नेभिगेसन मेनु

कचौरा काठमाडौंमा सधैं प्रदूषणको पिरलो
सम्पादक:南亚网络电视
समय:2023-04-17 13:33

thumb (2)

गत वर्षहरूको यही अवधिमा जस्तै देशका प्रमुख सहरहरूमा प्रदूषण उच्च भएको छ । प्रदूषण बढेसँगै केही दिनयता काठमाडौंको आकाश धुम्मिएको छ भने अस्पतालहरूमा दम र निमोनियाका बिरामीको संख्या बढ्न थालेको छ । आकाश तुवाँलोले ढाकिँदा चार दिनयता आन्तरिक उडान प्रभावित भएको छ । 

एक्यू एयरका अनुसार आइतबार दिउँसो काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १६९ छ । काठमाडौं शंखपार्कमा एक्यूआई १८७ थियो भने खुमलटारमा १८६, भैंसीपाटीमा १८४, रत्नपार्कमा १७९ र कीर्तिपुरमा १७६ थियो ।

वातावरण विभागका निरीक्षक गोविन्द लामिछानेका अनुसार ५० सम्मको एक्यूआईलाई सन्तोषजनक र १५० देखि २ सयसम्मलाई अस्वस्थ मानिन्छ । ‘यो अवस्था संवेदनशील स्वास्थ्य भएकालाई जोखिमपूर्ण हुन्छ । अझ, २०१ देखि ३ सय एक्यूआईले सबै उमेर समूहका मानिसको स्वास्थ्यमा जोखिम बढाउँछ भने ३०१ देखि ५ सयसम्मले आपत्कालीन अवस्था जनाउँछ,’ उनको भनाइ छ ।

स्वस्थ वातावरणका लागि हावामा २.५ माइक्रोनभन्दा सानो व्यास भएका कण (पीएम २.५) को मात्रा प्रतिघनमिटरमा ५ माइक्रोग्राम वा त्यसभन्दा कम हुनुपर्छ । तर, काठमाडौंमा यसको मात्रा ७५.३९ देखि अधिकतम १२०.५७ रहेको पाइएको छ । यस्ता कणमा नाइट्रेट्स, सल्फेट, ब्ल्याक कार्बन, एमोनियम र धूलोका कण हुन्छन् । यस्ता कण फोक्सोमा सजिलै पुग्ने भएकाले स्वास्थ्यका लागि खतरनाक मानिन्छन् । उद्योग, सवारीसाधन, निर्माण, घाँसदाउरा बाल्दा र कृषि क्षेत्रबाट पीएम २.५ पार्टिकल्स निस्कन्छन् ।

देशभर डढेलो बढेकाले उपत्यकामा प्रदूषण बढी देखिएको वन विभागका निरीक्षक लामिछानेको भनाइ छ । स्याटेलाइटबाट प्राप्त तथ्यांक हेर्दा शनिबार र आइतबार देशभर १८ ठाउँ डढेलो लागेको थियो । पछिल्लो एक सातामा २९० ठाउँमा डढेलो देखिएको उनको भनाइ छ । ‘सबैभन्दा बढी डढेलो चितवन राष्ट्रिय निकुञ्ज र पर्सा निकुञ्ज क्षेत्रमा लागेको छ,’ लामिछानेले भने ।

विभागले हालै निकालेको प्रतिवेदनअनुसार हरेक वर्षको हिउँद र प्रि–मनसुनमा काठमाडौं र तराईमा वायु प्रदूषण बढ्ने गरेको छ । फागुनदेखि वैशाखसम्म हुने धेरै डढेलोले प्रदूषणको मात्रा बढ्छ । वायु प्रदूषणको वर्तमान अवस्था जोखिमयुक्त रहेको विभागका प्रवक्ता शंकरप्रसाद पौडेल बताउँछन् । ‘बढ्दो प्रदूषणले खासगरी बालबालिका र वृद्धमा बढी असर गर्छ, त्यस्तै प्रदूषणमा वयस्कहरू पनि घरबाहिर जाँदा मास्क लगाउनु अत्यावश्यक छ,’ उनी भन्छन् ।

रत्नपार्कको वायुको गुणस्तर मापन ३०९ दिन भएकामा १५३ दिन प्रदूषणको मात्रा औसत मापदण्डभन्दा बढी रहेको विभागको प्रतिवेदन छ । कीर्तिपुरमा ३१० दिन मापन हुँदा १२४ दिन औसत मापदण्डभन्दा बढी प्रदूषण थियो । भक्तपुरमा २३९ दिनसम्म मापन हुँदा १२१ दिन बढी प्रदूषण थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन आकाश धुम्म देखिने जनाएको छ । १० दिनयता उपत्यकामा पानी परेको छैन र तत्काल पानी पर्ने सम्भावना नदेखिएकाले वायुको गुणस्तर थप खस्कन सक्ने महाशाखाको अनुमान छ । ‘डढेलो लागेको छ, पानी पनि परेको छैन, त्यसैले उपत्यकामा तुवाँलो देखापरेको हो,’ मौसमविद् वरुण पौडेल भन्छन् । हुरीबतास पनि नचलेकाले आकाश धुम्म भएको उनले बताए । ‘बिहीबारदेखि सुदूरपश्चिम र गण्डकीका उच्च पहाडी भूभागमा हल्का पानी पर्ने सम्भावना छ,’ पौडेलले भने, ‘तराई र मध्य तराईमा अझै एक साता वर्षाको सम्भावना छैन ।’

गत पुसमा विश्व बैंकले निकालेको एक प्रतिवेदनअनुसार दक्षिण एसियामै वायु प्रदूषणको अवस्था भयावह थियो । संसारका १० प्रदूषित सहरमध्ये ९ वटा सहर दक्षिण एसिया क्षेत्रमा रहेको र त्यसमा काठमाडौं पनि छ । वायु प्रदूषणकै कारणबाट दक्षिण एसियामा हरेक वर्ष २० लाख मानिसको अकाल मृत्यु हुने गरेको प्रतिवेदनमा उल्लेख छ । नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४२ हजार १ सय मानिसको मृत्यु हुने गरेको ‘स्टेट अफ ग्लोबल एयर–२०२०’ ले जनाएको छ । सन् २०१८ मा मात्रै नेपालमा वायु प्रदूषणका कारण करिब ३७ हजार जनाको मृत्यु भएको ग्लोबल एयरको तथ्यांक छ ।

वातावरण विभागले निकालेको प्रतिवेदनअनुसार काठमाडौं उपत्यकामा सवारीसाधन वायु प्रदूषणका मुख्य स्रोत हुन् । उपत्यकामा १० लाखभन्दा बढी सवारीसाधन गुड्छन् । वातावरण विभागले मंसिरयता छड्के प्रदूषण जाँच गर्दा एक तिहाइ सवारीसाधन फेल भएका छन् । ९ सय ३४ वटा सवारी परीक्षण गर्दा ३ सय साधन फेल भएका हुन् ।

वायु प्रणालीमा जम्मा हुने धूलोका कण निरन्तर रूपमा बहने हुनाले कुनै सहर विशेषको एकले प्रयासले मात्रै नियन्त्रण सम्भव नहुने विश्व बैंकको प्रतिवेदनको विश्लेषण छ । त्यस कारण काठमाडौंको प्रदूषण नियन्त्रण यहाँ अपनाइने विधिबाट मात्रै सम्भव नहुने र क्षेत्रीय सहकार्यमा जोड दिनुपर्ने विज्ञहरूको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालयको वातावरण अनुसन्धानसम्बन्धी प्रयोगशाला ‘न्यारेल’ का प्रमुख रामप्रसाद रेग्मीका अनुसार काठमाडौंको भौगोलिक बनावटका कारण पनि हिउँद र प्रि–मनसुनमा सधैंजसो प्रदूषण जम्मा हुने गरेको छ । सामान्य अवस्थामा तराईबाट आएको हावा दक्षिणकाली–वाग्मती किनार हुँदै काठमाडौं प्रवेश गर्छ भने दक्षिण पश्चिमको धादिङबाट आएको हावा थानकोट तथा भीमढुंगा भन्ज्याङ हुँदै भित्रिन्छ । त्यस्तै उत्तर पश्चिमको नुवाकोटबाट आएको हावा मुड्खु तथा तीनपिप्ले भन्ज्याङ हुँदै उपत्यका प्रवेश गर्ने रेग्मीको भनाइ छ । ‘तराईबाट आउने हावा केही तातो र अन्यत्रबाट आउने केही चिसो हुन्छ, चिसो हावा माथि र तातो हावा तल हुन्छ, तर घाम अस्ताएपछि जमिन चिसिएसँगै हावा चिसो हुन्छ,’ डा. रेग्मी भन्छन्, ‘बिहान चाहिँ चिसो हावा बिस्तारै माथि सर्न थाल्छ र माथि भएको हावा तल झर्न थाल्छ । त्यही बेला प्रदूषण फिँजिएको देखिन्छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको आन्तरिक टर्मिनल कार्यालय (टीडीओ) का अनुसार आइतबार तुवाँलोका कारण आवश्यक भिजिबिलिटी नपुग्दा तीन दर्जन उडान रद्द भएका छन् । बुद्ध एयरका अनुसार आइतबार काठमाडौं–पोखरा आउने र जाने गरी २० वटा उडान रद्द भए । यती एयरलाइन्सले पोखराका १० उडान रद्द गर्‍यो । श्रीले काठमाडौं–पोखराका चार र सौर्यले एक उडान रद्द गरे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक विक्रमराज गौतमका अनुसार न्यूनतम ३७ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने पोखरामा तुवाँलोका कारण हजार मिटरसम्म झरेको छ । ‘शनिबार एउटा पनि उडान हुन सकेन,’ गौतमले भने । उनका अनुसार नयाँ वर्षका दिन पोखराबाट काठमाडौंका लागि दुईवटा उडान भए भने काठमाडौंबाट उडान हुनै सकेन । मौसम अनुकूल हुँदा पोखरा–काठमाडौं दैनिक दुईतर्फी ६० सम्म उडान हुन्छन् । वायुसेवाहरूका अनुसार प्रदूषणका कारण चार दिनयता पोखराका साथै भरतपुर, सिमरा, भैरहवा र तुम्लिङटारमा उडान प्रभावित भएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर