नेभिगेसन मेनु

भारतमा विकराल बन्दै लोन एपको समस्या
सम्पादक:南亚网络电视
समय:2023-07-30 12:58

thumb (3)

पैसाको असाध्यै खाँचो परेकाहरूलाई बिनाधितो र कागजपत्रसमेत खासै जुटाउन नपर्ने गरी अनलाइनमार्फत सहजै ऋण सेवा उपलब्ध गराउने ‘लोन एप’ हरू भारतमा एक जटिल समस्याका रूपमा देखापरेका छन् । छोटो अवधिका लागि फ्याट्टै ऋण जुटाइदिने यस्ता डिजिटल लेन्डिङ एप बन्द गरिदिन सरकारले गुगल र एप्पललाई निर्देशनसमेत दिएको छ । तर यस्ता केही एप हटाइए पनि नयाँ र फरक प्रकृतिका लोन एप दिनप्रतिदिन बढ्दो क्रममा रहेको समाचारहरूमा उल्लेख छ ।

भारतमा विकराल बन्दै गएको यस्तो अनलाइन ठगी र दुर्व्यवहारका घटनाको सञ्जाल नेपालसम्मै फैलिएको केही घटनाले पुष्टि गरेका छन् । अनलाइनमा लोन दिने मात्रै नभई जुवा खेलाउनेलगायत गैरकानुनी गतिविधिमा चिनियाँ नागरिकसमेतको संलग्नता भेटिने गरी हुने यस्ता घटनाले साइबर अपराधको बढ्दो जोखिम कुनै एक देशको सिमानामा मात्रै सीमित नरहेको प्रस्ट हुन्छ ।

सन् २०२२ को फेब्रुअरीमा दुई दिन लगाएर गरिएको एक अपरेसनमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अनलाइन ऋण दिने (लोन स्क्याम) लगायत गैरकानुनी गतिविधिमा संलग्न दुई चिनियाँ र सयभन्दा बढी नेपाली नागरिकलाई पक्राउ गरिएको थियो । मुख्यतयाः उत्तरी भारतका कम आय भएका व्यक्तिलाई लक्षित उक्त गतिविधिमा चिनियाँहरू काठमाडौंमा आईटी सेवा दिने भन्दै कार्यालय खोलेरै गैरकानुनी ऋण प्रवाहमा संलग्न भएका थिए । केही साधारण कागजात र विवरणको भरमा सजिलै भारु ३ हजारदेखि ३० हजारसम्म दिइने यस्ता अनलाइन ऋण पछि विभिन्न बहानामा महँगो बनाउने तथा तिर्न नसके फोनबाट धम्काउन नेपाली युवायुवतीहरूको प्रयोग भएको प्रहरीले खुलासा गरेको थियो ।

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले सन् २०२१ मा ६ सय वटा डिजिटल लोन एपहरूलाई अवैध घोषणा गरेको थियो । त्यो बेला २ सयभन्दा बढी यस्ता एप गुगल प्ले स्टोरबाट हटाइएको थियो । तर त्यसयता पनि एप मार्केटप्लेसमा प्रशस्त संख्यामा लोन एप उपलब्ध रहेको र भारतीय प्रयोगकर्ताहरूले जानेर वा अञ्जानमै त्यस्ता एपमार्फत रकम उधारो लिने गरेका अनेक घटना सार्वजनिक हुँदै आएका छन् ।

‘इन्डिया टुडे’मा प्रकाशित एक समाचारअनुसार हालै मात्र बैंग्लोरका २२ वर्षे एक विद्यार्थीले ‘स्लाइस एन्ड किस’ नामक चिनियाँ लोन एपबाट लिएको ऋण चुक्ता गर्न नसकेपछि आत्महत्याको बाटो रोजेका थिए । लोन एपहरूबाट ऋण लिन सहज भए पनि ऋण लिइसकेपछिको दबाब, केरकार र धम्की ज्यादतीपूर्ण हुने गरेको पीडितहरूको अनुभव छ । निर्धारित समयमा ऋण नतिर्नेलाई एप प्रतिनिधिले ब्याकमेलसमेत गर्ने गरेका छन् । समयमा ऋण तिर्न नसकेका बैंग्लोरका तेजस नामक ती युवालाई एप प्रतिनिधिले उनको मोबाइलमा रहेका अन्तरंग संवाद, तस्बिर र भिडियो सार्वजनिक गरिदिने जस्ता धम्की दिने गरेका थिए । लोन एपहरू इन्स्टल गरेपछि ती एपमार्फत प्रयोगकर्ताको मोबाइलका सबै विवरण एप प्रतिनिधिको पहुँचमा पुग्छ । मोबाइलमा संवेदनशील सामग्री भए प्रयोगकर्ताको कन्ट्याक्ट लिस्टमा भएका सबैलाई ती सामग्री सेन्ट गरिदिने र संवेदनशील सामग्री नभए एप प्रतिनिधि आफैंले नक्कली अश्लील सामग्री बनाएरसमेत धम्की दिने गरेका छन् ।

तेजसले सुसाइड नोटमा लोन एपको लफडाबारे खुलाउँदै अभिभावकसँग माफीसमेत मागेर संसार त्याग गरेको उल्लेख गरेका थिए । गत वर्ष चेन्नईका एक सफ्टवेयर इन्जिनियरले पनि लोन एप प्रतिनिधिको डर र धम्की सहन नसकेपछि आत्महत्या गरेको आफ्नो सुसाइड नोटमा जनाएका थिए । भारतमा यस्ता घटना बढ्दै गएपछि संघीय सरकारले प्रदेश सरकारका निकायहरूलाई यस्ता प्लाटफर्महरूले राष्ट्रिय सुरक्षा, अर्थतन्त्र र नागरिकहरूको जीवनमा निम्त्याउने जोखिम दृष्टिगत गर्दै कडाभन्दा कडा कदम चाल्न आग्रह गरेको छ ।

‘छोटो अवधिका लागि पैसा सापटी दिने कुनै पनि एप प्रयोगकर्ताले चलाउनु हुँदैन,’ इन्डिया टुडेको समाचारमा भनिएको छ, ‘यस्ता एप अवैध रूपमा सञ्चालन भएका हुन सक्छन् । ऋण फिर्ता लिन तिनले अपनाउने विधि ज्यादतीपूर्ण हुन सक्छ । यस्ता एपले कागजपत्रबिना र धितोसमेत नमागी ऋण त दिन्छन् । तर ब्याजदर अचाक्ली महँगो हुन्छ ।’ यस्ता एपले कठिनाइसँग जुधिरहेका, कम आय भएका र विशेषगरी युवायुवतीलाई लक्ष्य गरेर ऋण दिने गरेका छन् ।

‘मिडियानम डटकम’का अनुसार पछिल्लो समय एप्पलको एप स्टोरमा यस्ता लोन एपको संख्या बढेको मात्रै होइन, टप फाइनान्स एप्समै अवैध एपहरूको बाहुल्य छ । यसले आइफोन निर्माताको मोडरेसन प्रक्रियामै प्रश्न उठाएको मिडियानमले जनाएको छ । एप्पलले त्यस्ता एप हटाइसकेको दाबी गरे पनि एप स्टोरका टप फाइनान्स एपको सूचीमा हालै मात्र २७ वटा अवैध लोन एप देखिएको एक ट्वीटर प्रयोगकर्ताले उल्लेख गरेका छन् ।

यस्तै जुलाईमै सार्वजनिक एक घटनामा अहमदाबादका एक १४ वर्षीय किशोरको इमेल आईडी प्रयोग गरेर निर्माण गरिएको ‘क्यान्डीक्यास’ नामक लोन एप निर्माण गरेका ह्याकरहरूले त्यसबाट ऋण लिनेहरूलाई सताउन घरसम्मै पुग्ने गरेको घटना सार्वजनिक भएको थियो । मुम्बईकी एक महिलाले उक्त किशोरको घरमा फोन गरेर आफूले यस्तो अत्यधिक ब्याज तिर्न नसक्ने भन्दै छाडिदिन आग्रह गरेपछि ती किशोर झसंग भएका थिए । यस्ता घटनाले लोनसम्बन्धी गैरकानुनी कार्यमा संलग्नहरूले कुन हदसम्म गोपनीयता र वैयक्तिक विवरणको दुरुपयोग गर्न सक्छन् भन्ने देखाएको विज्ञहरू औंल्याउँछन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर