नेभिगेसन मेनु

धान उत्पादनमा किसानलाई जोड्दै आरजु राइस मिल
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-06 17:14

aaraju-rice-mil

उर्लाबारी, भदौ २० गते । मोरङको बेलबारी–९ पोखरियामा दैनिक ९० टन चामल उत्पादन गर्नसक्ने क्षमताको अत्याधुनिक आरजु राइस मिल (चामल उद्योग) सञ्चालनमा आएको छ । 

नेपालमा उत्पादित धान मात्र प्रयोग गरेर चामल उत्पादन गर्ने लक्ष्य लिएको उद्योगले गत वर्ष पाँचसय बिघा खेतको धान खरिदगरी चामल उत्पादन गरेको थियो । खासगरी थोरै क्षेत्रफलमा बढी उत्पादन हुने रामधानको प्रबद्र्धन गर्ने र सोही धानको लङ्ग्रेन चामल उत्पादन गर्ने उद्देश्यले चामल मिल सञ्चालनमा ल्याइएको हो । 

उद्योगका महाप्रबन्धक डा. विवेकानन्द झाले भन्नुभयो, “हाल धान अभावमा उत्पादन छैन । अबको २ वर्षभित्र ३६५ दिन नै चामल उत्पादन गर्ने योजना छ ।” उहाँका अनुसार उद्योगले स्थानीय र छिमेकी पालिकाका किसानसँग समन्वयगरी चालु आर्थिक वर्षमा २ हजार बिघा खेतमा रामधानको खेती गरेको छ । 

प्रतिविघा एकसय मन धान उत्पादन हुने लक्ष्य छ । यो उत्पादनले पनि वर्षभरि उद्योग सञ्चालन हुँदैन । वर्षभर उद्योग सञ्चालन गर्न ७ हजार बिघाको धान आवश्यक पर्छ । जसका लागि झापा र सुनसरीका किसानसँग सहकार्य भइरहेको झाको भनाइ छ । 

महाप्रबन्धक झाले भन्नुभयो, “ढुवानीमा कम लागत होस् भनेर हामीले बेलबारी, रङ्गेली र कानेपोखरीका किसानलाई उद्योगसँग जोडिरहेका छौं । उद्योग वरिपरिका किसानले हाम्रो मागअनुसार धान उत्पादन गरिदिनु भयो भने ढुवानी खर्च कम हुन्छ र सस्तो मूल्यमा चामल बिक्री गर्न सकिन्छ ।” जसका लागि तीन पालिका भित्रको १० हजार बिघा जग्गा खोजि भइरहेको उहाँले बताउनुभयो । 

“एकमुष्ठ जग्गा भेटिने अवस्था छैन् । त्यसैले एक एकगरी किसानलाई जोडिरहेका छौं । किसानलाई आवश्यक पर्ने रामधानको गुणस्तरीय बीउ, बैंकसँग कर्जा लिन र बाली बीमाका लागि सहजीकरण, काट्ने प्रविधिमा सहयोग र ढुवानीका लागि ट्याक्टरको ब्यवस्थामा उद्योगले सहयोग गर्नेछ” उहाँले भन्नुभयो । 

५० करोड रुपियाँ लगानी भइसकेको उद्योगमा हाल ६० जनाले रोजगार पाएका छन् । आगामी कात्तिकसम्ममा १० करोड रुपियाँ लगानी थपिने र पूर्णरुपमा उद्योग सञ्चालनमा आउँदा ८० जनाले रोजगार पाउने महाप्रबन्धक झाको भनाइ छ । पूर्णरुपमा उद्योग सञ्चालन गर्न स्वदेशी धानको उत्पादन बढाउनुपर्ने भएकाले प्रविधिमा समेत उद्योगले किसानलाई सहयोग गरिरहेको छ । 

३६५ दिन नै रामधानको चामल उत्पादन हुन थालेपछि मात्र मन्सुली, बासमतीलगायतका धानको चामल उत्पादन गर्ने महाप्रबन्धक झाले बताउनुभयो । ‘किसानसँग सहकार्यगरी एकसय बिघामा बासमती धान रोपेका छौं, त्यसबाट कस्तो नतिजा आउँछ । त्यसपछि मसिनो धानको उत्पादनमा लाग्ने योजना छ’ उहाँले भन्नुभयो, “उद्योग पूर्ण रुपमा सञ्चालन हुन २० हजार टन धान आवश्यक पर्छ ।” 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर