काठमाडौँ — नेपालका लागि चिनियाँ राजदूत चेन सङले पुस २९ मा राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएर जिम्मेवारी सम्हाल्दा नेपालमा पुष्पकमल दाहाल भर्खरै प्रधानमन्त्री चयन भएका थिए । चेनले नेपालको जिम्मेवारीलाई कसरी लिएका छन् ? नेपाल–चीन रेलमार्ग तथा सीमानाका सञ्चालनमा भएका प्रगतिबारे उनको बुझाइ के छ ? चीनले छिट्टै चिनियाँ पर्यटक नेपाल पठाउला त ?
नेपालमा ठूला शक्ति राष्ट्रहरूबीच बढ्दो भूराजनीतिक प्रतिस्पर्धालाई उनले कसरी लिएका छन् ? यिनै विषयमा काठमान्डु पोस्टका बिश्वास बरालले उनीसँग इमेलमार्फत गरेको संवाद :
तपाईं चिनियाँ राजदूतका रूपमा नेपाल आएको एक महिना भइसक्यो, तपाईंले नेपाललाई कसरी बुझ्नुभएको छ ?
चिनियाँ जनताले नेपाललाई हिमालयको दक्षिणपट्टि रहेको सयौं फूल फुलेको र सुखी जनता रहेको एक सुन्दर देशका रूपमा सम्झिन्छन् । म बेइजिङमा रहेका बेला ‘म्याउजिङ’ भन्ने बौद्ध विहारको अगाडिबाट धेरै पटक हिँडेको छु । त्यस बौद्ध बिहारको सेतो चैत्य नेपाली कलाकार अरनिकोको नेतृत्वमा निर्माण गरिएको हो । यस वर्षको जनवरी ८ मा म आफ्नो कार्यभार सम्हाल्न नेपाल आउँदा हवाईजहाजबाट ओर्लिनासाथ नेपाली जनताको हार्दिक सद्भावबाट धेरै प्रभावित भएँ । यसबीचमा म नेपालका धेरै ठाउँमा गएँ, विभिन्न क्षेत्रका मित्रहरूसँग भेटघाट गरें । मैले नेपाली जनताको विकास र समृद्धिप्रतिको उत्कट चाहना महसुस गरें, चीन–नेपाल मित्रता गहिरिँदै गएको अनुभूति गरें । सबै क्षेत्रका नेपाली जनताको संयुक्त प्रयास, चीनलगायत अन्य मित्रराष्ट्रहरूको समर्थन र सहयोगमा नेपालले देश विकास गर्ने र जनता समृद्ध बनाउने आफ्नो चाहनालाई साकार बनाउन सक्छ भन्ने मलाई विश्वास छ । दुई देशका नेताहरूको सबल नेतृत्वमा चीन–नेपाल सम्बन्धले नयाँ उपलब्धि हासिल गर्ने विश्वास पनि छ ।
तपाईंको प्रमुख कार्ययोजना के हो ? चीन–नेपाल सम्बन्धबारे कसरी सोच्नुभएको छ ?
सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी एकअर्को देशको भ्रमण गरेर दुई मुलुकबीच विकास तथा समृद्धितर्फ अग्रसर हुने पुस्तौंको मैत्रीपूर्ण रणनीतिक सहकार्यको सम्बन्ध स्थापना गर्नुभएको थियो । यो वर्ष चीनका लागि चिनियाँ कम्युनिस्ट पार्टीको २० औं महाधिवेशनले निर्देशित गरेको रणनीति र कार्ययोजना कार्यान्वयन तथा समाजवादी आधुनिक देश निर्माण गर्ने नयाँ विजययात्रा प्रारम्भको हो । नेपालका लागि पनि यो नयाँ सरकारको कार्यसम्पादनको पहिलो वर्ष हो । नयाँ ऐतिहासिक प्रारम्भ बिन्दुमा उभिई चीन नेपालसँग काँधमा काँध मिलाई समृद्धितर्फ अघि बढ्न चाहन्छ ।
हामीले दुई देशको रणनीतिलाई मेल गराउने नयाँ बाटो अन्वेषण र विकास गर्नुपर्नेछ । चीन आफ्नो उच्च गुणस्तरको विकासका अवसरमा हिस्सा बनाउन, ‘बेल्ट एन्ट रोड इनिसिएटिभ’ (बीआरआई) र वैश्विक विकासका पहलमा सक्रिय सहभागी गराउन र चिनियाँ आर्थिक उन्नतिको ‘एक्स्प्रेस गाडी’ मा चढ्न नेपाललाई उत्प्रेरित एवं स्वागत गर्छ ।
हामीले सहकार्यका लागि नयाँ फोरमहरू निर्माण गर्नुपर्नेछ । चिनियाँ पक्ष नेपाली पक्षसँग बीआरआई, पूर्वाधार सहयोग अभिवृद्धि, स्वच्छ ऊर्जा र गरिबी निवारणमा सहकार्य गर्न चाहन्छ । चीनले चिनियाँ उद्योगहरूलाई नेपालमा लगानी गर्न, व्यवसाय सञ्चालन गर्न र ‘नेपालमा बनेको’ भन्ने सोचलाई साकार बनाउन प्रोत्साहन गर्छ । यस्तै, जनस्तरमा सांस्कृतिक आदानप्रदान र सहयोगलाई नयाँ उचाइ दिनुपर्नेछ । चीन नेपाली पक्षसँग विविध सांस्कृतिक आदानप्रदान कार्य प्रारम्भ गरी दुई देशको संस्कृतिलाई एकअर्काको परिपूरक बनाउन चाहन्छ । मलाई विश्वास छ, हामी हाम्रो बुद्धिमत्ता एवं पहलबाट नेपाली र चिनियाँ समुदायलाई अझै घनिष्ठ बनाउन सक्छौं ।
हिमालय वारपारको बहुआयामिक कनेक्टिभिटी सञ्जाल निर्माण गर्ने चिनियाँ र नेपाली नेताहरूबीच महत्त्वपूर्ण समझदारी छ । यस विषयमा चिनियाँ पक्षको के योजना छ ? चीन–नेपाल सीमा वारपार रेलमार्ग, स्थलमार्ग, नाकासम्बन्धी सहकार्यमा के कस्ता प्रगति छन् ?
हिमालय वारपारको बहुआयामिक कनेक्टिभिटी सञ्जाल चीन र नेपालको उच्च गुणस्तरको बीआरआईसम्बन्धी सहकार्यकै महत्त्वपूर्ण अंश हो । यो रेलमार्ग, राजमार्ग, हवाईमार्ग, नाका, सञ्चार, विद्युतीय ग्रिड आदि समाविष्ट बहुआयामिक कनेक्टिभिटी सञ्जाल हो । यसबाट जनजीविकामा टेवा पुग्नेछ, नेपालको भूपरिवेष्टितबाट भूजडित देश बन्ने सपना साकार भई नेपाली जनताको कल्याण हुनेछ । यससम्बन्धी परियोजनाले नेपाली अर्थतन्त्रको आत्मविकास शक्तिलाई निरन्तर बढाउनेछ र यसबाट नेपालको विकासमा नयाँ शक्तिशाली पखेटा थपिएजस्तो हुनेछ ।
चीन र नेपाल दुवै पक्षको सामूहिक प्रयासमा अप्टिकल फाइबर जोड्ने कार्य पूरा भइसकेको छ । अरनिको राजमार्गको तेस्रो चरणको मर्मत सम्भार सम्पन्न भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आइसकेको छ । चीन–नेपाल हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी सञ्जालले विस्तार आकार लिँदै छ । मलाई विश्वास छ, हामीले एकसाथ मिहिनेत गर्यौं भने चीन–नेपाल बीआरआई सहकार्यले आगामी दिनमा अझ बढी उपलब्धि हासिल गर्न सक्नेछ ।
सीमा वारपार रेलमार्ग निर्माण चीन र नेपालका नेता एवं जनताको साझा सपना हो । चिनियाँ विशेषज्ञहरूको समूहले नेपाल आएर सम्भाव्यता अध्ययन सकेर मजबुत आधार तयार गरेका छन् । केही समयअघि केरुङ नाकाबाट दुईतर्फी सामान वारपार र फुलान–हिल्सा नाकाबाट चीनबाट नेपालमा एकतर्फी सामान पार खुलेको छ । चिनियाँ पक्षले यस वर्ष लिच–लोमान्थाङ नाकामा आफ्नोपट्टि बन्दरगाह निर्माण सक्नेछ । नेपाली पक्षले पनि आफ्नोपट्टि आधारभूत संरचना यथाशीघ्र निर्माण गरी लिच–लोमान्थाङ बन्दरगाह खुलाउने वातावरण तयार गर्ने विश्वास छ ।
नेपालमा वाम पार्टीको नेतृत्वमा संयुक्त सरकार गठन भएको छ, चिनियाँ पक्षले यसलाई कसरी हेरेको छ ?
चीनले नेपालको हरेक सरकारसँग राम्रो सम्बन्ध राख्दै आएको छ । नेपाली मित्रहरूले भनेजस्तै चीन र नेपालको मित्रतामा कुनै समस्या छैन । चीनले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप गरेको छैन । नेपालका सम्पूर्ण राजनीतिक पार्टी र जनतासँग चीनको मित्रता छ । चीनले सत्तारूढ र प्रतिपक्षी पार्टीलाई कहिले पनि फरक व्यवहार गरेको छैन । नेपालको मूलभूत र दीर्घकालीन हितका लागि समावेशीकरण, स्वतन्त्रता एवं सार्वभौमसत्ताको रक्षा, राजनीतिक स्थिरता र आर्थिक विकास एवं जीवनस्तर उकास्ने विकासका कार्यमा चीनले सबै दललाई सधैं समर्थन गर्छ । यस प्रक्रियामा चीन सदैव नेपालको विश्वसनीय एवं भरपर्दो असल छिमेकी, साथी र सहकर्मी हो ।
केही समयअघि चीन सरकारले आफ्नो देशमा महामारी नियन्त्रणको नीति परिवर्तन गरेको थियो र त्यसले अन्तर्राष्ट्रिय समुदायको ध्यान व्यापक रूपमा तानेको थियो । यसबारे प्रस्ट्याइदिनुहुन्छ कि ?
विगत ३ वर्षमा शताब्दीकै सबैभन्दा ठूलो महामारी बारम्बार देखा परेको तथ्यलाई ध्यानमा राखी चीनले सदैव ‘जनता नै सर्वोपरि हुन्, जीवन नै सर्वोपरि हो’ भन्ने धारणामा केन्द्रित भई महामारी नियन्त्रणको नीतिलाई निरन्तर सुधार गर्दै लगेको छ । यसबाट उच्चतम हदमा जनताको जीउज्यान र स्वास्थ्यको रक्षा गर्न चीन सफल भएको छ । विश्वका ठूला देशहरूमध्ये चीन सबैभन्दा कम संक्रमित र मृत्यु हुने मुलुक बनेको छ । चीनले विभिन्न देशलाई २ अर्ब २० करोड मात्रा खोप र खर्बौंको संख्यामा महामारी रोकथाम सामग्री प्रदान गरेको छ । चीनले महामारी रोकथाममा पुर्याएको योगदान चानचुने थिएन, सिंगो विश्व यसको साक्षी छ र इतिहासले यो सम्झिरहनेछ ।
अहिले चीनमा कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि दोस्रो वर्गको सरुवा रोगसरहको नियन्त्रण व्यवस्था गरिएको छ । चीनमा महामारी समग्र रूपमा न्यूनस्तरमा पुगिसकेको छ । ठाउँठाउँमा पहिलेजस्तै भीड बढ्न थालिसकेको छ । चीनको वसन्त उत्सव (परम्परागत नयाँ वर्ष) को बेला रेल, राजमार्ग, जलमार्ग र हवाईमार्गबाट २२ करोड ६० लाखभन्दा बढीले यात्रा गरेका थिए । आन्तरिक पर्यटनबाट ३ खर्ब ७५ अर्ब ८४ करोड ३० लाख युआन राजस्व संकलन भएको थियो । प्रतिदिन सीमा वारपार गर्नेहरूको संख्या ४ लाख १० हजार पुगेको थियो भने सिनेमा बक्स अफिसबाट ६ अर्ब ७५ करोड ८० लाख युआन आर्जन भएको थियो । यी सशक्त तथ्यांक र उर्लंदो उपभोग खर्चले चीनको समृद्धिशाली परिदृश्यलाई प्रतिबिम्बित गर्छन् । तिनले चिनियाँ अर्थतन्त्रको अदम्य जीवनशक्ति र अडिग स्थितिलाई पनि उजागर गरेका छन् । चीनको महामारीको अवस्थामा समग्र सुधार भएपछि चिनियाँ आर्थिक एवं सामाजिक शक्ति र क्षमता पूर्णरूपले उत्सर्जन हुनेछ । त्यसले विश्व अर्थव्यवस्थालाई पुनर्जीवन दिन अझ बढी आत्मविश्वास र बल थप्नेछ ।
चीन सरकारको महामारी नियन्त्रण नीतिका कारण दुई देशबीच मानिसको आउजाउ पातलिएको छ । बढी संख्यामा चिनियाँ पर्यटक नेपाल कहिले आउँछन् ? नेपाली नागरिकलाई चीन जानका लागि सहज कहिले हुन्छ ?
नेपाल पर्यटकीय स्रोतमा धेरै धनी छ । यहाँ विशिष्ट हिमालय, पहाड, नदीनालाको सुन्दर दृश्यका साथै ऐतिहासिक सांस्कृतिक सम्पदा पनि धेरै छन् । नेपाल चिनियाँ पर्यटकले धेरै रुचाउने पर्यटकीय गन्तव्य हो । सन् २०१३ मा नेपालमा सुटिङ गरिएको चिनियाँ फिल्म ‘अप इन त विन्ड’ ले हामीलाई नेपालको विशिष्ट प्राकृतिक सौन्दर्य र संस्कृतिको जानकारी दिलाएको थियो । त्यस फिल्मले धेरै चिनियाँ पर्यटकलाई नेपालतिर आकर्षित गरेको थियो । यस पटक चिनियाँ नयाँ वर्षको ७ दिने बिदामा चीनबाट विदेशमा जानेको संख्या २८ लाख ७० हजार नाघेको थियो, घुम्न विदेश जाने रिजर्भेसन एक वर्षअघिको भन्दा ६४० प्रतिशतले बढेको थियो । स्वयम्भूमा होस् या ठमेलका सडकहरूमा, चिनियाँ पर्यटकको उल्लेखनीय वृद्धि भएको छ । मलाई विश्वास छ, यस वर्ष नेपाल घुम्न आउने चिनियाँ पर्यटकहरूको संख्यामा क्रमिक वृद्धि हुनेछ । नेपालस्थित चिनियाँ दूतावासले पनि नेपाली जनता चीन जाने प्रक्रियालाई सहज बनाउँदै लैजानेछ र चीन–नेपालबीच संवाद आदानप्रदानका लागि मैत्रीपूर्ण सेतुहरू निर्माण गर्नेछ ।
अन्तर्राष्ट्रिय समुदायले चीनको आर्थिक अवस्थालाई नजिकबाट नियालिरहेको छ, यसलाई कसरी हेर्नुहुन्छ ?
कोभिड–१९ महामारी जस्ता अकल्पनीय घटनाहरूले बारम्बार आघात पुर्याए पनि चीन सम्पूर्ण चाप सामना गरेर समग्र आर्थिक गतिविधिलाई स्थिर बनाउन सफल भएको छ । सन् २०२२ मा चीनको कुल गार्हस्थ्य उत्पादन १७७ खर्ब डलर नाघेको थियो, जुन एक वर्षअघिको भन्दा ३ प्रतिशतले बढी हो । चिनियाँ अर्थतन्त्रको पुनरुत्थान अन्य देशमा भन्दा छिटो भएको छ । हामीले खुलापनलाई सक्रिय रूपमा विस्तार गर्दै लगेका छौं । सन् २०२२ मा वास्तविक प्रयोगमा आएको वैदेशिक पुँजी पहिलो पटक १ खर्ब ७७ अर्ब १० करोड डलर नाघेको थियो । वैदेशिक व्यापार पहिलो पटक ५९ खर्ब अमेरिकी डलर नाघेको थियो र चीन लगातार ६ वर्षसम्म मालसामान व्यापारमा पहिलो देश बन्न सफल भएको थियो । विश्वव्यापी व्यापारको विकास एवं विश्वव्यापी उत्पादन र आपूर्ति सिक्रीलाई स्थिर एवं नियमित बनाउन चीनले अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
चीनमा महामारी नियन्त्रण नयाँ चरणमा प्रवेश गरेपछि जनजीवन र आर्थिक उत्पादन द्रुत गतिले पहिलेको अवस्थामा पुग्न थालेको छ । चिनियाँ आर्थिक वृद्धिको आन्तरिक शक्ति निरन्तर रूपमा बढ्दै गएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषको पछिल्लो प्रक्षेपणअनुसार सन् २०२३ मा चीनको आर्थिक वृद्धिदर ५.२ प्रतिशत पुग्नेछ र विश्व गार्हस्थ्य उत्पादन वृद्धिमा चीनको योगदान ३०–४० प्रतिशत पुग्नेछ । चीनको विकासबाट विश्वलाई पनि लाभ पुग्नेछ । नयाँ विकासको परिवेश निर्माणलाई द्रुततर बनाउँदै चीनले विश्व अर्थतन्त्र पुनर्जीवनको ‘स्थिरकर्ता’ र आर्थिक विकासको ‘प्रारम्भकर्ता’ को भूमिका अझ स्पष्ट पार्दै जानेछ र नेपाललगायतका धेरै देशको आर्थिक पुनर्जीवन र जनजीवनमा सुधार ल्याउन सहयोग पुर्याउनेछ ।
चीनको दक्षिण एसियाप्रति नीति के हो ?
चीन दक्षिण एसियाको सबैभन्दा ठूलो छिमेकी देश हो । चीनको दक्षिण एसियाली देशहरूसँग लामो समयदेखि सम्पर्क रहँदै आएको छ । राष्ट्रिय स्वतन्त्रता र देश विकासको अभियानमा हामीले सधैं आपसी समझदारी र समर्थनमा जोड दिँदै आएका छौं । हामीबीच गहिरो मैत्रीपूर्ण सम्बन्ध छ । दक्षिण एसिया बीआरआईको स्थलमार्ग र जलमार्ग जोडिने ठाउँमा रहेको छ, यो बीआरआईको अन्तर्राष्ट्रिय सहकार्यको महत्त्वपूर्ण दिशा पनि हो । चिनियाँ राष्ट्रपति सी चिनफिङले बीआरआई प्रस्तावना अघि सारेको दस वर्ष पूरा भएको छ । दस वर्षयता हामीले सुखदुःखमा एकसाथ रहेर सम्बन्धमा अनेक नयाँ अध्याय थप्यौं । चीन–नेपाल हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी सञ्जालले आकार लिँदै छ । चीन–पाकिस्तान आर्थिक करिडोरको निर्माण पूरा भई धेरै उपलब्धि पनि हासिल भइसके । चीन–माल्दिभ्समैत्री पुलको निर्माणबाट माल्दिभ्सका जनताको सयौं वर्ष पुरानो सपना साकार भएको छ । कोलम्बो बन्दरगाह र हाम्बान्टोटा बन्दरगाह श्रीलंकाको आर्थिक विकास सञ्चालन गर्ने ‘डबल इन्जिन’ बनेका छन् । चीन–बंगलादेश मैत्रीपुलले ‘सुनको बंगलादेश’ बनाउने सपना साकार बनाउन टेवा पुर्याइरहेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले पार्टीको २० औं महाधिवेशनमा चीनले छिमेकी देशहरूसँग आत्मीय, सहयोगी, मैत्रीपूर्ण सहकर्मीको सम्बन्ध विकास गर्ने कूटनीतिलाई निरन्तरता दिनेछ र छिमेकी देशहरूसँग मैत्रीपूर्ण विश्वासको सम्बन्ध र आपसी हितको एकाकारलाई गहन बनाउनेछ भन्नुभएको थियो । शान्तिपूर्ण स्थिरतायुक्त विकसित समृद्धिशाली दक्षिण एसिया नै यस क्षेत्रका देश र जनताको हितमा रहनेछ । दक्षिण एसियामा विकासका असीमित सम्भावना छन् । चीन र दक्षिण एसियाली देशहरूको सहकार्यको भविष्य पनि उज्ज्वल छ । चिनियाँ शैलीको आधुनिकीकरणबाट चीन दक्षिण एसियाली देशहरूसँग अनुभव आदानप्रदान गर्दै एकसाथ विकासको सपना साकार बनाउन चाहन्छ ।
चीन, अमेरिका र भारत सबैले नेपालमा सक्रियता बढाउँदै लगेका छन्, यसबारे तपाईं के भन्नुहुन्छ ?
चीनले अमेरिकासँगको सम्बन्ध एकको जित अर्कोको हार हुने खालको होइन भन्ने मान्यता राख्दै आएको छ । यस विशाल पृथ्वीमा समृद्धिशाली चीन र समृद्धिशाली अमेरिका दुवै देश सजिलैसँग अटाउन सक्छन् । सहकार्य र सहयोग नै चीन र अमेरिकाबीचको सम्बन्धको सर्वश्रेष्ठ विकल्प हो भन्ने इतिहास र वास्तविकताले प्रमाणित गरेका छन् । चीन र भारत दुवै विकासको भविष्य उज्ज्वल भएका महत्त्वपूर्ण उदीयमान अर्थतन्त्र हुन्, तिनीहरू एकआपसका सहकर्मी हुन्, एकले अर्कोलाई खतरा उत्पन्न नगराउने विकासका अवसरहरू हुन् ।
चीनले कुनै राजनीतिक अथवा आर्थिक पूर्वसर्त नराखी नेपाललाई सदैव समानता र आपसी हितको अवधारणामा सहयोग गर्दै आएको छ । चीन नेपालको आर्थिक, सामाजिक विकास र जनजीवन सुधारका लागि भित्री मनदेखि नै सहयोग गर्न चाहन्छ । नेपालले अमेरिका, भारतलगायत देशसँग समानताको आधारमा सहकार्य बढाएको देखेर चीन खुसी छ । विभिन्न देशले नेपालसँग सहकार्य गर्दा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय हितको पूर्णरूपले सम्मान भएको चीन हेर्न चाहन्छ । चीन नेपालसँग ‘चीन नेपाल प्लस’ को सहकार्य मोडेल अन्वेषण गर्न चाहन्छ र अमेरिका, भारतलगायतका देशसँग संयुक्त रूपमा नेपाललाई समृद्धिशाली बनाउन सहयोग र समर्थन गर्न चाहन्छ, नेपाललाई अन्तर्राष्ट्रिय विकास सहकार्यको नमुना बनाउन चाहन्छ ।
तपाईं नेपाली जनतालाई अरू के सन्देश दिन चाहनुहुन्छ ?
देशहरूबीचको सम्बन्ध ती देशका जनता कति आत्मीय छन् भन्नेमा भर पर्छ । चीन–नेपालको सम्बन्ध विकासमा प्रत्येक जनताको सहभागिता चाहिन्छ । दुई देशका जनताबीचको सम्बन्ध जति गहिरो हुन्छ, आपसमा आवतजावत जति बढी हुन्छ, दुई देशबीचको मित्रताको आधार उति नै मजबुत हुँदै जान्छ, सहकार्य पनि उत्तिकै बढ्दै जान्छ । म नेपालको सुन्दर प्राकृतिक दृश्य र विशिष्ट संस्कृतिबाट अति प्रभावित भएको छु । यहाँका सांस्कृतिक वस्तु, स्वादिष्ट भोजन र सांस्कृतिक परिदृश्यको रसास्वादन गर्न र जतिसक्दो बढी नेपाली मित्र बनाउन लालयित छु । नेपाली मित्रहरूलाई हाम्रो चिनियाँ दूतावासमा स्वागत पनि गर्न चाहन्छु । तपाईंहरू चीनमा पनि गएर हेर्नुहोला र आफैं आधुनिक चीनको प्रत्यक्ष अनुभव गर्नुहोला । हामी सबै मिलेर चीन–नेपालको हिमालय वारपार मित्रतालाई नयाँ उचाइमा पुर्याऔं ।