नेभिगेसन मेनु

लमजुङको दूध सिधै काठमाडौं
सम्पादक:南亚网络电视
समय:2023-03-13 13:37

thumb (2)

लमजुङको राइनास नगरपालिका–५ तीनपिप्लेमा स्थापित राइनास दूध चिस्यान केन्द्रमा दूध लिएर आएका किसान ।

राइनास नगरपालिका–४ सातबिसेकी मैया खत्रीले ३ वटा दुहुना गाई पालेकी छन् । गाईले प्रतिदिन ३२ लिटरसम्म दूध दिन्छन् । विगतमा दूध छरछिमेक र गाउँघरमा यताउता गर्दागर्दै सकिन्थ्यो ।

अहिले भने दूध संघीय राजधानी काठमाडौं पुग्छ । उनी मात्रै होइन, राइनास–५ तीनपिप्लेका शेरबहादुर अधिकारीले पालेको २ वटा होलस्टिन क्रस गाईले दैनिक दिने १५ लिटर दूध पनि अहिले काठमाडौं पुग्छ । ‘भैंसी पालियो, गाई पालियो । दूध दिन्छ, यताउता गर्दागर्दै घरमै सकिने । अहिले त हाम्रो दूध काठमाडौं पुग्छ,’ उनले भने ।

तीनपिप्लेका राजु उपरकोटीका अनुसार दूध सहकारीमार्फत चिस्यान केन्द्रमा संकलन गरेर काठमाडौं लगिन्छ । ‘पोहोर, परार दूध गाउँतिरै अलिअलि बेचिन्थ्यो । बिक्री हुने थिएन । प्रतिदिन दुई पटक दही मथिन्थ्यो, फालिन्थ्यो । अब भने त्यो अवस्था रहेन,’ उनले भने । उनले दिनकै १५ लिटर दूध बिक्री गर्दै आएका छन् ।

तीनपिप्लेको जनविकास सहकारी संस्थाले दूध चिस्यान केन्द्र स्थापना गरेर गाउँलेको दूध संकलन गरेर साताको दुई पटक काठमाडौं लैजाने गरेको छ । प्रतिदिन ७ सय लिटर हाराहारीमा दूध संकलन हुने गरेको सहकारीका व्यवस्थापक बाणिकराज भट्टले जनाए । किसानका साथै कैनीटारमा रहेको राइनास एग्रो प्रालिबाट पनि प्रतिदिन २७ लिटर दूध आउँछ । नगर उपप्रमुख पुष्पराज खनालले पालेको एउटा दुहुना गाईले दैनिक १५ लिटर दूध दिन्छ । दुग्ध विकास संस्थानले ३ हजार लिटर क्षमताको दूध चिस्याउने केन्द्र स्थापना गरेको सहकारीका अध्यक्षसमेत रहेका खनालले बताए । केन्द्रमा संकलित दूध दुग्ध विकास संस्थान (डीडीसी) काठमाडौं लैजान थालिएको उनको भनाइ छ । ‘किसानको दूध खेर जाने स्थिति देखेर चिस्यान केन्द्र खोल्यौं । संकलित दूधको फ्याट जाँच गरेर डीडीसी आफैंले काठमाडौं लान्छ,’ उनले भने ।

राइनास–४, ५ र ६ वडाबाट बढी दूध संकलन हुने गरेको छ । वडा ३, ७ र अन्य वडाबाट पनि आउन सुरु भएको खनालले बताए । गाईपालक किसानलाई बैंक तथा वित्तीय संस्थाले ऋण दिनुपर्नेमा उनको जोड छ । ‘किसानलाई सहुलियत ऋणको नारा ल्याइन्छ तर त्यो व्यवहारमा लागू छैन,’ उनले भने ।

स्थानीयले ०३६ सालतिर पहाडी खाद्यान्न संस्थाले स्थापना गरेको संस्थालाई सहकारीमार्फत अघि बढाएको उपप्रमुख खनालले जनाए । यसमा ६ सय सदस्य छन् । पहिले कोल्की, दूधपोखरी र गोरखाको हर्मी पनि कार्यक्षेत्र थियो । कोल्की र दूधपोखरी अहिले दूधपोखरी गाउँपालिकामा परेपछि सहकारीले राइनासलाई मात्रै आफ्नो कार्यक्षेत्र बनाएको छ । किसानले तराईका चितवन, रौतहट, बारालगायत ठाउँबाट गाई ल्याएर पालेका छन् । राइनासको १ देखि ८ नम्बर वडाको हावापानी र तापक्रम तराईसँग मिल्ने उनको दाबी छ ।

‘किसानले छाकमा ५ देखि ७ लिटर दूध दिने गाई पालेका छन् । हामी किसानलाई गाई पाल्न प्रेरित गरिरहेका छौं,’ खनालले भने । सरकारले गाई खरिद, गोठ, घाँसबीउलगायतमा अनुदान दिए किसान थप आकर्षित हुनेछन् । ‘वास्तविक किसानले सुविधा नपाउने, नाम मात्राका किसानले मात्रै पाउने समस्या छ,’ उनले भने । सहकारीको आफ्नै ३ रोपनी जग्गा छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर