नेभिगेसन मेनु

अन्तरक्रियात्मक बालनाटक ‘गुलियो स्याउ’ले सिकाउँदै फरक दृष्टिकोणको महत्त्व
सम्पादक:南亚网络电视
समय:2026-07-28 17:11

 

 Guliyo-Syau-3-1024x558

काठमाडौँ, साउन १२ गते । एउटा बच्चाले घामलाई रातो, पातलाई खैरो वा स्याउलाई हरियो रंगमा चित्रित गर्दा त्यो गलत होइन, फरक दृष्टिकोणको अभिव्यक्ति हुन सक्छ। यही सन्देश बोकेको अन्तरक्रियात्मक बालनाटक ‘गुलियो स्याउ’ अहिले काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ।

बाल साहित्यकार तथा रंगकर्मी केदार श्रेष्ठद्वारा लिखित तथा निर्देशित यो नाटकले बालबालिकाको सिर्जनशील सोच, कल्पनाशीलता र स्वतन्त्र दृष्टिकोणलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। नाटकमा एक बालकले बिहानको घाम रातो हुने भन्दै घामलाई रातो रंगले चित्र बनाउँछ भने सुकेको पात खैरो हुने भन्दै पातलाई खैरो रंगले रंगाउँछ। सुरुमा आमाले त्यसलाई गलत ठान्छिन्, तर बालकले आफ्नो तर्क प्रस्तुत गरेपछि एउटै विषयलाई फरक दृष्टिकोणबाट पनि हेर्न सकिने सन्देश नाटकले दिन्छ।

करिब ४५ मिनेट लामो यस नाटकले बालबालिकालाई मनोरञ्जन मात्र नभई सिर्जनशील सोच, समस्या समाधान गर्ने क्षमता, सञ्चार सीप, निर्णय क्षमता र आत्मविश्वास विकास गर्न प्रेरित गर्छ। साथै, अभिभावकलाई आफ्ना सन्तानको विचार सुन्न, बुझ्न र सम्मान गर्नुपर्ने आवश्यकता पनि नाटकले उजागर गरेको छ।

सन् २०१५ मा केदार श्रेष्ठले लेखेको ‘गुलियो स्याउ’ पुस्तक नेपाली भाषामा तीन लाखभन्दा बढी प्रति प्रकाशित भइसकेको छ भने विभिन्न भाषामा अनुवाद समेत भएको छ। हालै यो नाटक मंगोलियामा आयोजित अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चन भइसकेको छ भने इन्डोनेसियासहित अन्य देशमा पनि प्रदर्शनको तयारी भइरहेको छ।

थिएटर सेन्टर फर चिल्ड्रेनको प्रस्तुति रहेको यस नाटकमा मनीष व्याञ्जु, इलिना नकर्मी र सञ्जिता पराजुलीको सशक्त अभिनय रहेको छ। कलाकार र दर्शकबीचको प्रत्यक्ष अन्तर्क्रिया, खेल, संगीत तथा दृश्यात्मक प्रस्तुतिले बालदर्शकलाई सुरुदेखि अन्त्यसम्म आकर्षित बनाइराख्छ।

बालमैत्री नाटकको अभाव रहेको नेपाली रंगमञ्चमा ‘गुलियो स्याउ’ ले बालबालिकाको सिर्जनशीलता र स्वतन्त्र सोचलाई प्रोत्साहन गर्ने उदाहरणीय प्रस्तुति दिएको छ। डिजिटल स्क्रिनको बढ्दो प्रभावबीच यस्तो नाटकले बालबालिकालाई प्रत्यक्ष कला, कल्पना र रचनात्मकतासँग जोड्ने अवसर प्रदान गरेको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर