नेभिगेसन मेनु

भारत हुँदै बंगलादेश प्रसारण लाइन र सुनकोशी ३ निर्माण मुख्य एजेन्डा
सम्पादक:南亚网络电视
समय:2023-05-12 18:16

thumb (11)

जेठ १ र २ मा बंगलादेशमा हुने नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय बैठकमा नेपाली पक्षले संयुक्त रूपमा जलविद्युत् परियोजना विकास र प्रसारण लाइन निर्माणको एजेन्डा प्रस्तुत गर्ने भएको छ । विशेषगरी नेपाली पक्षले ६८३ मेगावाटको जलाशययुक्त सुनकोशी ३ आयोजनालाई संयुक्त रूपमा बनाउने र मोडालिटी तय गर्ने प्रस्ताव राख्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले बताए ।

बैठकमा यसअघि भएको बैठकको समीक्षा तथा बंगलादेशले नेपालको जलविद्युत्मा लगानी गर्ने इच्छा राखेको र त्यसबारे समेत छलफल हुने भेटुवालले जनाए । जेठ १ मा दुवै देशका सहसचिवस्तरको बैठकमा छलफल हुने एजेन्डालाई २ गतेको सचिवस्तरीय बैठकले टुंग्याउने उनको भनाइ छ ।

०७९ भदौ ८ र ९ मा काठमाडौंमा सम्पन्न बैठकमा सुनकोशी–३ आयोजनालाई प्राधिकरण र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डले संयुक्त रूपमा निर्माण गर्ने निर्णय भएको थियो । त्यसका लागि उक्त आयोजनाको अध्ययनलगायत काम सकेर अर्को बैठकमा त्यसबारे थप छलफल हुने निर्णय भएको थियो । यस्तै उक्त बैठकले वातावरण मूल्यांकन प्रतिवेदन तथा विस्तृत आयोजना प्रतिवेदन नेपाली पक्षले निर्माण गर्ने निर्णय भएको थियो ।

अध्ययन सकिए पनि कुन मोडालिटीमा आयोजना निर्माण गर्ने यकिन छैन । बैठकले आयोजना निर्माणको मोडालिटी र दुवै देशले गर्नुपर्ने साझेदारीका विषयमा छलफल गर्ने भेटुवालको भनाइ छ । यसका लागि हालसम्म अध्ययनको सम्पूर्ण जानकारी बंगलादेशी पक्षलाई उपलब्ध गराइसकेको उनले बताए । साथै नेपाल–भारत–बंगलादेश मिलेर त्रिपक्षीय रूपमा विद्युत्को व्यापार कसरी गर्नेलगायत विषय पनि बैठकमा प्रस्तुत हुनेछन् ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले तयार गरेको काभ्रे, सिन्धुपाल्चोक र रामेछापलाई छुने सुनकोशी–३ आयोजना कोशी बेसिन गुरुयोजनाबाट पहिचान भएको थियो । यस आयोजनाको सम्भाव्यता तथा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको प्राधिकरणले जनाएको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनसमेत स्वीकृत भइसकेको बताइएको छ । प्रतिवेदन नेपालले बंगलादेश पठाइसकेको छ । पाँचौं बैठकमा नेपाली पक्षले यसको हालसम्मको प्रगति र अबको मोडालिटीका विषयमा छलफल गरी निर्णयमा पुगिने भेटुवालले बताए ।

काठमाडौंमै सम्पन्न बैठकमा नेपाल–बंगलादेश डेडिकेटेड विद्युत् प्रसारण लाइन निर्माण गर्ने सहमति पनि भएको थियो । त्यति बेला भारतीय भूमि प्रयोग हुने भएकाले भारतसँग थप छलफल गरिने बैठकले निर्णय गरेको थियो । उक्त प्रसारण लाइन बनाउन बंगलादेश, भारत र नेपालबीच त्रिपक्षीय समझदारीका लागि दुवै पक्षले भारतसँग पहल गर्ने सहमतिसमेत भएको थियो । पाँचौं बैठकमा यसको समीक्षा हुने भेटुवालको भनाइ छ । यसमा प्रसारण लाइन कसरी र कसले निर्माण गर्ने भारतको सहयोगलगायत विषयमा छलफल हुने जनाइएको छ । प्रसारण लाइन निर्माण गर्न भारतको साथ अनिवार्य भएकाले पनि दुवै पक्षले भारतलाई कसरी मनाउने सो बैठकमा छलफल हुने उनले जनाए ।

सचिवस्तरीय चौथो बैठकमा भारतकै संरचना प्रयोग गरी बंगलादेशले ५० मेगावाट बिजुली किन्ने निर्णयसमेत गरेको थियो । यसका लागि भारतलाई दुवै पक्षबाट मनाउने सहमति भएको थियो । बैठकमा बंगलादेशले ०७९ कात्तिकभित्र नेपालको ४० देखि ५० मेगावाट विद्युत् किन्ने सहमति भएको थियो । यसमा विद्युत् निर्यातका लागि आवश्यक ट्रान्सफर्मर लाइनका लागि भारतसँग समेत छलफल गरेर टुंगोमा पुर्‍याइने बैठकले निर्णय गरे पनि भारतले सहमति दिएको छैन ।

‘४० देखि ५० मेगावाट विद्युत् बंगलादेशले हाल भारतकै संरचना प्रयोग गरी किन्ने सहमति यसअघि नै भएको थियो,’ भेटुवालले भने, ‘यसअघिको भारतसँगको सचिवस्तरीय बैठकमा पनि भारत सकारात्मक रहेको हुँदा यस वर्षायाममा अनुमति दिने देखिन्छ । त्यसपछिको अवस्थामा कसरी नेपाल र बंगलादेशबीच ऊर्जा व्यापार बढाउने भन्ने कुरा बैठकमा छलफल हुनेछन् ।’ ०७९ फागुनमा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा भारतले निश्चित आयोजनाको प्रस्ताव मागेको र यसमा नेपाली पक्षले पनि प्रस्ताव पठाइसकेकाले भारतले सहमति दिने उनको भनाइ छ । फागुनको बैठकमा भारतले बंगलादेश निर्यातका लागि आयोजनको नाम मागेपछि नेपालले लिखु–४ जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेशमा निर्यात गर्ने प्रस्ताव पेस गरेको थियो । भारत सरकारले ५० मेगावाट बिजुली बंगलादेश निर्यातका लागि आफ्नो प्रसारण लाइन प्रयोग गर्न अनुमति दिन सकिने बताएपछि स्रोत परियोजना नै छानेर मागेको थियो ।

पाँचौं बैठकमा यसबारे पनि छलफल हुने जनाइएको छ । यससँगै आपसी अनुभव साटासाट तालिम आदानप्रदान जस्ता विषयमा पनि छलफल हुने बताइएको छ । सन् २०२२ मा भारत भ्रमणमा आएकी बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले बंगलादेशले नेपालमा उत्पादित बिजुली आयात गर्न पावर ट्रान्समिसन करिडोर बनाउन भारतलाई अनुरोध गरेकी थिइन् । उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग विद्युत् प्रसारणका लागि भारतीय भूमि प्रयोग अनुमति दिन आग्रह गरेकी हुन् । नेपाल र बंगलादेशले पटक पटक भारतसँग भूमि प्रयोग गरी विद्युत् व्यापारको माग गरे पनि हालसम्म कुनै प्रगति भएको छैन ।

यसबाहेक दुई देशबीच ऊर्जा व्यापार सुरु गर्नेबारे पनि बैठकमा महत्त्वसाथ छलफल हुने प्रवक्ता भेटुवालले बताए । विद्युत् व्यापार थाल्नेबारे नेपालको विद्युत् प्राधिकरण र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच समझदारीको विषयमा छलफल हुने भेटुवालले जनाए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर