको अहिलेसम्मकै सबैभन्दा ठूलो अवसर
शनिबार सुरु हुने जी-२० को शिखर सम्मेलन १८औं हो । भारतले आयोजना गरेको जी-२० शिखर सम्मेलन भने यो पहिलो हो । त्यसैले भारत खुशी देखिएको छ । भारतले विश्वका शक्तिशाली र धनी देशहरुका सरकार तथा राष्ट्र प्रमुख तथा उनीहरुका प्रतिनिधिहरुलाई बोलाएर एकै मञ्चमा उतार्न पाएको यो नै अहिलेसम्मको सबैभन्दा ठूलो अवसर हो । यस अगाडि सन् १९८३ मा आयोजना भएको असंलग्न राष्ट्रहरुको सम्मेलनलाई लिने गरिएको छ । इन्दिरा गान्धी प्रधानमन्त्री भएको त्यो समयमा भारतले सातौं असंलग्न राष्ट्रहरुको सम्मेलनको अवसर पाएको थियो ।
सोभियत संघदेखि अमेरिकी कित्ता दुवैमा जोडिन नचाहने एसियाली तथा अफ्रिकी देशहरुको भेला भएकाले असंलग्न राष्ट्रहरुको प्रभाव त्यस्तो ज्यादा थिएन । भारतले सन् २०१२, २०१६ र २०२१ मा ब्रिक्स शिखर सम्मेलन पनि आयोजना गर्यो । तर, त्यो समयमा ब्रिक्सको अहिले दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको शिखर सम्मेलनको जस्तो रापताप थिएन । यस्तै भारतले सन् १९५१ मा गरेको प्रथम तथा १९८२ मा गरेको सातौं एसियाली खेलकुद संस्करण र सन् २०१० को कमनवेल्थ गेम्स भारतका ठूला विश्वस्तरीय कार्यक्रम हुन् । ती सबैभन्दा प्रभाव र प्रचारको कोणमा जी-२० नै ठूलो भएकोले अहिले ज्यादा चर्चा भएको हो ।
२. हिन्दू, हिन्दूत्व र ‘भारत’को ब्रान्ड गर्ने विश्व मञ्च
भारतमा सत्ताधारी दल भारतीय जनता पार्टी (बीजेपी) छ । बीजेपीको भावनात्मक साइनो हिन्दू धर्मसँग छ । राजनीतिक मुद्दा त्यसैको छ । यसको प्रचारमा पनि भारतले जी-२० राम्रोसँग प्रयोग गरेको छ । भारतको लोगोको नारामा वसुधैव कुटुम्बकम् नामकको वैदिक नारा दिएको छ । यस्तै उसले ‘इन्डिया’मात्रै प्रयोग नगरेर ‘भारत’ शब्दप्रयोग गरेको छ । नेपालमा भारत शब्दको प्रयोग जनमानसमा भए पनि भारतमै भने आलोचना हुने गरेको छ । जस्तो भारतका विपक्षी दलका नेता शशि थरुरले भारत प्रयोग गर्नु संवैधानिक भए पनि इन्डिया नै धेरै बिक्री भएको नाम भएको भन्दै त्यसो गर्न सामाजिक सञ्जालमा सुझाएका छन् । अंग्रेजीमा इन्डियाको नभनेर भारतका राष्ट्रपति भन्ने शब्द प्रयोग गरेको पोस्ट गर्दै थरुरले यस्तो आलोचना गरेका थिए । तर, थरुरको जस्तो मध्यमार्गी र अन्य उग्र आलोचनाहरु आए पनि बीजेपी टसमस भएको छैन । हिन्दूवादीहरु भने बीजेपीको लाइनमा खुलेर समर्थनमा आएका छन् ।
बीजेपीको हिन्दीमोहमा धेरैले साथ पनि दिएका छन् । जस्तो सन् २०२२ नोभेम्बर १६ मा बेलायती प्रधानमन्त्री ऋषि सुनकले मोदीसँग भेट भएको तस्बिर सार्वजनिक गर्दै क्याप्सन लेखेका थिए, ‘एक मजबुत दोस्ती ।’ पछिल्लो समयमा अमेरिकाको ह्वाइट हाउसमा बोल्दा मोदीले हिन्दी प्रयोग गरे । सन् २०१४ मा पहिलो पटक संयुक्त राष्ट्रसंघको महासभामा अंग्रेजी बोलेका मोदीले त्यसपछिका हरेक सम्बोधन हिन्दीमा गरेका छन् । बीजेपी र मोदीको हिन्दी र हिन्दूत्वमोहको घरमै विश्वस्तरीय प्रदर्शन गर्ने अवसर जी-२० ले दिएको छ ।
३. बीजेपी ब्राण्ड बनाउने मञ्च
जी-२० को लोगोमा कमलको फूल छ । कमलको फूलमा विश्व राखिएको छ । सत्ताधारी बीजेपीको चुनाव चिह्न पनि कमल नै हो । त्यसैले आसन्न संघ चुनाव ताकेर बीजेपीले जी-२० को सदुपयोग लोगोबाटै गरेको छ ।
४. काश्मीर मुद्दा सामान्यीकरण सन्देश
जी-२० शिखर सम्मेलन अगाडि धेरै मिटिङहरु हुन्छन् । भारतमा २०० वटाभन्दा बढी मिटिङ भए । त्यसमा एक मिटिङ पर्यटन बारेमा भारत शासित काश्मीरमा भएको थियो । ६० जना सहभागीक भएको बैठक भारततर्फको काश्मीरको राजधानी श्रीनगरमा भएको थियो । चीन र साउदी अरबले बैठक बहिष्कार गरेका थिए । विवादित भूमिमा बैठक भएको भन्दै दुई देश सहभागी भएनन् । तर, युरोपेली संघ, अन्य देशहरु सहभागी भएकाले भारतको पक्ष बलियो भएको देखाउन खोजिएको छ । सन् २०१९ अगस्टबाट केन्द्र शासनमा आएको काश्मीरमा सन् २०२३ मे मा जी-२० बैठक बसेको थियो । विश्व मिडियामा बैठक विवादित भएका समाचारहरु आएका थिए ।
५. पुटिन र सी सहभागी नहुने जी-२०
जी-२० को १८ औं शिखर सम्मेलन नयाँदिल्लीमा सुरु हुनुभन्दा दुई हप्ता अगाडि दक्षिण अफ्रिकाको शहर जोहानेसबर्गमा ब्रिक्स देशहरुको सम्मेलन हुँदा सी र मोदीको कुराकानी भएको थियो । तर, सी भारतको जी-२० शिखर सम्मेलनमा भने नजाने भएका छन् । दक्षिण अफ्रिकामात्रै होइन अगाडिको जी-२० शिखर सम्मेलनमा पनि सहभागी थिएनन् । यस पालि पनि नहुने भएका छन् । सी र पुटिन दुवैले आफ्ना प्रतिनिधिको रुपमा क्रमशः प्रधानमन्त्री र परराष्ट्रमन्त्री पठाउने भएका छन् । यसले भारतको आयोजकको रुपमा ज्यादा धेरै प्रभाव देखिन नसकेको देखाउनेछ ।
६. भारत देश र डायस्पोरा दुवै बलियो भएको समयमा जी २० सम्मेलन
अहिले अमेरिका, चीन, जापान र जर्मनीपछि भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको देश हो । पर्जेजिङ पावर प्यारिटीको आधारमा त चीन र अमेरिकापछिको तेस्रो ठूलो अर्थतन्त्र भारत हो । चन्द्रमामा अन्तरिक्ष मिसन सफल बनाउने सोभियत संघ, अमेरिका र चीनपछि भारत चौथो शक्ति भएको छ । चन्द्र मिसनपछि सूर्य मिसनमा भारत सक्रिय छ । जी-२० आयोजनाका दौरानमा यस्तो सफलता हात पारेकाले अहिले दिल्लीका सडकहरुमा चन्द्रयानका मुरलहरु प्रशस्त बनिरहेका छन् ।
देशमा मात्रै होइन डायस्पोरामा पनि भारत अहिले बलियो भएको छ । भारतीय मूलको परिवारका सन्ततिहरु धमाधम विश्वभर राजनीतिक शक्तिमा उदाइरहेका छन् । सबैभन्दा पछिल्लो उदाहरण हुन् सिंगापुरका राष्ट्रपति थर्मान सानमुगारतनाम । उनले ७०.४ प्रतिशत मत ल्याएर चुनाव जितेका छन् । उनी भारतको केरेलाबाट गएका परिवारका सन्तान हुन् ।
यस्तै बेलायती प्रधानमन्त्री ऋषि सुनक, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस भारतीय मूलकै हुन् । अहिले रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका दाबेदार विवेक रामास्वामी पनि भारतीय मूलकै हुन् । आयरल्याण्डका प्रधानमन्त्री लिओ इरिक वारादकार, पोर्चुगलका एन्टोनियो कोस्टा, मौरिससका प्रमिण जगनाथ भारतीय मूलकै हुन् ।
गुयनाका राष्ट्रपति महेम्मद इर्फान अली, सेसेल्सका वाभेल रामकलावान, सुरिनामका चन्द्रिकाप्रसाद चान सन्तोषी, क्रिस्टिन कार्ला कांगालु आदि भारतीय मूलकै राष्ट्रपतिहरु हुन् । यत्तिमात्रै होइन न्यूजिल्याण्ड, अष्ट्रेलिया, क्यानडाको राजनीतिको मूलधारमा पनि भारतीय मूलकाहरुको प्रभाव देखिने खालको छ । प्रविधिक कम्पनीहरु, व्यापारिक घरानाको नेतृत्वमा भारतीय मूलकाहरुको प्रभाव परेका कुरा आउनेमा अहिले राजनीतिमा पनि उनीहरुको जबरजस्त उपस्थिति देखिने विश्वभर संयोग परेको छ ।
७. ‘शेर्पा’ सहभागी हुने तर शेर्पाको मुख्य देश सहभागी नहुने जी-२०
जी-२० बैठकमा ‘शेर्पा’हरु सहभागी हुन्छन् । उनीहरु हिमाल चढ्ने शेर्पाहरु होइनन् । हरेक छलफल बैठकमा सबैभन्दा धेरै खट्ने कर्मचारी तथा अधिकारीहरु हुन् । जस्तो भारतका एक जी-२० शेर्पा अमिताभ कान्त हुन् । उनी भारतको नीति आयोगका पूर्वसीईओ हुन् । हिमाली शेर्पाकै विम्ब प्रयोग गरेर बनाइएका शेर्पा र शेर्पा ट्र्याकहरु जोडिने जी-२० मा सहभागी हुने जी-२० बाहेकका सदस्यमा हिमाली शेर्पाहरुको मुख्य देश नेपाल गयल छ । दक्षिण एसियाबाट बंगलादेशलाई निम्तो हुँदा नेपाललाई छुटाइएको छ ।
बंगलादेश जी-२० निम्तो पाउनमात्रै होइन जी-२० का प्रमुख हस्तीहरुलाई आफ्नो देशमा उतार्न पनि सफल देखिएको छ । जस्तैः जी-२० सुरु हुनु अगाडि रुसी विदेशमन्त्री सेर्भि लेभ्रोब र समापनपछि फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रौं ढाका ओर्लिनेछन् । दक्षिण एसियामा आयोजक भएकाले भारतलाई स्वतः फाइदा छँदैछ । भारतपछि जी-२० बाट सबैभन्दा धेरै फाइदा लिने देश बंगलादेश नै देखिएको छ । भारत जान निम्तो पाउने, भारत आएका जी-२० का उच्चपदस्थ अनुहार काठमाडौं ल्याउनेमा पनि नेपाल गयल छ ।