नेभिगेसन मेनु

‘नेपालमा विकसित प्रविधि विश्वमा विस्तार हुँदै छ’
सम्पादक:南亚网络电视
समय:2023-01-18 12:50

काठमाडौँ — ताप्लेजुङको विकट ओलाङचुङगोलामा जन्मिएका वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतले करिब तीन दशकअघि सुरू गरेको ‘उज्यालो बाँड्ने’ अभियानले अन्तर्राष्ट्रिय जगतमै ख्याति कमाएको छ । मोतीबिन्दुको शल्यक्रियामा सूक्ष्म पद्धति उपयोग गर्दै उनले नेपालसहित विभिन्न मुलुकका लाखभन्दा बढी मानिसको जीवनमा प्रकाश छरिसकेका छन् ।

thumb (8)

तस्बिर : अंगद ढकाल/इकान्तिपुर

डा. रूइतको सत्कर्मको सम्मान गर्दै बहराइन सरकारले मंगलबार १० लाख डलर राशिको ‘इसा अवार्ड’ प्रदान गर्ने घोषणा गरेको छ । उनीसँग कान्तिपुरका तुफान न्यौपानेले गरेको कुराकानी :

नेपालमा हजारौं शल्यक्रिया, संसारभर सयौं आँखा शिविर सञ्चालन गरेको तथा इन्ट्राअकुलर लेन्स सुलभ दरमा उपलब्ध हुनेगरी आविस्कार र मोतिबिन्दूको विशिष्ट शल्यक्रिया विधि सुरु गरेकोमा तपाईंले कैंयौं प्रतिष्ठित पुरस्कार पाउनुभएको छ । त्यसको सूचीमा बहराइन सरकारले दिने इसा अवार्ड पनि थपिएको छ, तपाईंको जीवनमा यस्ता पुरस्कार र सम्मानले के माने राख्छन् ?

मेरो सम्पूर्ण जीवनको तपस्याको परिणाम हो । म सँधै एकाग्र भएर आफ्नो काममा तल्लिन रहँदै आएको छु । मेरो जिन्दगीका विभिन्न उतारचढावबारे मलाई मात्रै छ । त्यसको बावजुद म यो ठाउँमा पुगेको छु । मैले जिन्दगीमा धेरै अवरोधहरु सहेको छु र धरै सान्त्वना तथा पुरस्कार पनि पाएको छु । यी दुवै कुराले मलाई अगाडी लैजान्छन् ।

इसा अवार्ड अहिलेसम्मको सबैभन्दा ठूलो पुरस्कार हो । यसका लागि मेरो मिहेनत त छँदै छ, सम्पूर्ण हितैषी र असाध्यै नजिक रहेर अन्तरआत्मासँगै मिलेर बस्ने तिलगंगा आँखा अस्पतालको टीम, अन्तर्राष्ट्रिय संघ संस्था र मेरो परिवारको भूमिका म देख्छु । मेरी श्रीमति मेरो जिन्दगीमा नआएको भए मैले जति काम गर्न सकेको छु, त्यो सक्दिनथें । उहाँले मलाई डोर्‍याएर साथ नदिएको भए म यसखालको सफलता पाउँदिनथें ।

कतिपय काम अझै बाँकी छन् । हाम्रो अभियानलाई विश्वव्यापी बनाउन यो अवार्डले मद्दत गर्नेछ । अन्तर्राष्ट्रिय क्षेत्रमा खस्किँदो नेपालको आत्मसम्मानलाई यसले मनोबल दिनेछ । सम्पूर्ण नेपालीको आत्मसम्मान र मनोबलका लागि म अन्तर्राष्ट्रिय क्षेत्रमा लागिरहनेछु । त्यसमा लाग्ने टेवा यसले दिनेछ ।

अस्ट्रेलियाली पत्रकार रे मार्टिनले तपाईंबारे भनेका छन्, ‘रुइत अन्धोपन भएका व्यक्तिहरूको उपचार गरिदिने देवतातुल्य मानिस बनेका छन्‚ जसले ईश्वरले दिएको प्रतिभा र आफूले आर्जन गरेको सीपलाई बडो अनुशासित ढङ्गले प्रयोगमा ल्याएका छन् ।’ तपाईंको प्रतिभा ईश्वरले कति दिएका हुन् ? तपाईंले कति आर्जन गर्नुभएको हो ?

रे मार्टिनको अस्ट्रेलिया महाद्विप र अंग्रेजी पत्रपत्रिकामा धेरै ठूलो नाम छ । त्यस्तो मानिसले भनेको कुरामा सत्यता अवश्य छ । ईश्वरले दिने अवश्य हुन्छ । तर, मेहनत अगाडि बढ्दै जाँदा ईश्वर पनि पछिपछि आउँछन् ।

वर्षौंसम्मको अन्धोपनबाट पीडित व्यक्तिहरू जीवनको एउटा चरणमा पुगिसक्दा सायद आफ्ना देवतासँग प्रार्थनामासमेत आँखाको ज्योति माग्न छाडिसकेका हुन्छन् । त्यस्तो अवस्थाका व्यक्तिको जीवनलाई अँध्यारोबाट एकाएक उज्यालोतिर मोडिदिने अद्भुत काम गर्दै आउँदा तपाईंले प्राप्त गर्नुभएकोमध्ये सबैभन्दा विशेष प्रतिक्रिया के हो ?

करीब २० वर्ष अगाडी धनकुटाको पाख्रीबासमा शिविर चलाएका थियौं । प्रविधि आजको जस्तो विकसित भइसकेको थिएन । शल्यक्रिया गरेपछि बिरामीलाई टेन्टमा राखेका थियौं । तीमध्ये ४० वर्षको जस्तो देखिने एक महिला हिमालय भेगबाट आएकी थिइन् । उनका श्रीमान पनि आएका थिए, उनी सुस्तमनस्थिति जस्तो देखिन्थे । उनीहरुको चार वर्षको एक छोरा थियो । ती महिला किमाथाङ्काको छेउँबाट धनकुटाको पाख्रीबाससम्म ८ दिन हिँडेर आएकी थिइन् । त्यति लामो समय हिँडेर आउँदा बाटोमा ढुंगामा ठेस लागेर उनका खुट्टा रगतै रगत भएका थिए । आँखामा असाध्यै जटिल र धेरै वर्ष पुरानो मेतियाबिन्दू देखिएको थियो, दुवै आँखा ठप्प भएको थियो ।

शल्यक्रिया गर्‍यौं । शिविरमा उनी एउटा कुनामा राखिएकी थिइन् । दोस्रो दिनको रुटिङ जाँचमा म उनी भएछेउँ गएँ । उनको आँखाको पट्टी खोली हेरें । भित्र सबै ठिकै थियो । बुढ्यौलीले छोइ नसकेका मानिसको एकदम छिटो रिकभर हुन्छ ।

पालको कुनामा उनका श्रीमानले बच्चालाई लिटो खुवाउँदै थिए । हिँजोसम्म बत्तिबाहेक केही पनि नदेख्नेले अहिले मानिसहरु देख्न थालेसकेपछि अचम्मसँग हेर्न थालिन् । एकछिनमा उनको बच्चा करायो । त्यो बच्चाको आवाज सुन्नेबित्तिकै उनी एकदमै तीव्र गतिमा गएर समातिन् । काखमा राखिन् । सुमसुमाइन् । एकछिन हेरिन् । उनको आँखाबाट तपतप आँसु चोयो । त्यसपछि उनले धेरैबेर छातिमा टाँसिन् । त्यो एउटा मातृ भावना मेरो स्मृतिमा अहिलेसम्म पनि उत्तिकै ताजा गरिबसेको छ ।

९ महिनासम्म आफ्नो कोखमा राखेर रगत पसिनाको बच्चा पाएकी आमाले कहिल्यै आफ्नो बच्चा देख्न पाएकी थिइनन् । त्यसलाई पहिलोपटक देख्दा के अनुभूति गरिन् होला भनेर हामी अनुमान मात्र गर्न सक्छौं । त्यो घटना मेरा धेरै अविस्मरणीय क्षणहरुमध्ये एउटा क्षण हो ।

प्रविधिले वा उपचारले पनि निको हुन नसक्ने अन्धोपन भएका बिरामीलाई सेवा दिन नसक्दा कस्तो अनुभव हुन्छ ?

धेरै दुख लाग्छ । रामेछापको बाम्तीमा शिविर राखेका थियौं । हामीलाई खबर आयो– एक जना वृद्ध वर्षौंदेखि नदेख्ने, सुतेर बस्नुभएको छ, समस्यामा हुनुहुन्छ । त्यसपछि हामीहरु आधा घण्टा हिँडेर गयौं । उहाँले गाह्रो गरी आँखा हेर्न त दिनुभयो । तर, धेरै पहिले इन्फेक्सन भएर ड्यामेज भइसकेको आँखा थियो । त्यस्तो खालको बिरामी हामीले बेलाबेलामा देखिराख्छौं । केही गर्न सकिदैन । साह्रै दुःख लाग्छ ।

तपाईं कोलोम्बो प्लान अन्तरगत भारतको लखनऊस्थित किङ जर्ज्स मेडिकल युनिभर्सिटीमा सम्भ्रान्त परिवारका छोराछोरीबीच बसेर पढ्दा आफूले एकदमै पराई महशुस गरेको अनुभव ‘दे बेयरफुट सर्जन’ किताबमा उल्लेख गर्नुभएको छ । त्यस्तो अनुभव के कारणले हुन्थ्यो ? पछि नेत्र चिकित्सकको रूपमा संसार घुम्नु भयो, कतिन्जेलसम्म त्यस्तो भावना आइरह्ययो ?

यस्तो अनुभूति स्कुले जीवनबाटै भएकाले मभित्र असाध्यै बलियो गरी बसेछ । तर, यसबाट मैले फाइदा पनि धेरै उठाएको छु । म सुरुमा मेरो गाँउ ओलाङचुङगोला दार्जलिङ पढ्न गएँ । हिमाली गाउँबाट १४/१५ दिन हिँडेर दार्जलिङ पुगेका थियौं । त्यहाँ गएर होस्टेलमा बस्दा मध्यमवर्गीय र उच्चमध्यम वर्गीय मानिसहरुसँग असाध्यै अप्ठ्यारो महसुस गरें ।

त्यो अनुभूतिले मलाई सुरुदेखि नै एउटा के ज्ञान भयो भने, संसारको कुनै पनि कुरा हत्केलामा आउँदैन । मेरो अन्तरआत्मामा नै के बस्यो भने– हरेक कुरा पाउनका लागि मैले अरुले भन्दा बढी मिहेनत गर्नुपर्छ । सुरुमा काठमाडौं आउँदा पनि यहाँका सबै मानिस क्लासका, हामी कहाँ त्यो कुनाको मानिस । एकप्रकारले रिभर्स कल्चरल सक्स जस्तो भएथ्यो ।

लखनउ पढ्न जाँदा भारतका विभिन्न ठाउँबाट आएका एकसेएक मानिससँग बस्दा, प्रतिस्पर्धा गर्दा सुरुमा एक वर्ष मलाई धेरै कष्ट भयो । पढाई सकेर यहाँ काम सुरु गर्दा पनि स्थानीयहरुसँग त्यस्तै अनुभूति भयो । पछि अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्दा हामी तलबाट उठेर आउनुपर्छ भन्ने मैले बुझिसकेको थिएँ । अरू भन्दा दुई गुणा बढी हामीले मिहेनत गर्नपर्छ भन्ने कुरो मलाई अझै पनि लाग्छ । हामीजस्तो यस्तो देशको/पृष्ठभूमिको मानिसले यस्तो खालको अवार्ड पाउनलाई अरूले जति मिहेनत गर्छन्, त्यो भन्दा दुई/तीन गुणा मिहेनत नगरेसम्म हुँदैन/पुग्दैन। हामी त्यो ठाउँमा पुग्नै सक्दैनौं ।

काठमाडौं आउँदा सुरुमा एउटा तारे होटमा बेल ब्वायको रूपमा काम सुरु गर्नु भएको रहेछ । त्यहाँ कसरी आइपुग्नु भएको थियो र त्यहाँबाट कसरी चिकित्सक हुनुभयो ?

दुई वटा कारणले मैले त्यो काम गरेको थिएँ । केही मात्रामा आर्थिक समस्या र अंग्रेजी सिक्ने चाहना । दुवै उद्देश्य पूरा भयो । म कुनै ठूलो अंग्रेजी स्कुलमा पढेको होइन । दार्जलिङको सामान्य स्कुलमा पढ्दा अंग्रेजी भाषा नजानी अगाडी जान सकिने रैनछ भन्ने बुझें। त्यसैले मैले हरेक तरिकाले अंग्रेजी सिक्ने प्रयास गरें । होटलको काम त्यहीमध्येको एक थियो । त्यहाँबाट आजसम्मको यात्राको कुरा गर्दा जिन्दगीमा सुरुमै उद्देश्य स्पष्ट भयो भने पछि सजिलो हुनेरहेछ ।

आँखाको क्षेत्रमा काम गर्नेबारे म सुरुदेखि नै स्पष्ट थिएँ । चिकित्सक भएपछि उच्चतम आधुनिक आँखा उपचारको सेवा दुरदराजमा पुर्‍याउन कसरी सकिन्छ ? त्यसो गर्दा के कस्ता अवरोध आउनसक्छन् ? र त्यो अवस्थामा कसरी काम गर्ने भन्नेबारे सोचेरै म अगाडी बढेको थिएँ । हामी प्रमुख उद्देश्यमा स्पष्ट भयौं भने त्यो प्राप्त गर्न त्यति नै सजिलो हुनेरहेछ । मेरा भाग्य पनि होला, मेरो उद्देश्यले मानवताको कल्याणको लागि काम गरेको छ ।

हलिउड अभिनेता रिचर्ड गिअरले ‘ज्योतिको उपहार दिँदै गरेको सन्दुक रुइतलाई हेर्नु कसैले दोस्रो जीवन दिइरहेको हेर्नु हो’ भनेका छन् । ज्योतिको उपहार दिँदै गर्दा तपाईं आफैंलाई चाँही म कसैलाई दोस्रो जीवन दिइरहेको छु भन्ने लाग्छ कि आफ्नो हरेक दिनको एउटा सामान्य रुटिङ मात्रै ?

काम गरिरहेको बेला कामको चापले पनि होला रुटिङ काम जस्तो लाग्छ । तर, केही समयपछि/फर्केर घर आइसकेपछि – यस्ता घटनाहरूले स्मरणमा राम्रो ठाउँ लिएर बस्दा रहेछन् । अलिकति चिन्ता वा संघर्ष गर्नुपर्ने स्थिति आउँदा मैले त्यस्ता घटना याद गर्छु । यसले एकदम ठूलो प्रेरणा दिन्छ ।

सबैभन्दा गरिब र असहाय मानिसलाई नेत्रज्योति उपहार दिनका लागि तपाईंले प्रारम्भिक दिनहरुमा निकै चुनौतीहरू सामना गर्नुभएको बारे पढ्न पाइन्छ । ती कस्ता चुनौती थिए ?

हामीसँग आर्थिकदेखि लिएर सबै स्रोतको कमि थियो ।सुरुमा सानो टीम थियौं । अहिले ठूलो भइसक्दा पनि त्यो टीमका हामी सबै जना सँगै छौं। अर्को कुरा, हामीलाई मानिसहरुले खासै चिनेका थिएनन् । विश्वसनीयता पनि थिएन । सिस्टममा जान पनि अलिकति गाह्रो थियो।

यी बाहेक, तपाईंहरुले नयाँ काम सुरु गर्दा चिकित्सा क्षेत्रका संस्थापन पक्ष खुसी थिएनन् । उनीहहरुसँग कसरी जुध्नुभयो ?

कहिलेकाँही यस्तो लाग्छ– मैले पाए जति चुनौति अरूले पाउँदैन कि ? १९८७/८८ तिर हो, आँखामा लेन्स हाल्ने प्रविधिबाट विभिन्न ठाउँमा पाइलट स्टडीको रूपमा शल्यक्रिया गरिराखेका थियौं । अन्तर्राष्ट्रिय क्षेत्रबाट यसमा ‘क्रिटिकल इन्टेस्ट्र’ व्यक्त भयो ।

त्यतिबेला आँखामा लेन्स हाल्ने प्रविधि विकासोन्मुख देशहरूका ठूलठूला अस्पतालहरूमा पनि फटाफट चलिराखेको थिएन । नेपाल जस्तो देशको कुनाकाप्चामा हामीले गरिराखेको देखेर मानिसहरूलाई टनटन हुने नै भयो। त्यहीबेला आईएपीबीले नेपालमा मोतियाबिन्दुबारे ठूलो मिटिङ गर्यो । त्यतिबेलाको विश्वमा आँखाको म्यानेजमेन्टमा संलग्न भएकाहरु सबै आएका थिए । विश्व स्वास्थ्य संघ, अमेरिका, भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश र नेपालकै बीचमा छलफल र प्रस्तुतीहरू भए ।

भारतको एक जना विज्ञले आफूले लेन्स नराखी गरेको करीब १००० वटा आँखाको अप्रेसनको रिजल्ट देखाउनुभयो । चश्मा लगाइदिनु नै राम्रो हुन्छ भन्ने सारसहित । पाकिस्तानका विज्ञले पनि देखाए । अन्तिममा हाम्रो पालो आयो । म र मेरो गुरु वा साथी जे भनौं, अस्ट्रेलियाको प्रोफेसर फ्रेड होलोजले प्रतिनिधित्व गरेका थियौं । उहाँ पनि आफ्नो देशको क्रान्तिकारी मानिस हो । उक्त छलफलमा हामीले गाउँ गाउँमा आँखामा लेन्स हालेर (चश्मा नदिई) गरेको प्रविधिको रिजल्टहरू १५० वटा केसमा देखायौं । त्यहाँ भयानक विरोध भयो ।

नेसनल आई इन्स्टिच्युट अमेरिका र आईएपीबीको अध्यक्षहरु उपस्थित थिए । उनीहरुले पनि अहिले सायद विश्वमा परीक्षण भइसकेको र चलनचल्तीमा रहेको प्रविधिलाई परिवर्तन गर्ने समय भएको छैन की भन्नुभयो। हामीलाई इंगित गरिएको थियो। फरक प्रविधिले यस्तो ठाउँमा पनि काम गर्नसक्छौं भनेर हामीले स्थापित गर्दैथियौं। क्लिनिकल ट्रयायल बिना गर्न मिल्दैन भन्नुभयो । हाामीले जुन प्रविधि संसारमा स्थापित भइसकेको छ, त्यसका लागि क्लिनिकल ट्रयायल सायद जरूरी छैन भन्यौं । हामी त त्यहाँ अल्पमतमा पर्यौं । मेरो साथी जुरुक्क उठ्नुभो र भन्नुभो– विश्व स्वास्थ्य संघले मितियाबिन्दूको अप्रेसन गर्दा चाहिने सामान र मोटो चश्मा दिने जुन काम गर्दै आएको छ, त्यसलाई अब इन्टअक्युलर लेन्सले विस्थापित गर्नुपछृ । अहिले सुन्दा यो साधारण कुरा लाग्छ, तर त्यो बेला यो एकदम ठूलो कुरा थियो ।

‘दे बेयरफुट सर्जन’ मा उल्लेख गर्नु भएअनुसार त्यही कार्यक्रममा तपाईंले यस्तो भन्नुभएको रहेछ, ‘अस्पतालै पुग्न नसक्ने मानिसलाई यो संसार देख्ने पाउने हक छैन ? अनि बसभाडा तिर्ने औकात नभएका मानिस वा लेखपढ गर्न नजान्ने र कतै नेत्रज्योति फर्काउने सहयोग पाइन्छ भन्नेसम्म पनि थाहा नपाएका मानिस नि ? तिनको हेरेचाह गर्नु पनि त हाम्रो कर्तव्य हो । ती हामीकहाँ आउन सक्दैनन् भने हामी नै तिनकहाँ किन नजाने ?’ पछिल्लो तीन दशकमा सीमान्त क्षेत्रका बिपन्न बिरामीलाई स्वास्थ्य सेवा दिने सन्दर्भमा सरकारी दृष्टिकोण बदलिएको छ त ?

हामीले त्यस्तो परिस्थिति बदल्न धेरै प्रयास त गरेका छौं । तर अझै परिस्थिति बदलिएको छैन । संसारमा दुई तीन वटा देशह नेपाल भन्दा पनि पछाडीको अवस्थामा छन् । नेपालमा केही सुधार आएको छ । तर, अझै पनि सुधार गर्नुपर्ने आवश्यकता उस्तै छ ।

चिकित्सा पेशामा पनि नेत्र चिकित्सा त झन् सम्भ्रान्त परिवारका छोराछोरीहरु मात्रै संलग्न देखिन्छन् । दुर्गम हिमाली गाउँमा विभेदकारी जातप्रथाको सबैभन्दा तल्लो तहमा जन्मिनुभएको तपाईं नेत्र चिकित्सक हुनुभएको छ । स्वास्थ्य सेवा सबै क्षेत्रका जनताले समान रुपमा पाउने अवस्था कसरी ल्याउन सकिन्छ जस्तो लाग्छ ?

स्वास्थ्य सेवा भन्नेबित्तिकै पहुंच र गुणस्तर दुवै चाहिन्छ । गुणस्तर र व्यवस्थापनमा सम्झौता गर्नु हुंदैन । आर्थिक रुपमा उपभोग गर्न नसक्नेलाई कसरी उपलब्ध गराउने भन्नेबारे कहाँ गाँठो परेको छ, हेरेर त्यसलाई फुकाउनुपर्छ । उनीहरुका लागि निशुल्क वा सब्सिडाइज गर्नैपर्छ । तर, सम्भ्रान्त मानिसहरुलाई भने पैसा तिरेर सेवा लिन प्रोत्साहन गर्नुपर्छ । तर, गरीबहरुलाई एउटा अस्पताल, धनीलाई अर्को अस्पताल भने गर्नै हुँदैन । हामीले तिलगंगाको मोडलमा लैजान सक्छौं । त्यहाँ मन्त्री पनि लाइनमा बस्छ, माग्ने मानिस पनि लाइनमा बस्छ ।

केही वर्षअघि मुलुकको प्रधानन्यायाधीश अप्रेसनको लागि कुरिरहेको कुर्सीको छेउँमै डोल्पाका एक जना व्यक्ति र बसन्तपुरबाट आएको माग्ने मानिस पनि कुरिरहेका थिए । त्यतिबेलाको सबैभन्दा हुनेखाने उद्योगी हुलासचन्द्र गोल्छा पनि अरु बिरामीसँगै लाइनमा बस्नुभएको थियो । हामीले कल्पना गरेको नेपाल यो हो । यस्तो व्यवस्थापन गर्नसक्ने क्षमता हामीसँग छ । शर्त यही हो, गुणस्तरमा सम्झौता गर्नुहुंदैन । सम्भ्रान्त परिवारलाई शुल्क लिनुपर्छ, गरीबलाई फ्रि गर्नुपर्छ ।

तिलगंगा त एउटा उदाहरण मात्रै हो । हाम्रो मुलुकको स्वास्थ्य सेवा प्रवाहको खास तस्बिर त यो होइन । त्यसमा सुधार ल्याउने कसरी हो ?

हामीले सामाजिक उद्यमसिलताको मोडल चलाउन खोज्दैछौं । हामीकहां राज्यबाट सञ्चालित स्वास्थ्य संस्थामा स्रोत छ, कर्मचारीतन्त्र छ, तर, व्यवस्थापनमा समस्या छ । अर्कोतर्फ, निजी क्षेत्रबाट सञ्चालित संस्थामा व्यवस्थापन राम्रो छ, गुणस्तर दिने प्रयास गरिएको छ तर, त्यो महंगो छ । त्यहाँ ग्रिबीको रेखामुनीका आममानिसले पाउँदैनन् ।

मैले यसको बीचमा केही सोच्दैछु । संस्था स्वायत्त होस् । गुणस्तरको सुनिश्चितता र व्यवस्थापनमा पारदर्शिता होस् । अनि धनी र गरीबले सेवा पाउन् । धनीले पैसा तिरुन् । गरीबले फ्रीमा सेवा पाऊन् ।

नेपालमा आँखा उपचारको यो मोडल हामीले विकास गरेका छौं । एक दुई ठाउँमा स्थपना गरेपछि यसलाई अन्त पनि विस्तार गर्न सकिन्छ । अहिले तराई र भित्री मधेसमा सार्वजनिक स्वास्थ्य सेवा असाध्यै तल्लो तहको छ । जनसंख्या धेरै छ । त्यसैले बिरामीको घुंइचो छ । तर, गुणस्तर कमजोर छ । त्यसमा गर्नुपर्ने धेरै छ ।

जम्मा २०० डलरको सिड मनी भएको अवस्थामा तिलगंगा आँखा उपचार केन्द्रको स्थापना गर्नुभएको रहेछ, अहिले सबैका लागि मोडल बन्ने अवस्थासम्म कसरी आइपुग्यो ?

त्यो दुई सय डलरको पनि कथा छ । अष्ट्रेलियाको न्यू साउथ वेल्स युनिभर्सिटीमा म र डा फ्रेड हलोजले सानो पब्लिक टक दिएका थियौं । त्यहाँ उठेको थोरै पैसाबाट सुरु गरेको हो ।

सुरुदेखि नै हामीसँग असाध्यै राम्रो टीम भयो । जगदीश घिमिरेज्यूको नेतृत्वमा शुद्धरुपमा, प्रतिबद्ध भएर कामै गर्ने र त्यसबाट केही पनि नलिने बोर्ड अफ डिरेक्टर बन्यो । मैले आफ्नो उद्देश्यको खाका कोरें, त्यसमा सात आठ जना सबै समेटिनुभयो । तिलगंगाको प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ लगायतको टीम बनाएर हामी अघि बढ्यौं । यो टीम, बोर्ड र मेरो फोकस सबै सिनर्जी भयो । हामी सबैले एक अर्कालाई अन्तरआत्मादेखि नै विश्वास गर्यौं । आपसी विश्वास जहिले पनि हामीमा रहिरह्यो । समस्या त आए तर सँगै बसेर समावेशी निर्णय गर्ने संस्कृति निर्माण गर्यौं । तपाईंको उद्देश्य स्पष्ट छ र त्यसले जनकल्याणको कुरा गर्छ भने कहिले पनि त्यसले धोका दिंदैन रहेछ । तिलगंगाले अन्तर्राष्ट्रिय टीमसँग कुरा गर्दा टेबलमा हामीले एउटै तहबाट कुरा गर्छौं । अझ एक तह माथि भएर कुरा गर्छौं । मलाई यो भन्न एकदमै गर्व लाग्छ, किनभने हामीसँग कामले आर्जेको क्षमता र शक्ति छ ।

तिलगंगाबाहेक पनि तपाईंहरुले सामुदायिक आंखा अस्पतालहरुको स्थपना गरिहनुभएको छ । त्यसले समुदायलाई कसरी सेवा दिइरहेको छ ?

नेपालको आँखाको सेवालाई वृहत्तर तराई भेगमा केन्द्रित गरेका छौं । त्यसले भारतबाट आउने बिरामीहरुलाई पनि सेवा दियो । अहिले भारतमै सेवा राम्रो हुन थालेपछि त्यो कम भएको छ । हामीले समुदायको भुँइतहसम्म पुग्ने गरी राम्रो गुणस्तरको आँखा सेवा दिनसक्ने, सुशासन भएको र कर्मचारीले आत्मसम्मान र स्वामित्व लिनसक्ने अस्पतालहरु निर्माण गर्दैछौं । कर्मचारीले आत्मसम्मान र स्वामित्व लिने कुरा सबै क्षेत्रका लागि धेरै नै महत्त्वपूर्ण छ ।

हामीले ५० हजारदेखि २ लाख सम्मको जनसंख्या भएको ठाउँमा एउटा सामुदायिक अस्पतालको कल्पना गरेका छौं । त्यस्तो अस्पताल तीन तल्ले भवनमा बनाउने । तल ओपीडी, बीचमा ओटी, माथि मिटिंग रुमहरु राख्ने । त्यो कल्पनामा सबैभन्दा पहिले हामीले हेटौंडामा स्थापना गर्यौं ।

त्यहाँ रोटरी क्लवका साथीहरुले साथ दिनुभयो । अग्रज समाजसेवी सिद्धीलाल श्रेष्ठले निरन्तर सहयोग गर्नुभएको छ । हामीलाई समुदायको त्यस्तो हिरोहरु अरुतिर पनि चाहिन्छ । ५ देखि ७ वर्षसम्ममा आर्थिक रुपमा सबल हुने यसको उद्देश्य छ ।

त्यसबाट हामीले मकवानपुरको हर कुनामा आँखाको सेवा दिन सकेका छौं । मकवानपुर भनेको काठमाडौंबाट नजिक भए पनि चुनौतिपूर्ण छ । त्यहाँ असाध्यै गरीबी पनि छ । ठाउँठाउँमा पहुँचको कमी छ । त्यस्तो ठाउँमा पनि यसरी आँखाको सेवा पुर्‍याउन सकेका छौं ।

हेटैंडापछि निजगढमा गर्दैछौं । नगरपालिकाले जग्गा दिएको ठाउँमा बनाउने प्रयासमा छौं । भक्तपुर नगरपालिकासँग मिलेर पूरै जिल्लालाई कभर गर्नेगरी गर्दैछौं । कार्यक्रमलाई मात्रै स्थायित्व दिएर हुँदैन, त्यहाँको मानवस्रोत लाई पनि कसरी स्थायित्व दिने भनेर विचार पुर्याउनुपर्छ । त्यसको लागि तरिकाहरु छन् । उनीहरुलाई के भन्नुपरो भने तपाईं एक घण्टा बढी काम गर्नुभयो भने संस्थाले यति पाउँछ, तपाईंले यति पाउनुहुन्छ । अलिकति मार्केट इकोनोमीको तरिका नलगाई हुँदैन । सामाजिक उद्यमसिलताको मोडल भनेको त्यही हो ।

तपाईंको अभियान हेर्दा नेपाल भन्दा बाहिर स्वयं आफैं गएर शल्यक्रिया गर्ने र चिकित्सकहरुलाई तालिम दिने, नेपालमा विकास गरेको नवीनतम प्रविधिको विस्तार गर्ने र यस्तो समुदायमा आधारित गुणस्तरीय आँखा अस्पतालहरुको पनि अन्य देशहरुमा विस्तार गर्नेगरी तीन तरिकाले काम गर्नुभएको देखिन्छ । नेपालबाट यसरी बाँकी विश्वलाई के के उपहार दिँदै हुनुहुन्छ ?

सबैभन्दा महत्त्वपूर्ण कुरा विकाशोन्मुख देशमा यो सिस्टमलाई कसरी सरलीकरण गरेर यही परिधिभित्र चलाउने भन्ने हो । मलाई पहिलेदेखि विश्वास थियो, नेपालमा गर्न सक्यौं भने संसारमा जहाँ पनि गर्न सक्छौं । त्यसले अहिले फल दिइरहेकै छ । नेपालमा हामीले विकास गरेको आँखाको सेवा र विशेषतः मोतियाबिन्दूको शल्यक्रियाको चेन धेरै देशका धेरै मानिसले रुचाए । किनभने धेरै देशको वातावरण, सामाजिक र आर्थिक अवस्था यस्तै छ । धेरै सरकारहरुले यसलाई ‘साउथ टु साउथ कोअपरेसन ’ को राम्रो नमूना भनेका छन् । यो कुनै विकसित देशमा विकास भएर आएको सिस्टम होइन, नेपाल जस्तो ठाउँमा विकास भएर, नेपालजस्तै अर्को विकासोन्मुख देशमा विस्तार भएको हो । अफ्रिकादेखि एसियाका धेरै देशहरुमा विस्तार भइसकेको छ । सामुदायिका आँखा आस्पतालहरुले पनि विस्तारै आँखा शिविरहरुलाई विस्थापन गर्दैछन् । चीन, भारत, इन्डोनसिया, भुटान, इथियोपिया लगायतमा कतै बनिसकेको छ, राम्रोसँग चलिरहेको छ । कतै बन्ने प्रक्रियामा छ ।

हामीले यी मोडलहरुलाई विदेशमा विस्तार गर्ने भनेको अन्धोपन निवारण्मा टेवा दिन नै हो । धेरै ठाउँमा हाम्रो सिस्टमले धेरै नै परिवर्तन ल्याएको छ । जस्तो, उत्तर कोरियामा मोतियाबिन्दूको गुणस्तर र संख्या धेरै नै बढेको छ । इन्डोनेसियाका धेरै आइल्याण्ड्सका लागि हामीले छ सात वटा समूहलाई तालिम दिएका थियौं । उहाँहरुले धेरै ठाउँमा सेवा विस्तार गर्नुभएको छ । घानामा, इथोपिया, कम्बोडिया, म्यानमार लगायतका धेरै देशमा स्थानीय डाक्टरहरु र संस्थाहरुले आफैं काम गर्नसक्ने बनाएका छौं । सबैभन्दा सुरुमा हामीले तालिम दिएको भियतनाममा हो, १९९२ तिर । त्यो बेला तालिम गरेको डाक्टरहरुले अहिले ठाउँठाउँमा अस्पताल स्थापना गरेर धेरै नै सञ्जाल निर्माण गर्नुभएको छ ।

तपाईंको मुख्य भूमिका नेत्र शल्यक्रियालाई सरलीकृत र सर्वसुलभ गराउनमा रहेको देखिन्छ । यसलाई थप सरलीकृत र सर्वसुलभ बनाउने उपायहरु छन् ?

यो त चल्ने प्रक्रिया हो । सबभन्दा ठूलो कुरा गुणस्तरीय सेवामा ध्यान दिएर सुधार गर्ने ठाउँ हुन्छ होला । केही मात्रामा भविष्यको पुस्ताका लागि पनि त्यो जिम्मेवारी छाड्छु । मेरो ध्यान अबको तीनदेखि ५ वर्ष हामी कसरी विश्वव्यापी रुपमा यी सिस्टमहरुलाई विस्तार गर्न सक्छौं भन्नेमा नै छ ।

सुधारका लागि तपाईंले देखेका ठाउँहरु र नयाँ नेत्र शल्य चिकित्सक उत्पादन गर्नेतर्फ सरकारले गरेको काम कत्तिको सन्तोषजनक छ ?

अझै पुगेको छैन । सरकार अलिकति उदार भयो भने धेरै सुधार हुनसक्छ । हामी तिलगंगालाई नै राम्रोसँग जिम्मा दियो भने अझ राम्रो भूमिका खेल्न सक्छौं ।

आँखाको उच्च गुणस्तरीय स्याहारसुसार हरेक मानिसको जन्मसिद्ध अधिकार हो । तर, नेपाल र अन्य विकासशील मुलुकका सरकारहरु अति गरिब मानिसहरुको सेवाका लागि पैसा खर्च गर्न किन अनिच्छुक छन् ?

सायद सरकारहरुका लागि स्वास्थ्य क्षेत्रमा यी भन्दा पनि ठूला समस्याहरु छन् होला । ध्यान दिनुपर्ने केरा के छ भने, एउटा राम्रो व्यवस्थापन र सुशासनको सीपमा यी सबै कुरालाई गाभ्न सकियो भने धेरै पैसा खर्च नगरी भएकै स्रोत साधनले यसलाई राम्रोसँग लिएर जान सकिन्छ ।

तपाईंले सन् २००६ मा पिस र इन्टरनेसनल अन्डरस्ट्यान्डिङ शीर्षकमा रोमन म्यागसेसे अवार्ड पाउनुभएको थियो । त्यही शीर्षकको म्यागसेसे अवार्ड सन् १९६२ मा मदर टेरेसलाई पनि दिइएको रहेछ । मदर टेरेसाको बाटोमा हिँड्दा उही शीर्षकमा पाएको अवार्डले तपाईंलाई कत्तिको रोमाञ्चित बनाउँछ ?

म पारिवारिक जिम्मेवारीसहितको धेरै व्यावहारिक मान्छे । उहाँको तहमा कहिल्यै पुग्नै सक्दिनँ । उहाँको योगदान, प्रतिबद्धता म भन्दा धेरै माथि छ । यस्तो तुलना गर्नै मिल्दैन ।

सन् २००६ मै भारतका अरबिन्द केजरीवालले इमर्जेन्ट लिडरसीप शीर्षकमा म्यागसेसे पाएका थिए, उनी अहिले भारतको राजनीतिमा चम्किएका छन् । तपाईंलाई राजनीतिमा कुनै रुचि छैन ?

त्यसैसाल म्यागसेसे पाएको अर्को व्यक्ति सिओलको मेयर भएको छ । मैले अहिलेसम्म भन्दै आएको के हो भने – मेरो आफ्नो उद्देश्यमा एकाग्र भएर लागेकैले मैले यो उपलब्धी पाउन सकेको हुँ । त्यसबाहेक यताउतामा मलाई केही रुचि छैन । आफ्नो काममा केन्द्रित छु । मेरो सीमाहरु मैले राम्रोसँग बुझेको छु ।

चश्मा लगाउनु हुँदोरहेछ, तपाईंको आँखामा पनि कुनै समस्या छ र ?

बुढेशकालको आँखा हो, अरु कुनै समस्या छैन । तर, बेलाबेलामा जचाउँछु ।

कसले जाँच्छ तपाईको आँखा ?

डा. रिता, डा. गोविन्दले ।

तपाईं अझै कतिवर्ष सेवामा सक्रिय हुनुहुनेछ ?

६९ वर्ष भएँ । अझै दुई, तीन वर्ष ।

अब आँखाको उपचारको क्षेत्रमा तपाईंले गर्न के बाँकी छ ?

एक जना व्यक्तिगत शुभेच्छुक भेट्याएको छु– तेज कोली । उहाँसँग मिलेर मोतियाबिन्दू शल्यक्रियालाई विश्वव्यापी अभियान बनाएर हिँड्ने योजना छ ।

आँखामा समस्या आउनुपूर्व नै हेरचाह गर्ने तरिका के छन् ?

हरेक बच्चालाई स्कुलमा भर्ना गर्नुअघि आँखाको परिक्षण गर्ने । छिटो पत्ता लाग्यो भने उपचार गर्न सकिन्छ । ४० वर्षपछि नियमित आँखाको जाँच गर्ने । डायबिटिज, हाइपरटेन्सन, ब्लड प्रेसर यस्ता बिरामीले आँखा नियमित जाँच गर्ने ।

आँखामा चोटपटक लाग्यो वा कुनै रसायन पर्यो भने तत्कालै अस्पताल पुग्ने ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर