नेभिगेसन मेनु

किन आएनन् सीआईए प्रमुख बर्न्स ?
सम्पादक:南亚网络电视
समय:2023-02-23 12:30

thumb (7)

अमेरिकी सरकारले बर्न्स आउने मिति, विमानका लागि स्थान, बर्न्स आफैंले ल्याउने गाडी र सुरक्षालगायत विषयमा नेपाल सरकारलाई पहिले नै जानकारी दिएको थियो । निर्देशक बर्न्स श्रीलंकाको भ्रमण गरी नेपाल हुँदै अमेरिका फर्कने तयारीमा थिए । नेपाल सरकारले स्वीकृति नदिएपछि उनी श्रीलंकाबाटै फर्किएका छन् ।

‘नेपालमा राष्ट्रपति निर्वाचनको मुखमा शक्तिराष्ट्रका जासुस प्रमुखहरूले यस्तो भ्रमण गर्दा मुलुकको राजनीति र आम रूपमा समेत गलत सन्देश जाने भएकाले निर्देशक बर्न्सको भ्रमण अस्वीकृत गरिएको हो,’ परराष्ट्र स्रोतले भन्यो ।

स्रोतका अनुसार सीआईए निर्देशक बर्न्सको भ्रमण प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको तहबाटै रोकिएको हो । ‘यो भ्रमणको प्रस्ताव आएको र त्यसलाई सीधै अस्वीकृत गरेको विषयमा सरकारका अन्य मन्त्री र उच्च अधिकारीहरूलाई समेत जानकारी छैन,’ परराष्ट्रका एक अधिकारीले कान्तिपुरसँग भने, ‘बर्न्सको भ्रमणलाई स्वीकृति नदिइएकामा अमेरिकी सरकार भने आश्चर्यचकित भएको छ । नेपाल सरकारले भ्रमण नै यसरी रोक्छ भन्ने उनीहरूले सोचेका थिएनन् ।’

निर्देशक बर्न्सको भ्रमणको सम्पूर्ण तयारी मिलाउने जिम्मेवारी काठमाडौंस्थित अमेरिकी दूतावासको रक्षा सहचारीको कार्यालयलाई थियो । बर्न्स अमेरिकी हवाई सेनाको सी–१७ ग्लोबमास्टर–३ बोइङको चार्टर जहाजमा आउन लागेका थिए । उनको टोलीमा २४ जना हुने प्रस्ताव थियो । विमान फागुन ३ गते बेलुकी ६ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने र फागुन ४ गते दिउँसो १ः१५ बजे फर्कने अमेरिकी प्रस्ताव थियो । उनी नेपाल उत्रनु अघि र पछि थप दुई वटा सी–१७ ग्लोबमास्टर–३ जहाज ल्याउन लागिएको थियो ।

बर्न्स आउँदा विमानबाट कूटनीतिक सहजता मिल्ने गरी सामग्री पनि ल्याउने प्रस्तावमा उल्लेख थियो । उच्च सुरक्षाका लागि निर्देशक बर्न्सले आफ्नो लागि विमानमै गाडी ल्याउने प्रस्ताव गरेका थिए । भ्रमणका दौरान सीआएई निर्देशक बर्न्सले कस–कसलाई भेट्ने तथा के–के काम गर्ने भन्नेबारेमा भने केही पनि बाहिर ल्याइएको थिएन ।

सन् २०२१ मार्च १९ मा निर्देशकमा नियुक्त भएका बर्न्सलाई अमेरिकामा संकटको बेला काम गर्ने कर्मचारीका रूपमा चिनिन्छ । कूटनीतिक सेवामा ३३ वर्ष बिताउने क्रममा उनले विभिन्न मुलुकमा राजदूतको जिम्मेवारी सम्हालिसकेका छन् । उनी विदेश उपमन्त्री र राजनीतिक मामिला उपमन्त्री पनि भइसकेका छन् ।

अमेरिकामा सीआईए र त्यसका निर्देशकले गुप्तचर सूचना संकलन, विश्लेषण, गोप्य कार्य, काउन्टर इन्टेलिजेन्स र विदेशी सेवासँग सम्पर्क–सम्बन्ध व्यवस्थापन गर्छन् । उनीहरूले मानव स्रोतबाट प्राप्त विदेशी जासुसी जानकारी व्यवस्थापनको पनि निरीक्षण गर्छन्, जसलाई हुमिन्ट (मान्छेको इन्टेलिजेन्स) भनिन्छ । सीआईए निर्देशकले राष्ट्रिय इन्टेलिजेन्सका निर्देशकलाई रिपोर्ट गर्छन् । सिनेटको सल्लाह, सहमति र पुष्टिका साथ राष्ट्रपतिले निर्देशक मनोनीत गर्छन् ।

नेपालमा पछिल्लो समय अमेरिकाबाट लगातार भ्रमण भइरहेको छ । राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड माघ १६–१७ मा, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रमुख (प्रशासक) समान्था पावर माघ २४–२५ र दक्षिण तथा मध्य एसिया मामिला ब्युरोकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तरले फागुन १ र २ मा भ्रमण गरेका थिए । ‘हामीले नेपालको चासो अनुसार राजनीतिक, कूटनीतिक र सहयोगलगायत विषयमा हुने भ्रमणलाई स्वीकृति दिएका छौं । तर जासुसी स्तरको भ्रमणलाई अहिलेको समयमा स्वीकृति दिएनौं,’ परराष्ट्र स्रोतले भन्यो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर