उमेरले २३ वर्षका गणेश साहले अहिलेसम्म एक हजार पाँच सयभन्दा धेरै सर्पको उद्धार गरिसकेका छन्। धनुषाधाम नगरपालिका– ७ किसनपुरका गणेश अहिले सर्पका साथी र रक्षकको रूपमा परिचित हुँदै गएका छन्।
गत शनिबार एक कल फोन आएपछि उनी एकदमै विषालु कोब्रा सर्पको उद्धारका लागि जिल्ला सदरमुकाम जलेश्वर आइपुगे। जलेश्वर– १ स्थित एक घरको भान्साकोठामा एकाबिहानै कोब्रा देखिएपछि सो परिवारसँगै छिमेकीहरू त्रसित थिए। स्थानीयको खबरपछि त्यहाँ पुगेको सशस्त्र प्रहरीको टोलीमा समेत सर्प समात्न सक्ने सीप भएका कोही नभएपछि गणेश सर्पको उद्धारका लागि पुगे। मिथिला वाइल्डलाइफ ट्रस्टमा आबद्ध उनले ट्रस्टकै मुकेशकुमार राउत, शुभाष शर्मा र सालिनी साहको सहयोगमा उक्त कोब्राको उद्धार गरेका थिए।
केही समयअघि गणेशले संसारमै पहिलोपटक ल्युसिजम भएको करेत सर्पको दुई प्रजातिको उद्धार गरेका थिए ।
सर्प उद्धारकै क्रममा गणेशले कोरोनाको पहिलो भेरियन्टको केही समयपछि छिमेकी गाउँ मटियरवाबाट संसारमै पहिलोपटक ल्युसिजम भएको करेत सर्पको दुईवटा प्रजातिको उद्धार गरेका थिए। पर्यावरणको इतिहासमा आफ्नो नाम दर्ज गराएको सो उद्धारले गणेशलाई संसार चिनायो। अहिले इन्टरनेटमा उक्त उद्धारबारे खोज्दा मिथिला वाइल्डलाइफ ट्रस्ट र ट्रस्टका अध्यक्ष देवनारायण मण्डलसँगै आफ्नो पनि नाम आउँदा गणेश निकै खुसी छन्।
कतैबाट सर्प उद्धारका लागि फोन आउँदा उनी तुरुन्तै पुग्छन् र उद्धार गरी सुरक्षित रूपमा त्यसलाई प्राकृतिक स्थानमै फर्काउँछन्। उनी सर्प उद्धारकै लागि र सर्पबारे जानकारी दिन धनुषा, सिराहा, सर्लाहीलगायत मधेस प्रदेशका प्रायः सबै जिल्ला र सो बाहिरसमेत पुग्ने गरेका छन्। टाढाको जिल्लामा सर्प उद्धारभन्दा पनि सर्पबारे जनचेतना जगाउन पुग्ने गरेको गणेश सुनाउँछन्।
मधेस प्रदेशका जिल्लामा सर्पदंशको अवस्था भयावह छ। सर्पबारे पर्याप्त जानकारी नहुँदा धेरै मानिस सर्पदंशको चपेटामा पर्ने गरेका गणेश बताउँछन्। यसलाई कम गराउन मिथिला वाइल्डलाइफ ट्रस्टले सर्पदंशसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरूसमेत चलाउँदै आएको छ।
यता बर्दिवासस्थित सर्पदंश उपचार केन्द्रमा विगत एक वर्षमा करिब चार सय सर्पदंशका बिरामी उपचार गराउन पुगेका तथ्यांक छ। जलेश्वरस्थित प्रादेशिक अस्पतालमासमेत सोही हाराहारीमा सर्पदंशका बिरामी यो वर्ष आएका छन्। सर्पदंशपश्चात् समयमै उपचारका लागि पुगेका प्रायः सबै बिरामीको ज्यान जोगिएको छ। उपचारको सुविधाबाट टाढाका बस्तीहरूमा भने अझै झारफुककै सहारा लिने गरिएको छ। गणेश प्रायः सबै उद्धार कार्यपश्चात् सर्प र त्यसको महत्वबारे जानकारी दिँदै झारफुक र धामीझाँक्रीको चक्करमा नफस्न आग्रह गर्छन्।
‘धेरै ठाउँमा सर्पबारे जानकारी नहुँदा विष नभएको सर्प पनि मारिन्छन्। सर्प उद्धारकर्ताको संख्या मधेस प्रदेशमा नगन्य हुँदासमेत सबै स्थानमा पुग्न गाह्रो छ। हामी पुग्न नसकेको वा जानकारीमा नआएको ठाउमा सर्पलाई मार्ने गरिएको छ। जनचेतना अभाव र मृत्युको डरले समेत बर्सेनि सयौँ सर्प विनाकसुर मारिन्छन्,’ उनले भने। कीराफट्यांग्रा, मुसा, अन्य सर्पलगायतका आहाराको खोजीमा सर्प घरभित्र पस्ने भएकाले आवश्यक सावधानी अपनाउन उनी आग्रह गर्छन्। घरमा सर्प देखिए सबैभन्दा पहिले पहिचान गर्नु आवश्यक हुने गणेश बताउँछन् । ‘तराई–मधेसमा अधिकतम पाइने सर्पहरूमा गोमन, कमन करेत, ब्यान्डेड करेत र मोनोकल्ड कोब्रा मात्र विशालु छन्। तर, सर्पबारे जानकारी अभावले बहिरी करेत, धामन, ढोरिया आदिलाई पनि विषालु बुझ्ने चलन छ,’ उनले भने।
सर्पले प्राकृतिक सन्तुलन कायम राख्न सहयोगी भूमिका निर्वाह गर्ने भएकाले यसलाई मार्नु गम्भीर भूल हुने उनको तर्क छ। घरभित्र सर्प पसे तत्काल उद्धारकर्तालाई खबर गर्न वा त्यसो सम्भव नभए सर्पलाई बाहिर जान सक्ने बाटो छाडिदिन गणेश आग्रह गर्छन्। घरमा मुसा नियन्त्रण गर्न सकेसमेत सर्प आउने सम्भावना कम हुने उनको बुझाइ छ।
मधेस प्रदेश तथा नेपालमै पनि सर्प उद्धारकर्ताको संख्या ज्यादै न्यून छ। त्यसैले प्रत्येक पालिकाले सर्प तथा अन्य वन्यजन्तु उद्धारसम्बन्धी तालिममा केही व्यक्तिलाई सहभागी गराउनुपर्ने मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डल बताउँछन्। आफू मधेस प्रदेशका धेरै पालिकामा पुग्दा प्रकृति, वन्यजन्तु र त्यसको संरक्षणबारे जनप्रतिनिधिले चासो नलिएको उनको गुनासो छ।
तीनै तहका सरकारले चासो लिनुपर्ने बताउने मण्डल स्थानीय तहहरूले समन्वय गरे हरेक पालिकामा वन्यजन्तु उद्धारकर्ता तयार गर्न ट्रस्टले सहयोग गर्ने बताउँछन्।