नेभिगेसन मेनु

छिमेकी नगरपालिकाकै स्तरमा पुग्ने लक्ष्य छ
सम्पादक:南亚网络电视
समय:2023-06-04 14:29

0

गत वैशाखमा भएको स्थानीय निर्वाचनमा कैलालीको जानकी गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका नेता गणेश चौधरी निर्वाचित हुनुभयो। पत्रकारितामा आफ्नो परिचय बनाउनुभएका चौधरी राजनीतिमा आएर स्थानीय सरकारको नेतृत्व गरिरहनुभएको छ। ४७ वर्षीय चौधरीसँग गोरखापत्रका प्रकाशविक्रम शाहले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :  

पत्रकारिताबाट राजनीतिमा आउनुभएको छ। भूमिका बदलिएको छ, कतिको सहज अनुभव गर्नुभएको छ ? 

मैले २५ वर्ष पत्रकारितामा बिताए। राजनीति र पत्रकारिता उस्तैउस्तै हुन्। दुवै चुनौतीपूर्ण छन्। पत्रकारिता पनि समाजका लागि गरिने हो, राजनीति पनि समाज परिवर्तनकै लागि गरिन्छ तर अहिले म जनताका लागि प्रत्यक्ष रूपमा केही गर्नुपर्ने स्थानमा छु र त्यो गरिरहेको छु। असहज अनुभव भएको छैन। 

गाउँपालिकाको नेतृत्वमा रहनुभएको एक वर्ष भइसकेको छ। यो अवधिमा उल्लेखनीय खालका केही काम सुरु गर्नुभयो कि। 

यो एक वर्षकै अवधिमा हामीले धेरै राम्रा काम सुरु गरेका छौँ। चुनावमा गरेका वाचा अनुसार नै कामको थालनी भएको छ। अब बाँकी चार वर्षसम्ममा ती काम पूरा हुने छन्। 

तपाईंहरूले ‘शिक्षा, स्वास्थ्य कृषि र वातावरणमैत्री पूर्वाधार, जानकी गाउँपालिका विकासको मूल आधार’ भन्ने नारा दिनुभएको थियो। नारा अनुसार काम पनि भएको छ त ? 

यो नारा हाम्रो मूल लक्ष्य नै हो। यिनै क्षेत्रलाई प्राथमिकतामा राखेर कामको थालनी भएको छ। गुणस्तरीय शिक्षाका लागि विद्यालय समायोजनदेखि शिक्षक दरबन्दी मिलानको काम भइरहेको छ। दुई वटा हेल्थ पोष्टमा सिकलसेल स्क्यानिङ क्याम्प राख्यौँ। स्वास्थ्य परीक्षण गरिएका साढे तीन सय जनामध्ये ५८ जनामा सिकलसेल पोजेटिभ, ४३ जनामा थ्रेट र १५ जनामा रोग देखियो। विश्व बैङ्कको सहयोगमा खानेपानी आयोजना सञ्चालन भइरहेको छ। यो आयोजनाबाट पाँच वर्षभित्र जानकीका घरघरमा शुद्ध खानेपानी पुग्छ। 

स्थानीय सरकार भएकाले गाउँपालिकाको समग्र विकासमा ध्यान पु-याउनुपर्ने दायित्व तपाईंहरूमा छ। यसतर्फ ध्यान पुगेको छ ?

हामीले पूर्वाधार मात्रै नभएर आर्थिक सामाजिक विकासमा जोड दिएका छौँ। हामीले स्थानीय उत्पादन र उपभोगलाई जोड दिँदै आएका छौँ। हाम्रा बैठक कार्यक्रममा थारू समुदायको ढिक्री, सेल रोटीलगायत खानेकुराको खाजा खान्छौँ। शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सामाजिक सुरक्षालगायत कुरामा सन्तुलित रूपमा अगाडि बढेका छौँ। पहिले बैङ्कमा लाइन लागेर लिनुपर्ने सामाजिक सुरक्षा भत्ता अहिले बैङ्कका कर्मचारी आएर वडा कार्यालयबाट वितरण गर्ने व्यवस्था गरेका छौँ। यो वर्ष हामीले बेरोजगारको प्रोफाइल बनायौँ। रोजगारीको व्यवस्था गर्ने काम आउँदो आर्थिक वर्षदेखि सुरु गर्छौं। सिप भएका नागरिकलाई गाउँपालिकाले विभिन्न रोजगारदातासँग जोडिदिने काम गर्ने छ। 

कृषि यहाँको मुख्य क्षेत्र हो। यस क्षेत्रमा के के गर्दै हुनुहुन्छ ? 

हामीले पाँचवर्षे आवधिक योजनामा कृषिलाई प्राथमिकता दिएको छौँ। कृषि उत्पादन बढाउन उत्पादनका आधारमा अनुदान कार्यक्रम र स्कुल करेसाबारी कार्यक्रम सञ्चालन भइसकेको छ। यसले किसानलाई मात्र होइन विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पनि कृषि उत्पादनमा जोड दिन प्रोत्साहित गर्ने गरेको छ। हाम्रो अनुदानबाट वास्तविक किसान मात्र लाभान्वित हुन्छन्, अनुदानको दुरुपयोग छैन। 

आफ्नो कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने सोच बनाउनुभएको छ ?

जानकी गाउँपालिकाको एकातिर लम्कीचुँहा नगरपालिका र अर्कोतिर टीकापुर नगरपालिका छ। छिमेकी नगरपालिकाको अवस्था हेरेर हाम्रा गाउँपालिकामा पनि त्यस्तै सुविधा हुनु पर्छ भन्ने नागरिकको माग हुन्छ। त्यसैले हामीले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सेवा प्रवाहमा छिमेकी नगरपालिका जस्तै बनाउने हाम्रो लक्ष्य छ। 

प्रदेश तथा सङ्घीय सरकारसँगको समन्वय र सहकार्य कस्तो छ ? 

प्रदेश र सङ्घसँगको समन्वयमा समस्या छन्। रकम समयमा नदिने र योजना पनि आफूखुसी छान्ने र कार्यान्वयन हुने भएकाले समस्या परिरहेको छ। सङ्घीय र प्रदेश सरकारले नीति बनाएर स्थानीय तहलाई बोझ थुपार्ने काम गरेका छन्। नीति बनाएपछि स्रोतको व्यवस्था पनि हुनु पर्छ भन्ने हाम्रो माग हो। 

तपाईंले काम गरिरहँदा चुनौती के के आएका छन्, कसरी समाधान गर्नुहुन्छ ?

‘टकिङ कल्चर’ लाई ‘वर्किङ कल्चर’ मा बदल्नु मुख्य चुनौती छ। मुलुक पछाडि पर्नुमा काम गर्ने संस्कृतिको विकास नहुनु नै हो। काम पाइएन भनेर दिनभरि गफ चुटेर बस्ने तर आफ्नो खेतबारी बाँझै राख्ने प्रवृत्तिको अन्त्य हुनु जरुरी छ। हाम्रो गाउँपालिकामा कर्णाली, पथरैयालगायत नदी र खोलाको बाढीको जोखिम छ। त्यो चुनौतीको सामना गर्न रानीजमरा कुलरिया सिँचाइ आयोजना तथा विभिन्न सरकारी, गैरसरकारी संस्थासित समन्वय र सहकार्य गरेर व्यवस्थापनको प्रयास गरिरहेका छौँ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर