नेभिगेसन मेनु

जी–२० को तयारीमा भारत
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-08-27 13:06

thumb (2)

नयाँदिल्ली — जी–२० देशहरूको शिखर आगामी सम्मेलन सेप्टेम्बर ९ र १० तारिखमा भारतको राजधानी नयाँदिल्लीमा हुँदै छ । भारतले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सम्मेलनमा उक्त संगठनमा आबद्ध देशका प्रमुख र पर्यवेक्षक राष्ट्रहरूका प्रमुख तथा प्रतिनिधिहरू दिल्ली आउने बताइएको छ ।

यस पटकको सम्मेलनमा वातावरण, व्यापार र अर्थतन्त्र मुख्य एजेन्डा हुने भएका छन् । हरित विकास, जलवायु वित्त, पर्यावरण तथा जलवायु परिवर्तनसम्बन्धी युरोपेली संघको कार्यक्रम, छिटो र समावेशी विकास, स्थायी विकासका लक्ष्यहरूमा प्रगति, प्राविधिक परिवर्तन, बहुपक्षीय संस्था तथा महिलाको नेतृत्वमा विकासलगायत विषयमा बैठकमा छलफल हुने भएको छ ।

सम्मेलनका लागि प्रगति मैदानमा भारत–मण्डप बनाइएको छ । गत महिना प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसको उद्घाटन गरेका थिए । जी–२० को सम्मेलनलाई लक्षित गरेर २ हजार ७ सय करोडको लागतमा उक्त मण्डप अर्थात् विभिन्न अत्याधुनिक सुविधाहरू सहितको सभाहलको निर्माण भएको हो । त्यही सभाहलमा जी–२० का नेताहरूको ‘शेर्पा’ बैठक हुनेछ । यो स्तरको सम्मेलन भारतले पहिलो पटक गर्न लागेको हो । विश्वकै सबै शक्तिशाली देशका प्रमुखहरूको जमघट दिल्लीमा हुने भएपछि त्यसको भारत सरकारले विशेष तयारी गरेको हो ।

सडक क्षेत्रको साजसज्जा, पार्कहरूको व्यवस्थापन र पर्यटकीय स्थलहरूको शृंगारमा यतिबेला सरकारी संयन्त्र जुटेको देखिन्छ । जी–२० को सदस्य राष्ट्रहरूको झन्डा बाटोहरूमा राख्न थालिएको छ । त्यस्तै, सुरक्षा व्यवस्थामा कुनै पनि चुक हुन नदिने गरी तयारी गरिँदै छ । सरकारले सम्मेलनलाई लक्षित गरेर सेप्टेम्बर ८, ९ र १० तारिख दिल्लीलाई आममानिसका लागि ठप्प बनाउँदै छ । सरकारी कार्यालय, विश्वविद्यालय, कलेज र विद्यालयहरूमा छुट्टीको घोषणा गरिएको छ । त्यस्तै बजारहरू पनि नियन्त्रित तरिकाले मात्रै खुल्नेछन् । उक्त अवधिमा बाहिरी प्रदेशबाट दिल्लीमा यातायातको प्रवेशमा रोक लगाइएको छ । त्यस्तै निर्धारित क्षेत्रहरूमा पासबाहेकका सवारीसाधनहरूको प्रवेशमा प्रतिबन्ध रहनेछ । ७ सेप्टेम्बर राति १२ बजेदेखि १० तारिखको राति १२ बजेसम्मलाई विशेष कडाइको सूचना सार्वजनिक गरिएको छ । घरबाट निस्किने हरेक व्यक्तिले आफ्नो परिचय खुल्ने परिचयपत्र बोक्नुपर्ने भनिएको छ । रेलवे स्टेसन र विमानस्थल जानलाई पनि अत्यावश्यक भए मात्र त्यो समयमा यात्रा गर्न सुझाव दिइएको छ । ती स्थानहरूमा जानलाई विभिन्न रुटहरूको व्यवस्थापन सुरक्षा निकायले गरेको छ ।

भारतले पहिलो पटक जी–२० को अध्यक्षता पाएर यो स्तरको अन्तर्राष्ट्रिय कार्यक्रम गर्न लागेको हो । इन्डोनेसियाले गतवर्ष १ डिसेम्बर २०२२ मा भारतलाई अध्यक्षता हस्तान्तरण गरेको हो । त्यसयता भारतमा जी–२० सँग सम्बन्धित सयौं बैठक विभिन्न सहरहरूमा भएका छन् । भारतले जी–२० मा ‘वसुधैव कुटुम्बकम्’ अर्थात् ‘एक पृथ्वी, एक परिवार, एक भविष्य’ को नारा दिएको छ । प्रधानमन्त्री मोदीले देशभित्र र बाहिरको हरेक मञ्चमा उक्त नारालाई जोड दिएका छन् । जी–२० मा सहभागी देशहरूसँग विश्वको दुई तिहाइ जनसंख्या र विश्व व्यापारमा ७५ प्रतिशतको हिस्सेदारी छ । जी–२० मा अमेरिका, बेलायत, रुस, चीन, भारत, फ्रान्स, जर्मनी, इटाली, जापान, साउदी अरब, अर्जेटिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, युरोपियन युनियन, इन्डोनेसिया, मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र टर्की सदस्य छन् ।

यस पटकको सम्मेलनमा विशेष आमन्त्रितका रूपमा बंगलादेश, इजिप्ट, मरिसस, नेदरल्यान्ड्स, नाइजेरिया, ओमान, सिंगापुर, स्पेन र यूएईका राष्ट्र–सरकार प्रमुखहरूलाई बोलाइएको छ । त्यसबाहेक संयुक्त राष्ट्रसंघलगायतका विभिन्न अन्तर्राष्ट्रिय फोरम र मञ्चका पाहुनाहरू दिल्लीमा हुनेछन् । त्यस्तै, ३ हजार बढी मिडियाकर्मी पनि जी–२० का रिपोर्टिङका लागि दिल्लीमा रहने जनाइएको छ । देश र विदेशका गरेर ३ हजार मिडियाकर्मीले जी–२० को रिपोर्टिङका लागि पास माग गरेका छन् । ताजमहल, सांग्रिला, ताज प्यालेस, ली मेरिडियन, ओबेराय, लीला प्यालेस जस्ता होटललाई विशेष पाहुनाहरू राख्न सरकारले बुक गरिसकेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर