नेभिगेसन मेनु

साउदी प्रो लिग : सबैभन्दा धनी
सम्पादक:南亚网络电视
समय:2023-07-06 12:45

thumb (8)

काठमाडौँ — सबथोक त्यतिबेला सुरु भएको थियो, जतिबेला क्रिस्टियानो रोनाल्डो साउदी अरेबिया गए अल नासरसँग अनुबन्ध गर्दै । उनी के आए साउदी प्रो लिगको परिचय नै अर्कै भयो । यो लिग यसपल्ट यत्तिकैमा रोकिने छाँट छैन । अहिले युरोपका एकपछि अर्का स्टार खेलाडीलाई आफ्नोमा तानिरहेको छ साउदीले ।

यसका लागि साउदीका क्लबहरू जति पनि रकम खर्चिन तयार छन् । त्यसो त फुटबलका पण्डित के मान्छन् भने साउदी अरेबियाले खेलाडी होइन, सिधै सफलता किन्न खोजेको छ । यो नीति लामो समयका लागि टिक्न नसक्ने चेतावनी पनि तिनीहरूले दिइरहेका छन् । तर, यतिभन्दा भन्दै पनि एकपछि अर्को ठूलै नाम भएका खेलाडी साउदी अरेबिया लागेका छन् । त्यसमाथि रोनाल्डोले खुलेर भनेका छन्, साउदी प्रो लिग युरोपकै सफल व्यावसायिक खेलाडीका लागि अब नयाँ गन्तव्य हुन सक्छ ।

मंगलबारमात्र लिभरपुलका ब्राजिली स्टार रोबर्टो फिर्मिनोले साउदीको गन्तव्य रोजेका छन् । उनले प्रिमियर लिग क्लब लिभरपुलसँगको सम्झौता सकिएलगत्तै साउदीको अल अहलीमा सम्झौता गरेका छन् । साउदी पुग्ने उनी पहिल्लो हाइप्रोफाइल खेलाडी हुन् । एनफिल्डमा आठ सिजन बिताएका फिर्मिनोले ३ सय ६२ खेलमा १ सय ११ गोल गरेका छन् । यस अवधिमा उनले प्रिमियर लिग, च्याम्पियन्स लिग, क्लब विश्वकप जितेका थिए । उनीभन्दा अगाडि एक दिनअघि लिभरपुलकै पूर्वकप्तान स्टेभेन जेरार्डले अल इत्तिफाकमा प्रशिक्षकको रूपमा सम्झौता गरेका थिए ।

त्यसो त अहिलेसम्म साउदी प्रो लिग इंग्लिस प्रिमियर लिग र स्पेनी ला लिगाका लागि केही पनि होइन । तर, यो तथ्य निश्चित छ, यो लिगले अपेक्षा गरेभन्दा बढी प्रगति गरेको छ । केही मिडियाको दाबी मान्ने हो भने साउदी अरेबियाले सरकारीस्तरमै एउटा योजना बनाएको छ । त्यसअनुसार अबको ५ वर्षमा त्यहाँको लिगमा युरोपका शीर्ष सय खेलाडी हुनेछन् । यति गर्न सक्यो भने साउदी अरेबियाले पनि दाबी गर्न सक्छ, हाम्रो लिग विश्वकै शीर्ष ५ लिगमध्ये एक हो । त्यसमध्ये पहिलो नाम त रोनाल्डो नै रहे । यी पोर्चुगाली सुपर स्टार के साउदी अरब आए, त्यहाँको लिगमा रूचि देखाउनेहरू ह्वात्तै बढे । त्यसै पनि साउदी अरेबिया फुटबल भनेपछि हुरुक्क हुने देश हो । त्यतिमात्र होइन, एसियाली फुटबलकै एउटा महाशक्ति देश हो साउदी अरेबिया ।

अब यो देश आफ्नो लिगलाई उत्तिकै चर्चित र माथिल्लो स्तरको बनाउन चाहन्छ । रोनाल्डोपछि साउदी अरेबिया पुग्ने करिम बेन्जेमा अर्को ठूलो नाम रहे । उनी अल इतिहाद गएका थिए । उनलाई स्वागत गर्न मात्रै ६० हजार क्लब समर्थकको घुइँचो लागेको थियो । रियल म्याड्रिडका यी पूर्वसुपरस्टारले अल इतिहादका लागि पनि ९ नम्बर जर्सी नै लगाउने छन् । फेरि यो क्लब साउदी प्रो लिगको अहिलेको च्याम्पियन पनि हो । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने यी फ्रान्सेली खेलाडी बेन्जेमाले कम्तीमा एक वर्षका लागि १० करोड डलरको अनुबन्ध गरेका छन् । भर्खर लिभरपुल छाडेका ब्राजिली खेलाडी रोबर्टो फिर्मिनो पनि साउदी अरेबिया जाँदै छन् । भलै, उनको अनुबन्ध निश्चित हुन बाँकी नै छ । उनी अल इहली जाने बताइएको छ । यस्ता थ्रुपै नाम साउदी अरेबिया जाने तरखरमा छन् ।

हकिम जिएच, एन’गोलो कान्टे, रुबेन नाभेस, बर्नान्डो सिल्भा, सर्जियो रामोस यस्ता केही नाम हुन्, जसले साउदी अरेबियालाई आफ्नो नयाँ कर्मभूमि बनाएका छन् । साउदी अरेबियाले सन् २०२७ को एसिया कप आयोजना गर्दै छ । यसकै लागि भनेर साउदीले १० नयाँ रंगशाला बनाउँदै छ ।

यी रंगशाला अन्त्यमा प्रयोग हुने भनेको साउदी प्रो लिगमै हो । रियाद र जेद्दाबाहिरका रंगशाला अहिले तत्कालका लागि निकै कमजोर छन् । त्यसैले साउदी अरेबिया धेरैभन्दा धेरै रकम भौतिक पूर्वाधारमा खर्चिन तयार भएको हो । यस्तै प्रो लिगका क्लबको एकेडेमी स्थापनाका लागि पनि सरकारबाटै लगानी भएको छ । भनेपछि साउदी प्रो लिग सम्भवतः विश्वकै सबैभन्दा धनी लिग हुन सक्छ । अझ साउदी अरेबिया आफ्नो यो लिगलाई पूरा विश्वमा देखाउन पनि नयाँ योजना बनाइरहेको छ ।

असफल चिनियाँ सुपर लिग

अहिले साउदी अरेबियाले जे जस्तो गरिरहेको छ, कुनै बेला चीनले त्यस्तै गरेको थियो । चिनियाँ सुपर लिग (सीएसएल) ले विश्व क्लब फुटबलमै उथलपुथल मच्चाएको थियो । चिनियाँ राष्ट्रपति सी चिनपिङले आफ्नो देशलाई फुटबलमा पनि उत्तिकै शक्तिशाली बनाउने के इच्छा पोखे, त्यहाँका व्यापारी यो क्षेत्रमा लगानी गर्न ओर्लिहाले ।

विशेषतः रियल स्टेट व्यवसायमा लागेकाहरू । हेर्दाहेर्दै चिनियाँ क्लबले ओस्कार, हल्क, पाउलिन्हो र ज्याक्सन मार्टिनेज जस्ता खेलाडीलाई अनुबन्ध गरेको थियो । ती यस्ता नाम थिए, जसको खेल जीवन युरोपमा मज्जाले चलिरहेको थियो । तर, उनीहरूले चीनलाई आफ्नो गन्तव्य बनाए । यस्तोमा सीएसएल सबैको ध्यान खिच्न सफल रह्यो । धेरैलाई लागेको थियो, विश्व राजनीतिमा चीनको जुन प्रभाव छ, त्यस्तै प्रभाव विश्व फुटबलमा चीनको हुन बेर छैन ।

कार्लोस टेभेज र डिडियर ड्रोग्बा जस्ता खेलाडी किन्न मात्रै चिनियाँ क्लबले खुलेर खर्च गरेको थियो । सन् २०१६–०१७ को सिजनमात्रै नयाँ खेलाडी किन्न चिनियाँ क्लबले ४० करोड डलर खर्चेको थियो । यत्तिको रकम त युरोपकै अरू कुनै लिगले पनि खर्च गरेको थिएन । तर सबथोक चिनियाँ फुटबलले विचार गरे जस्तो भएन । सीएसएलमा विस्तारै चिरा पर्न सुरु भयो । त्यही बेला पूरा विश्वलाई कोरोना भाइरस संक्रमणको महामारीले छोपेको थियो ।

सीएसएलले पनि यसको प्रकोप सहनै सकेन । सन् २०२१ मा जिङ्सु एफसीले सबैभन्दा पहिले हात झिक्ने काम गरेको थियो । यसका मालिकले अब सक्दिनँ भनेर नै क्लब नै भंग गरे । सबैभन्दा ठूलो धक्का त त्यतिबेला लाग्यो, जतिबेला ग्वाङझाउ एफसी सन् २०२२ को सिजनमा रेलिगेसनमा पर्‍यो । त्यस अगाडिसम्म ग्वाङझाउ चिनियाँ फुटबलकै सबैभन्दा सफल क्लब थियो । अझ धेरैका लागि उदाहरणका रूपमा पेस गरिने चिनियाँ क्लब । ग्वाङझाउले आठपल्ट चिनियाँ लिगको उपाधि जितेको थियो । त्यतिमात्र होइन, यो दुईपल्टको एसियाली च्याम्पियन्स लिग विजेता रहेको थियो ।

चिनियाँ फुटबल लिग ढल्नु पछाडि पक्कै पनि कोरोना भाइरसको सबैभन्दा ठूलो हात थियो । तर त्यसको प्रभाव पर्न सुरु हुनुअघि नै त्यसमा समस्या भने देखा परिसकेको थियो । महामारीले सीएसएलमा निर्णायक धक्का पुगेको भने पक्का थियो । सन् २०२१ मा आएर चिनियाँ सरकारी अधिकारीले खेलाडीको तलबमा निश्चित सीमा तोक्न बाध्य भयो, जतिबेला इजक्वेल लेभाजी पीएसजीबाट हेबेइ चीन फोर्चुन आए । त्यतिबेला उनको तलबमात्रै साताको आठ लाख पाउन्ड थियो । यस्तै चर्को तलब दिन चिनियाँ क्लबले ऋण लिएका थियो । यसकै मारमा परेर विस्तारै पूरा लिग नै धराशायी हुन सुरु भयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर