बहराइन — अनेक जोडतोड गरेपछि मात्रै माया गुरुङ रफ्फास्थित राजघरानाको विशाल बगैंचाबाट बाहिर आइन्, हँसमुख चेहरा लिएर । राजपरिवार खलकको पारिवारिक बन्दोबस्तीमा मायाजस्ता ४/५ सय नेपाली रहेछन्, जो वर्षौंदेखि यतै छन् ।
उनी ५६ वर्षकी भइन्, बहराइन आएको मात्रै २७ वर्ष बित्यो । उनको उमेरको मध्याह्न र सपनाजपन यही खाडीमा बित्यो । उनीभन्दा अगाडि बहराइन आएकी आफन्त दिदीले पठाइदिएको भिसा र तिरेको ३० हजार रुपैयाँका भरमा उनी मानमा आएकी थिइन् । ‘बाह्रैमास धुप हुन्थ्यो, हरियोपरियो कतै देखिन्नथ्यो,’ रफ्फाको चल्तीको नेपाली रेस्टुराँ पुष्पामा चियापान गर्दै मायाले कुराकानी थालिन्, ‘फेरि गाउँमा ८ कक्षा मात्रै पढेकी र अंग्रेजी–अरबीमा मठ्ठु मेरा लागि दरबारमा निकै मुस्किलको दिन सुरु भएको थियो । तैपनि बहराइनी राजाका मामाको परिवार सहयोगी भएकाले कामकुरा टिप्न समय लागेन ।’
माया ओखलढुंगाको रुम्जाटारमा जन्मिन्, हुर्किन् । १५ वर्षमै बिहे भएपछि दुःखजिलो गर्ने तालिका झनै मुस्किलको बन्यो । श्रीमान् भीम गुरुङ श्रीमती भित्र्याएपछि नेपाली सेनामा भर्ती हुन गएका थिए, तर फौजको जागिरमा धेरै लामो टिकेनन् ।
काठमाडौं आएपछि कामको टुंगो नहुँदा गुरुङ दम्पतीले रोजगारीमा खाडी छिर्ने सोच बनाएका थिए । एउटा वैदेशिक रोजगारीको अवसर समाएर सन् १९९३ मा भीम बहराइन छिरेका थिए । उनी यता ३ वर्ष रोजीरोटीमा रहेपछि घर फिरे, अनि श्रीमती माया राजपरिवारमा खद्दामा भएर काममा छिरिन् । ‘यता आउँदा ५ वर्षको छोरा र २ वर्षकी छोरीलाई घरमै छाडेर आएकी थिएँ । छोराछोरी सम्झेर रोइरहन्थें,’ मायाले सुनाइन्, ‘तर, सधैं–सधैं मायाको लोलोपोतोले जीवन नचल्ने रहेछ, जीवन त्यसैगरी चल्यो पनि ।’
‘राजदरबारभित्र के काम हुन्छ त ?’ प्रश्न झर्न नपाउँदै उनले कामको आफ्नै पारा र बाँडफाँट सुनाइन् । कोही बगैंचामा, कोही किचन, ड्राइभर, सेक्युरिटी, सुसारे, बालबच्चा हेर्ने, सरसफाइ...विशाल हवेलीभित्रको एउटै दरबारमा यी र यस्ता जिम्मेवारी लिएर बस्ने नेपालीको संख्या १२/१५ जति हुने रहेछ । यस्ता दरबार र परिवारको संख्या रफ्फामा मात्रै एक दर्जन जति रहेछ । बहराइन वा खाडी मुलुकमा रहेका अदक्ष कामदारलाई दिइने तनाखाभन्दा निकै राम्रो तलब, बक्सिस, घर आतेजाते टिकट र विदेश घुम्न पाइरहने अवसरसमेत ।
‘मेरो त पासबुकै सकिएको छ, पेज भरिएको छ,’ उनले सुनाइन्, ‘म बसेको घरमा ससाना छोराछोरी हुर्काउने/बढाउने मेरो काम थियो । उनीहरू अहिले १२ र १४ वर्षका भइसके । ती नानीबाबुको छुट्टी मिलाएर वा राजपरिवारका सदस्य हरेक वर्ष अमेरिका–युरोप भ्याकेसनमा गइरहन्छन् । अनि म पनि सँगै जानैपर्यो ।’ काम र तहका हिसाबमा अरबभूमिमा आफूले गर्ने कामलाई ‘खद्दामा’ (घरेलु कामदार) भनिए पनि त्यस्तो विभेद र हेला कहिल्यै अनुभव नगरेको मायाको भोगाइ छ । त्यही अवसरमा जोडिएर माया अमेरिका, क्यानडा, जर्मनी, फ्रान्स, इटालीसहितका दर्जनभन्दा बढी मुलुक पुगिसकेकी रहिछन् । नेपाल आउजाउ गर्दा अध्यागमनका कर्मचारी पनि मायाको पासपोर्टका भिसा र छाप देखेर अचम्ममा पर्ने गरेका रहेछन् ।
कतिसम्म भने स्टाफ नर्स पढाइ सकेर मायाकी छोरी रन्जिता गुरुङ पनि बहराइन आएको ११ वर्ष भइसकेको छ । उनी पनि राजपरिवारसम्बद्ध बहराइन डिफेन्स फोर्स हस्पिटलमा नर्स काम गर्छिन् । मायाका श्रीमान् भीम यतिखेर साउदी अरेबियामा कार्यरत छन् ।
‘हामी बूढाबूढीले दुःख गरेर काठमाडौं, कपनमा घर बनाएका छौं । छोराछोरी पढाएर सक्षम बनाएका छौं,’ माया भन्छिन्, ‘अब घर फिरौं भनेको यहाँ आफूले हुर्काएका छोराछोरीले जानै दिँदैनन् । पहिला आफूले जन्माएका बालबच्चाको मायाले तान्थ्यो, अहिले यता आफूले हुर्काएका छोराछोरी छाडेर जान सकिएको छैन ।’ यसो भनिरहे पनि अब ४ वर्षपछि अथवा उमेरमा ६० लागेपछि भने घरै फर्केर जाने योजना मायाले राखेकी छन्, त्यसको पनि त्यति टुंगो छैन ।
यसरी राजपरिवारमा ‘खद्दामा’ बनेर र सम्मानित नाम बनाउनेमा माया सबैभन्दा अग्रज रहिछन् । बहराइनको तमु समाज सम्बद्ध रहे पनि नेपालीका भेला वा दूतावासको कार्यक्रमहरूमा जाने फुर्सद पनि उनलाई त्यति नमिल्ने रहेछ । बाहिर हुने नेपाली गतिविधिबारे मनामामा व्यवसाय गरेर बसेका पदमकुमार गुरुङ, कमल गुरुङ भाइहरुले खबर दिने गरेको बताइन् । ‘यहाँ बाहिर समाजमा म त्यति जान्नँ, त्यही हाम्रो ल्होसार (गुरुङ) मा भने जाने गरेकी छु,’ उनले थपिन्, ‘म विदेश आए पनि मेरो घरपरिवारबाट टाढा भएकी छैन । मैले माइतमा बाबुआमा र घरमा सासूससुरालाई खुसी राख्न सकेकी थिएँ । एउटी छोरी–बुहारीको जीवनमा यो पनि ठूलो सन्तोष मान्नुपर्ने कुरा रहेछ ।’
खाडी मुलुकमा घरेलु कामदार पठाउन नेपाल सरकारले रोकेको भए पनि राजपरिवारको सम्बन्ध र आवश्यकतामा घरमा काम गर्ने दाजुभाइ–दिदीबहिनी आउन नरोकिएको उनले सुनाइन् । माया आफैंले स्वयंसेवी बनेर २० जति आफन्तलाई राजपरिवारभित्र ल्याएकी रहछिन् । ‘मैले यहाँका राजघरानाका सदस्यलाई नेपाल घुम्न लगेकी छु । उनीहरूलाई नेपालबारे धेरै कुरा थाहा छ,’ मायाले भनिन्, ‘अरूभन्दा नेपालमा राजदरबार हत्याकाण्ड भएका बेला यस्तो के, किन, कसरी भयो भनेर उनीहरू प्रश्न गरिरहन्थे । त्यसको जवाफ मसँग थिएन ।’
मायाका बुझाइ र भोगाइमा नेपाल–नेपालीको श्रम बजारमा खाडी जगत् भन्नेबित्तिकै ‘नाक खुम्च्याउने प्रवृत्ति’ कायमै छ । ‘तर म भने गौरव गर्छु । यही खाडीको काम र दामले उता घर–माइतमा शिर ठाडो बनाएर हिँड्न सकेकी छु, मजस्ता एक सयभन्दा बढी दिदीबहिनी राजपरिवारकै घरेलु काममा छन् । सबैको इज्जत छ, सम्मान छ,’ उनी भन्छिन्, ‘खराब त कहाँ छैन र ? अमेरिका–युरोप जतै पनि खराब भेटिन्छ नै । जतै गए पनि सुरुमा आफैं ठीक हुनुपर्छ । राम्रो श्रमको कागज बनाएर र आफूमा कामको सीप लिएर आएमा सबै ठीकै हुन्छ, होइन भने बेठिक भइरहन्छ । आफू ठीक भयो भने संसार ठीक हुन्छ भन्छु म ।’
राजपरिवारसँगको नेपाल–नेपाली लगाब कस्तोसम्म रहेछ भने मायाले गाउँबाट ल्याएको लोकल चामलकै भात खान रुचाउने रहेछन् सबै जना । नेपालबाटै लोकल अण्डा ल्याउनु भनेर खर्च दिएरै पठाउने रहेछन् । उनीहरू पाकिस्तानसम्म गएर चराचुरुंगी सिकार गरेर आउने रहेछन् ।
‘उनीहरू नेपालबारेको खबर टेलिभिजनमा हेर्छन् । अनि राजनीतिक हूलमूल, दंगा वा अशान्तिका अरू घटना देखाएर भन्छन्– उता नजाऊ है अहिल्यै, स्थिति राम्रो रहेनछ । राम्रो भएपछि मात्रै जाऊ,’ उनले सुनाइन्, ‘तर, त्यसरी आफ्नो देशमा राम्रैराम्रो भएको खबर कहिले हेर्न र सुन्न पाइने हो, त्यो भने थाहा पाउन सकेकी छुइनँ । सायद मानमामा मेरो भागको नुनपानी सकिएको छैन क्यारे !’