नेभिगेसन मेनु

चितवनमा नेपाली महले बजार नै पाउन छाड्यो
सम्पादक:南亚网络电视
समय:2023-03-28 13:51

1679982083_Chitwan Maha-1200x560

चितवनको कालिका नगरपालिका ६ स्थित सूर्यपुरका मौरीपालक किसान शिवप्रसाद पौडेलले अघिल्लो माघ महिनासम्म महको राम्रै मुल्यमा बिक्रि गर्दै आएका थिए। तर, स्पर्स हनी कम्पनीले गुणस्तरहिन मह बेचेको आरोपमा समातिएपछि उनको मह बिक्रि हुनै छाडेको छ। ‘

कोरोनाको समयमा नेपाली मह बिक्रि राम्रै भयो। त्यतिखेर हामीले प्रतिकिलो साढे ६ सय रुपैयाँसम्मका मह बेचेका थियौ,’ २०५८ सालदेखि मौरी पालन गर्दै आएका पौडेलले विगत सम्झदै भने, ‘अहिले ३ सय रुपैयाँमा दिन्छौँभन्दा पनि बिक्रि हुँदैन।’ उनको घरमा अघिल्लो बर्षदेखिको ३६ क्वीन्टल मह छ। यस बर्ष साढे ३ टन मह उत्पादन हुने उनको अनुमान छ। 

तर, महले बजार नपाउँदा त्यो मह कहाँ बेच्ने भन्ने चिन्तामा उनी छन्। ‘नेपालको उत्पादनले धान्दैन। यहाँ मेरो १ सय २० गोलाको  मह पनि बिक्रि हुँदैन,’ उनले भने, भारतबाट मह आयात हुँदा समस्या भएको छ।’ उनका अनुसार पछिल्लो ४ महिनामा भारतबाट २ सय मेट्रिक टन मह आयात भैसकेको छ।  

अहिले चितवनका किसानले फ्याट् फुट्ट खुद्रा मुल्यमा गाउँघरमा मह बेचपनि बजारसम्म ल्याउन सकेका छैनन्। नेपाली बजारमा व्यापारीले भारतीय मह विक्रि गर्दा समस्या भएको मौरीपालक किसान गिता देवकोटा बताउँछिन्। 

‘भारतबाट आएका मह हेर्दा टल्किन्छ। हाम्रो मह त्यस्तो हुँदैन। भारतबाट व्यापारीले सस्तोमा ल्याउँछन्,’ उनले भनिन्, ‘हाम्रो मह राखिदिनुहुँदैन।’ २०५२ सालदेखि मौरीपालन व्यवसाय गर्दै आएकी देवकोटाले अहिले मौरी घटाउँदै ९० गोलामा झारेकी छन्। भारतबाट प्रतिकेजि २ सय ११ रुपैयाँसम्ममा व्यापारीले मह ल्याउने गरेका छन्। तर उपभोक्ता मुल्य भने नघटाएको उनले बताइन्। अहिले पनि ८ सयको हाराहारीमा व्यवसायीले उपभोक्तालाई बेच्ने गर्दछन्।  

मौरी विकास कार्यक्रम भण्डाराका वरिष्ठ बालि संरक्षण अधिकृत गोविन्द प्रसाद पोख्रेलले गत माघ महिनादेखि महको विक्रि हुन नसकेको बताउँछन्। उनका अनुसार, नेपालमा अझै १ हजार ५ सय मेट्रिक टन मह स्टक रहेको छ। तर, सोही अनुपातमा भारतबाट मह आयात भएको उनले बताए। ‘नेपाललाई बार्षिक ८ हजार मेट्रिक टन मह आवश्यक पर्दछ। भारतबाट १ हजार ५सय ४६ मेट्रिक टन आयात भएको छ,’ उनले भने,  ‘भारतबाट सस्तोमा मह आयात हुँदा नेपाली मह विक्रिमा समस्या आएको हो।’

नेपालमा बार्षिक४ हजार ६३ मेट्रिक टन मह उत्पाद हुँदै आएको छ। यहाँबाट ८ मेट्रिक टन मह निर्यात समेत भएको छ। यहाँबाट अष्ट्रेलिया, अमेरिका, जापान, कतार लगायतका देशमा न्यून मात्र निर्यात हुने गरेको उनले बताए।  नेपालमा बार्षिक ३० करोड ३४ लाख रुपैयाँ बराबरको मह आयात हुँदा १६ करोड ८१ लख रुपैयाँको मह निर्यात भएको सरकारी तथ्याङ्कमा उल्लेख छ।  

नेपालमा १६ हजार ५ सय भढी मौरीपालन किसान छन्। यहाँ २ लाख ४९ हजार ६८० गोला मौरी रहेको उनले बताए। सेरेना मौरीको उत्पादकत्व ९ दशमलव २ र मेलिफेरा मौरीको २२ दशमलव ७२ रहेको छ।  

चितवनमा मौरी जोन कार्यक्रम समेत छ। यसले महको उत्पादन बढाउन कालिका ९, १० र ११ नम्बर वडामा १ हजार ५ सयभन्दा बढी चिउरीका बोट समेत रोपेको छ। बजारीकरणको लागि सम्बन्धीत निकायसंग परामर्श गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी इन्द्रशर्मा ढुंगाना बताउँछन्।  

मह मानव स्वास्थ्यका लागि अति नै आवश्यक छ। महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमज जस्ता आवश्यक तत्वहरु पाइने भएकाले धेरै रोगहरुबाट बचाउने भरतपुर अस्पतालका फिजिसियन डाक्टर कल्याण सापकोटाले बताउँछन्।  महले मान्छेको स्मरण शक्ति बढाउनुका साथै कब्जियत, रक्तचाप,रक्तअल्पता, मानसिक समस्या, बाथ, थाइराइड, पोटको समस्यालाई निको पार्ने उनले बताए। दैनिक मह सेवन गर्दा फाइदा हुने उनको भनाई छ।  

जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले किसानको समस्यालाई समाधान गर्नका लागि पहल गर्ने बताउँछन्। ‘यसअघि माछाका किसानहरु पनि मुल्य पाइएन भनेर हामीकहाँ आउनुभएको थियो। सबैस्थानीय तहलाई राखेर छलफल गरेपछि समस्या हटेको मलाई अनुभव छ,’ उनले भने, ‘यसको पनि स्थानीय तहाका प्रमुखहरुसंग बसेर समस्याको समाधान निकाल्नु पर्छ।’

चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले महको बजारिकरणका बिषयमा स्थानीय तहलाई अधिकार दिएकाले जनप्रतिनिधिहरु सक्रिय भएर लाग्नुपर्ने धारणा राख्छन्।  

यसैबिच चितवनको भरतपुरमा ‘१७ औँ राष्ट्रिय मह दिवस’ मनाइएको छ। ‘दैनिक गरौँ मह सेवन, हुन्छ स्वास्थ्य दीर्घ जिवन’ भन्ने नाराका साथ भरतपुरमा सरोकारवाला व्यक्तिहरुले सोमबार मह दिवस मनाएका हुन्। मौरी विकास कार्यक्रम भण्डारा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई चितवन, कृषि ज्ञान केन्द्र र नेपाल मौरीपालन महासंघ चितवनले अन्तरक्रिया र जिल्ला प्रहरी कार्यालय अगाडि सडकमा हिड्ने सर्वसाधरणलाई मह खुवाएका थिए। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर