नेभिगेसन मेनु

रातो नम्बरप्लेटका सवारीसाधनले भाडा लिएर यात्रु बोक्न नपाउने
सम्पादक:南亚网络电视
समय:2023-04-06 15:18

home-magh-52023-01-19-08-23-24

रातो नम्बरप्लेटका निजी सवारीसाधनले यात्रु बोकेको उजुरीपछि गृह मन्त्रालयले रोक्न निर्देशन गरेको छ । मन्त्रालयले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै नियमविपरीत यात्रु बोक्ने काम रोक्न निर्देशन दिएको हो । 

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले निजी सवारीले यात्रु बोकेको भन्दै दिएको निवेदनका आधारमा जिल्ला प्रशासनलाई परिपत्र गर्दै निगरानी गर्न र रोक्न निर्देशन दिएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए । 

नियमतः रातो नम्बर प्लेटका सवारीसाधन निजी प्रयोजनका लागि हो, ती सवारीसाधनले भाडा लिएर यात्रु बोक्न पाउँदैनन् । तर, हाल उपत्यकालगायत देशका विभिन्न रुटमा टाटा सुमो, स्कार्पियो, जिप, कारलगायत निजी सवारीसाधनले भाडा लिएर यात्रु बोक्ने गरेका छन् । 

उपत्यकामा इन्ड्राइभ एप्समार्फत निजी गाडीले यात्रु बोक्ने गरेका छन् । यसविरुद्ध महासंघले गृहको ध्यानाकर्षण गराएको महासंघ अध्यक्ष विजयबहादुर स्वाँरले बताए । उनका अनुसार निजी प्रयोजनका लागि खरिद गरिएका सवारीसाधनले भाडा लिएर यात्रु बोक्ने क्रम बढेकाले त्यसलाई रोक्न गृहलाई पत्रचार गरिएको बताए । 

उनले भारतीय नाका हुँदै ओहोरदोहोर गर्ने निजी तथा मालवाहक सवारीले भाडा लिएर यात्रु बोक्ने गरेकाले पनि त्यसलाई रोक्नुपर्ने आवश्यक रहेको बताए । ‘अहिले यातायात क्षेत्रमा विकृति छ, जसलाई जे गरे पनि हुन्छ,’ उनले भने, ‘त्यसकारण जुन प्रयोजनका लागि सवारीसाधन प्रयोग गरिएको हो त्यही प्रयोजनमा हुनुपर्छ ।’ 

गृहको परिपत्रले उपत्यकाभित्र सञ्चालनमा रहेका पठाओ, टुटल, जाउ गुरु, यात्रा, शुभयात्राजस्ता राइडर कम्पनीहरू प्रभावित हुनेछन् । गृहले रातो नम्बर प्लेट अर्थात् निजी सवारीले भाडा लिएर यात्रु बोक्ने गरेमा कारबाही गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशनसमेत दिएको छ । 

पिकआवरमा यात्रुवाहक बस विद्यालयका लागि प्रयोग नगर्न महासंघको निर्देशन 

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले पिकआवरमा विद्यार्थी नबोक्न यात्रुवाहक बस सञ्चालकलाई निर्देशन दिएको छ । ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार पिकआवरमा उपत्यकाभित्र झन्डै तीन सय बस निजी स्कुलले प्रयोग गर्दै आइरहेका छन् । जसका कारण उपत्यकामा बिहान र बेलुकी पिकआवरमा यात्रुलाई बस पाउनै मुस्किल हुन्छ । पाइए पनि बसमा कोचाकोच हुन्छ ।

सरकारले विद्यालयलाई आफ्नै सवारीसाधन प्रयोग गर्न र विद्यालयको सवारीसाधनको रंग पहेँलो तोेकेको छ । तर, प्रयोजनविपरीत सार्वजनिक बसहरू भाडामा विद्यार्थी बोक्न जाँदा यात्रुहरूले सास्ती खेप्नुपरेको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर