दार्चुला, फागुन १५ गते । महाशिवरात्रि (फागुन ६ गते)का अवसरमा आयोजना गरिएको दार्चुलाको गोकुलेश्वर मेलामा स्थानीय उत्पादनको राम्रो कारोबार भएको छ ।
दार्चुलाको सबभन्दा ठूलो गोकुलेश्वर मेला हरेक वर्ष महाशिवरात्रिदेखि एक हप्तासम्म लाग्ने गर्छ । शिवरात्रिको दिन पूजाआजामा सहभागी हुने दर्शनार्थीले पूजाआजापछि स्थानीय उत्पादन खरिद–बिक्री गरी लैजाने गरेका छन् । स्थानीय उत्पादनको बजार प्रवद्र्धनमा गोकुलेश्वर मेलाले महत्वपूर्ण योगदान पु-याएको स्थानीय व्यापारी तोयराज जोशीले बताउनुभयो ।
“दार्चुला र बैतडीको सीमा क्षेत्रमा लाग्ने यो मेलामा स्थानीय उत्पादनको राम्रो कारोबार हुने गरेको छ । यसले स्थानीय अर्थतन्त्रमा समेत टेवा पु-याएको छ,” उहाँले भन्नुभयो ।
मेलामा दार्चुलाको हिमाली क्षेत्रमा पाइने जडीबुटीका साथै निगालो र काठबाट बनेका सामग्रीको कारोबार हुने गरेको छ । मेलास्थल मट्टेबगरमा निगालोबाट बनेका सामग्री मट्टा, सुप्पा, छाप्रा, डोकालगायतको उल्लेख्य कारोबार भएको छ । पाँचहाते मट्टा तीन हजारदेखि चार हजार रुपियाँमा बिक्री गरिएको छ ।
डोका, सुप्पा, छाप्रा तीनदेखि चार सयमा बिक्री गरिएका छन् । मार्मा गाउँपालिका–१ दह, घोल्जर, तोलिमाण्डौँ, शैल्यशिखर नगरपालिका–४, रानीशिखरलगायत दार्चुलाका विभिन्न ठाउँमा स्थानीयले व्यावसायिक रूपमा निगालोको सामग्री उत्पादन गर्ने गरेका छन् ।
मार्मामा मात्रै करिब पाँच सय परिवारले निगालोका विभिन्न सामग्री निर्माण गर्ने गरेको दहका स्थानीय बिसनसिंह ठगुन्नाले जानकारी दिनुभयो । हरेक वर्ष दार्चुलामा निगालोबाट विभिन्न सामग्री उत्पादन तथा बिक्री हुने गरेको उहाँले बताउनुभयो ।
डडेल्धुराको जोगबुढालगायत विभिन्न स्थानमा काठबाट बनेका पारा, ठेकीलगायतको गोकुलेश्वर मेलामा कारोबार गरिएको पारा व्यवसायी गोविन्द खत्रीले बताउनुभयो । यस्तै स्थानीयस्तरमै निर्माण गरिएका तामा, फलामलगायत धातुका भाँडाकुँडा, माटोबाट बनेका सोल्पा, हुक्का, ऊन र अल्लोको कपडालगायत स्थानीय उत्पादन मेलाको आकर्षणका रूपमा रहने गरेका छन् । भारतको पलियाबाट आएका व्यापारीले कपडा, मिठाईलगायत विभिन्न सामाग्रीको राम्रो व्यापार गर्ने गरेका छन् ।
वि.सं. १९९७ देखि गोकुलेश्वर मेला सञ्चालनमा आएको किंवदन्ती छ । गोकुलेश्वरमा जगतपुरीधाम पनि रहेकाले महाशिवरात्रिको अवसरमा मेला लाग्ने र सोही मेलामा स्थानीय उत्पादनको बिक्री वितरण गर्ने प्रचलन बसेको बूढापाका बताउँछन् ।