नेभिगेसन मेनु

उपनिर्वाचनका लागि आज मनोनयन
सम्पादक:南亚网络电视
समय:2023-04-03 12:08

nirbachan-mansir.2022-10-14-07-20-06

उम्मेदवारी दर्ता गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जनाभन्दा बढीको जुलुस लिएर नजान आयोगको आग्रह

उपनिर्वाचन कार्यतालिका

२० चैत – उम्मेदवारको मनोनयन दर्ता २३ चैत – उम्मेदवारको अन्तिम नामावाली प्रकाशन १० वैशाख – बिहान ७:०० देखि साँझ ५:०० बजेसम्म मतदान

तीनवटा निर्वाचन क्षेत्रमा १० वैशाखमा हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदै छ । चितवन २, तनहुँ १, बारा २ मा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । 

चितवन २ र तनहुँ १ मा सत्तारूढ गठबन्धन, एमाले र रास्वापबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । बारा २ मा भने जनमत पार्टीलाई पनि मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ । चितवन २ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र रास्वपाका रवि लामिछाने उम्मेदवार बन्ने तय भएको छ । तनहुँ १ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गर्दै छन् । 

बारा २ मा सत्तारूढ गठबन्धनबाट जसपाका उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुसवाह र रास्वपाबाट रमेश खरेल उम्मेदवार बन्दै छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले आइतबार मात्रै यादवलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाउने तयारी गरे पनि अन्ततः यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । एमालेले उम्मेदवार टुंग्याउन बाँकी छ । एमालेले बारा २ को उम्मेदवार छान्ने जिम्मा अध्यक्ष केपी ओलीलाई दिएको छ ।

चितवन र बारामा मतदाता बढे, तनहुँमा घटे

निर्वाचन आयोगका अनुसार गत ४ वैशाखको निर्वाचनमा भन्दा आगामी उपनिर्वाचनमा चितवन २ र बारा २ मा मतदाता बढेका छन् भने तनहुँ १ मा मतदाता घटेका छन् । चितवन २ मा चार सय ७०, बारा २ मा दुई सय ३७ मतदाता थप भएका छन् भने तनहुँ १ मा भने एक सय ८५ जना मतदाता घटेका छन् । गत निर्वाचनमा चितवन २ मा १ लाख २४ हजार दुई सय १५, बारा २ मा एक लाख पाँच हजार ११, तनहुँ १ मा एक लाख २३ हजार चार सय ९० मतदाता थिए । 

निर्वाचन आयोगका अनुसार चितवन २ मा ४३ वटा मतदानस्थलमा एक सय ३८ मतदान केन्द्र, बारा २ मा ८२ मतदानस्थलमा एक सय ३७ मतदान केन्द्र र तनहुँ १ मा ६९ मतदानस्थलमा एक सय ५२ मतदान केन्द्र रहनेछन् । चितवन २ र तनहुँ १ मा गत निर्वाचनमै रहेका मतदानस्थल र केन्द्र यथावत् रहेका छन् भने बारा २ मा एक मतदान केन्द्र थपिएको आयोगले जनाएको छ । 

आयोगको आग्रह

उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । उम्मेदवारी दर्ता गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जनाभन्दा बढीको जुलुस लिएर नजान आयोगले आग्रह गरेको छ । उम्मेदवारी दर्ताका क्रममा बाजागाजा, झाँकी तथा निर्वाचन आचारसंहिताविपरीतका ब्यानर, चिह्न र झन्डासहित नजान पनि आयोगले आग्रह गरेको छ । 

यस्तै, उम्मेदवारको पहिचान झल्किने लोगो, टीका, चिह्न, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड पनि प्रयोग गर्न पाइनेछैन । मनोनयन स्थलमा उम्मेदवारको पक्षमा नारा–जुलुस, भाषण र प्रतिस्पर्धी लक्षित गा(लीगलौज र टीकाटिप्पणी गर्न पनि पाइने छैन । उम्मेदवारी दर्ताका क्रममा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत, साधन र सम्पत्ति प्रयोग गर्न पनि पाइने छैन । 

यस्तै, नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले तत्तत् हैसियतमा रही उम्मेदवारको मनोनयनमा सहभागी हुन नपाइने, बालबालिकाको प्रयोग गर्न नपाइने, संवैधानिक निकाय तथा सोका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारलाई आफ्नो सवारीसाधन वा अन्य सामग्री प्रयोग गर्न नहुने आयोगले जनाएको छ । 

हेलिकोप्टर प्रयोग गरी राजनीतिक दल वा उम्मेदवारले उम्मेदवारी दर्ता गर्न जान नहुने, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले उम्मेदवारी दर्ताका क्रममा राजनीतिक दल वा उम्मेदवारसँग सहभागी हुन नपाइने व्यवस्था आयोगले गरेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर