सरकारले विदेशबाट आउँदा थप एउटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ । त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले झिटीगुन्टा नियमावली संशोधन गरेर वैदेशिक रोजगारीमा गएका नेपालीलाई मोबाइल ल्याउने बाटो खोल्ने निर्णय गरेको हो ।
बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नियमावली संशोधन गर्ने निर्णय भएको बताउनुभयो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट निजी प्रयोगका लागि मोबाइल ल्याउन दिनेगरी समन्वय गर्न निर्देशन दिनुभएको थियो ।