नेभिगेसन मेनु

भारतले विस्फोटक पदार्थ दिन आनाकानी गर्दा जलविद्युत् आयोजनामा ढिलाइ
सम्पादक:南亚网络电视
समय:2023-03-24 12:24

thumb (2)

काठमाडौँ — नेपालमा निर्माणाधीन पूवार्धार आयोजनाहरूमा विस्फोटक पदार्थको अभाव भएको छ । ठूला पूर्वाधार आयोजनामा अत्यावश्यक पर्ने विस्फोटक पदार्थ उपलब्ध नहुँदा निर्माणाधीन आयोजना समस्यामा परेका छन् ।

हाल नेपाली सेनाको मकवानपुर, सुनाचरीमा रहेको इमल्सन प्लान्टमा उत्पादन हुने विस्फोटक पदार्थले माग धान्न सकेको छैन । सेनाले मागअनुसारको आपूर्ति गर्न नसकेपछि त्यसको विकल्पमा व्यवसायीले भारतबाट विस्फोटक पदार्थ ल्याउने गरेका छन् । भारतले चिनियाँ कम्पनी संलग्न आयोजनालाई विस्फोटक पदार्थ ल्याउनमा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) मा कडाइ गरेको जलविद्युत् आयोजना निर्माणकर्ताको गुनासो छ । विस्फोटक पदार्थ अभावका कारण १४० मेगावाटको तनुहँ जलविद्युत् आयोजना, साञ्जेन, २१६ मेगावाटको त्रिशूली–१ जलविद्युत् आयोजना, ४७.८० मेगावाटको खिम्ती–२, तल्लो इर्खुवा खोलालगायता आयोजनामा ढिलाइ भएको छ । यससँगै अन्य बन्दै गरेका आयोजनासमेत समस्यामा छन् ।

विशेषगरी जलविद्युत् आयोजनाहरूमा सडकमार्ग र सुरुङ बनाउन ठूलो मात्रामा विस्फोटक पदार्थ आवश्यक पर्छ । तर विस्फोटक पदार्थको अभावमा बन्दै गरेका पूर्वाधारमा समस्या भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) उपाध्यक्ष गणेश कार्कीले जनाए । ‘सेनाको उत्पादनले धान्न सक्ने अवस्था छैन । भारतबाट आयात भएको छैन । यसले गर्दा हाम्रा कतिपय आयोजनाको काम रोकिएको छ,’ उनले भने ।

भारतले विस्फोटक पदार्थ आयातमा पनि कम्पनी हेरेर ढिलोचाँडो गर्ने गरेको कार्कीको दाबी छ । विशेषगरी चिनियाँ कम्पनी संलग्न आयोजनामा विस्फोटक पदार्थ दिन भारतले निकै विलम्ब गर्ने गरेको उनको भनाइ छ । भारतले अनुमतिमा ढिलाइ गर्ने र अनुमति नदिए पनि कुनै कारण नखुलाउने गरेको उनले बताए । इप्पान अध्यक्ष कृष्णप्रसाद आचार्यले पनि विस्फोटक पदार्थको अभावले जलविद्युत् आयोजनामा समस्या रहेको स्विकार्छन् । ‘धेरै आयोजनामा हाल विस्फोटक पदार्थको समस्या रहेको मैले सुनेको छु,’ उनले भने, ‘यसमा सरकारले नै पहल गरेर समाधान गर्नुपर्छ ।’

विस्फोटक पदार्थका कारण निर्माणाधीन आयोजनामा निकै समस्या परेको इप्पान सदस्य तथा इसुवा इनर्जीका अध्यक्ष विक्रम विष्टले पनि गुनासो गरे । सेनाले भण्डारण समस्या देखाएर मागअनुसार विस्फोटक पदार्थ दिन नसक्दा जलविद्युत् आयोजनाहरूको सुरुङ निर्माणमा समस्या रहेको उनले बताए । ‘सेनाले एउटा आयोजनाका ८ सय, ९ सय किलो गरी खटाएर मात्रै दिइरहेको छ । यसले गर्दा नेपाली आयोजनाले भारतबाट विस्फोटक पदार्थ ल्याउन फाइल अघि बढाएका छन्,’ विष्टले भने, ‘भारतले अनुमति नदिने, दिए पनि ढिलाइ गर्नेलगायत समस्याले निर्माण रोकिने गरेको छ ।’

विस्फोटक पदार्थ भारतबाट ल्याउन विद्युत् विकास विभाग, ऊर्जा तथा जलस्रोत मन्त्रालय, गृह रक्षा मन्त्रालय, परराष्ट्र हुँदै भारतीय राजदूतावास पुगेपछि मात्रै प्रक्रिया अघि बढ्ने गरेको विष्ट बताउँछन् । हाल भारतबाहेक अन्य देशबाट विस्फोटक पदार्थ आयात गर्न इप्पानले सरकारसँग माग गर्दै आएको विष्टको भनाइ छ ।

विस्फोटक पदार्थ आयातका लागि निकै झन्झट रहेकाले राष्ट्रिय प्राथमिकतामा परेका आयोजनालाई विशेष प्राथमिकता दिएर छिटोछरितो गर्नुपर्ने उनको धारणा छ । विस्फोटक पदार्थ नै नभएर पिपल्स इनर्जीले निर्माण गरिरहेको ४७.८० मेगावाटको खिम्ती–२ र तल्लो इसुवा खोला ३७.७ मेगावाटको सुरङ निर्माणमा ढिलाइ भएको विष्ट बताउँछन् । भारतले विस्फोटक पदार्थमा कडाइ गरेका कारण देशभर निर्माणाधीन आयोजना प्रभावित भएको बुद्धभूमि हाइड्रोपावर कम्पनीका निर्देशक तथा इप्पान सचिव बलराम खतिवडाले जनाए । २१६ मेगावाटको त्रिशूली–१ जलविद्युत् आयोजना, ४२.५ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनालगायतमा पनि काम अघि नबढेको उनको भनाइ छ । खतिवडाको भनाइ छ ।

विस्फोटक पदार्थको अभावमा सरकार नै मुख्य कारण भएको इप्पानका पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईं बताउँछन् । ‘विस्फोटक पदार्थको अभाव हाम्रै कारणले भएको हो । संसारभर सजिलै पाइने कच्चापदार्थ ल्याएर यहाँ सजिलै उत्पादन गर्न सकिने यस्ता पदार्थ हामीलाई उत्पादन गर्न खुला गरिएको छैन,’ उनले भने, ‘सरकारले अनुमति दिने हो भने केही महिनामै हामी उत्पादन गर्न सक्छौं ।’

नेपालमा उत्पादन सहज नभएसम्म यस्तो समस्या समाधान हुन कठिनाइ रहेको गुरागाईंको भनाइ छ । ‘भारतले विभिन्न बहाना देखाएर रोकिदिन्छ, अनि यहाँ सधैं समस्या रहन्छ । हामीले नै उत्पादन बढाउनुको विकल्प छैन,’ उनले भने । एकातिर भारतले चिनियाँ कम्पनी संलग्न जलविद्युत् आयोजनामा विस्फोटक पदार्थ ल्याउन अनुमति नदिने र नेपाली सेनासँग पनि ५ टन माग गर्दा १ टन पनि उपलब्ध नहुनाले समस्यामा परेको नेसनल हाइड्रो कम्पनीका सञ्चालक कुमार पाण्डेले जनाए । आफ्नो कम्पनीले निर्माण गरिरहेको तल्लो इखुवाखोला जलविद्युत् आयोजना विस्फोटक पदार्थ अभावकै कारण निर्माणमा ढिलाइ भएको उनको भनाइ छ ।

विस्फोटक पदार्थको अभावले तनहुँ जलविद्युत् आयोजना निर्माणमा समेत ढिलाइ भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङ बताउँछन् । विस्फोटक पदार्थ कच्चापदार्थको कमीको कारण देखाउँदै सेनाले सप्लाई गर्न नसकेपछि आयोजनाको दोस्रो प्याकेजमा असर गरेको घिसिङले जनाए । चिनियाँ कम्पनी सिनो हाइड्रोले काम गरिरहेको प्याकेज–१ विस्फोटक पदार्थको अभावले ढिलाइ भएको उनको भनाइ छ । विस्फोटक पदार्थ अभावको समस्या समाधान नभए यसले जलविद्युत् आयोजनाको लागत दिनानुदिन बढ्दै जाने घिसिङले जनाए ।

यता नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले पनि आयोजनाहरूलाई मागअनुसार विस्फोटक पदार्थ दिन नसकिएको स्विकारे । ‘सेनाको मात्रै उत्पादनले आन्तरिक माग धान्न सकिने अवस्था छैन,’, उनले भने, ‘हाल भारतबाट आयातमा कमी आएकाले हाम्रोमा माग उच्च छ । त्यसैले पनि समस्या केही बढेको हो ।’ कामै रोकिने गरी कुनै समस्या भएको जानकारी भने आफूले नपाएको भण्डारीको भनाइ छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर