नेभिगेसन मेनु

भारतीय रुपियाँ सटही नहुँदा समस्या
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-18 11:42

pasupatinager--(2)

भदौ १ गते । आफूसँग पैसा हुँदाहुँदै स्थानीय बासिन्दाले पैसाको अभाव झेल्नु परिरहेको छ । यो बाध्यता इलामको पूर्वी सीमावर्ती क्षेत्रका नागरिकको हो । इलामको पशुपतिनगर बजार र त्यस आसपास अर्थात् भारतसँग सिमाना जोडिएका क्षेत्रका नेपालीलाई नेपाली पैसाको अभाव भइरहेको छ । 

नेपाली पैसाको अभावको मुख्य कारण भनेको भारतीय रुपियाँको कारोबार बढी भएर हो । पशुपतिनगर बजारसहित जिल्लाको पूर्वी क्षेत्रका अधिकांश किसानले उत्पादन गरेको कृषि उपज बिक्री गर्दा बढी मात्रामा भारत जाने गरेकाले त्यसको आम्दानी पनि भारतीय रुपियाँमै हुने गरेको छ तर भारतीय रुपियाँ सटही गरेर नेपाली रुपियाँ लिने ठाउँ नहुँदा यहाँका नागरिकले रकम अभावको समस्या झेल्नु परिरहेको स्थानीय बासिन्दा बताउँछन् । 

“नेपालमा पाँच सय रुपियाँ भारतीय नोट चल्दैन, भारतीय नागरिक घुम्न आउने र मालसामान खरिद गरेर लाने हुँदा उनीहरूबाट ५०, सय र पाँच सयका भारतीय नोट आउने गरेका छन्,” पशुपतिनगरस्थित ट्याक्सी तथा जिप यातायात प्रालिका अध्यक्ष मिलन क्षेत्रीले भन्नुभयो, “भारतीय नोट नलिँदा व्यापार व्यवसाय नै चल्दैन, लियो भने भारतीय नोटको सटही हुँदैन । नेपाल सरकारले कहिले पनि बुझ्न नसकेको पूर्वको समस्या भारतीय नोटको हो ।” 

क्षेत्रीका अनुसार पशुपतिनगरमै होलसेल किराना पसल गर्दै आएका लक्ष्मीप्रसाद प्रसाईं (राजु) लाई करिब २२ दिनअघि १० लाख भारतीय रुपियाँसहित प्रहरीले पक्राउ गरेको थियो । प्रसाईसँग राजस्व अनुसन्धान विभागले त्यसको दोब्बर धरौटी रकम लिएर छोडेको थियो । नेपालको कर प्रणालीमा दर्ता रहेका प्रसाईंलाई भारतीय १० लाख रुपियाँ लिएर हिँड्नु बाध्यता थियो । व्यापार कारोबारमा आएको रकम यहाँ सटही हुँदैन न कुनै नेपाली बैङ्कले नै लिन्छ । 

“भारतबाटै सामान ल्याउन काँकडभिट्टा नै जानु पर्छ, रकम बोकेर हिंड्यो पक्राउ परिन्छ,” उहाँले भन्नुभयो, “पूर्वी क्षेत्रका नागरिकलाई भारतीय पैसा सटही गर्ने समस्या छ ।” यहाँका किसानले उत्पादन गरेर बिक्री गरेको दुध, इस्कुस, आलु, गोलभेँडा, काँक्रा, मुला, धनियाँ, सागलगायतका कृषिजन्य उत्पादन बिक्री गर्नु र व्यापारीले दिएको भारतीय रुपियाँ लिनु दैनिकको बाध्यता नै हो ।

अहिले पशुपतिनगरमा राष्ट्रिय वाणिज्य बैङ्क छ तर यो बैङ्कले भारतीय रकम लिँदैन । व्यक्तिगत रूपमा भारतीय रुपियाँ सटही गर्नेले पनि अहिले पक्राउ पर्ने डरले सटही गर्न छोडेको जानकार बताउँछन् । अहिले पशुपतिनगरमा व्यक्तिगत रूपमा सटही गर्न एक हजार भारतीय रुपियाँको नेपाली एक सय रुपियाँ लाग्ने गरेको छ । क्षेत्रीका अनुसार २०४० सालतिर भने पशुपतिनगरमा राष्ट्र बैङ्कको सटही काउन्टर थियो । त्यो काउन्टर हटाइएपछि यहाँ समस्या बढेको हो । 

नेपाली रुपियाँ लिन नै खर्च गर्नु पनि सर्वसाधारणको अर्को बाध्यता रहेको सूर्योदय नगरपालिकास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राई बताउनुहुन्छ । “सरकारी कामकाजका लागि वडा कार्यालयदेखि र बैङ्कको ऋण तिर्न नेपाली रकम आवश्यक पर्ने हुँदा नेपाली रकम खर्चेर पनि भारतीय रुपियाँ सटही गर्नु बाध्यता छ,” उहाँले भन्नुभयो, “हामीले यो समस्या फुकाउन नेपाल सरकारलाई पटक पटक आग्रह गरेका छौँ । अस्ति पनि प्रमुख जिल्ला अधिकारीमार्फत यो विषयको जानकारी गराएर ज्ञापनपत्र बुझायौँ तर कुनै सुनुवाइ भएको छैन ।” 

भारतीय रकम सटही नहुँदा सर्वसाधारण किसानदेखि पशुपतिगनर नाका हुँदै घुम्न आउने भारतीय पर्यटकलाई समेत समस्या परेको सूर्योदय नगरपालिका–२ का वडाध्यक्ष डिकबहादुर बम्जन बताउनुहुन्छ । नगरपालिकाले २२ दिनअघि मात्र स्थापना गरेको पर्यटन सूचना केन्द्रमा आइपुग्ने पर्यटकले पनि सटहीको समस्या झेलिरहेको बताइएको छ । यो सूचना केन्द्रमा साउन २४ यता दुई हजार ३२८ जना पर्यटक आएको तथ्याङ्क छ । 

“साना दरका नोट उनीहरूसँग हुँदैन, पाँच सय, एक हजारका नोट लिएर घुम्न आएका हुन्छन् । यहाँ आएर बास बस्ने, खाने, किनमेल गर्ने सानो नोट नहुँदा ठुला दरका भारतीय नोट लिनु होटल तथा पर्यटन व्यवसायीको पनि बाध्यता छ,” बम्जनले भन्नुभयो, “सङ्घीय सरकारले कानुनी उपचार खोजेर यो समस्याको समाधान गर्नुपर्ने अवस्था छ, नत्र यहाँको कृषि उत्पादन निकासी हुने अवस्था समेत रहँदैन् ।” 

केही दिनअघि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग यहाँका बासिन्दाले समस्या अवगत गराएका थिए । मन्त्री किरातीले आफू काठमाडौँ फर्किएर प्रधानमन्त्री र नेपाल राष्ट्र बैङ्कका गर्भनरसँग भारतीय रुपियाँ सटहीको आवश्यकता विषयमा कुरा गर्ने प्रतिबद्धता गर्नुभएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर