नेभिगेसन मेनु

पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुंगे बगैँचा
सम्पादक:南亚网络电视
समय:2024-08-20 14:05

a7671e9e-3a45-4477-ba04-fc1fc24f2e1320082024085729.jpg

खोटाङ– झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुंगाले ककनीडाँडा ढाकिएको छ। प्राकृतिक रूपमै आकर्षक विभिन्न आकृति देखिने ढंगैढुंगाले बनेको ककनीडाँडा १६० रोपनी क्षेत्रफलमा फैलिएको छ।

त्रिधार्मिकस्थल हलेसीबाट करिब ३० मिनेटको उकालो पैदलयात्रामा पुगिने पर्यटकीयस्थल ककनीडाँडामा ‘रक गार्डेन’ (ढुंगे बगैँचा) निर्माणाधीन अवस्थामा छ। लामो समयदेखि स्थानीय बासिन्दा घुमफिर र वनभोज जाने ककनीडाँडालाई स्तरोन्नति गरेर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षकस्थल बनाउन हलेसी तुवाचुङ नगरपालिका लागिपरेको हो।

प्राकृतिक रूपमै सजिसजाउ भएका ढुंगालाई थप सजाउने, ढुंगाका बीचबीचमा सुहाउँदो फूल रोप्ने, ठाउँ–ठाउँमा ढुंगे गेट (प्रवेशद्वार) बनाउने, ढुंगे धारा निर्माण गर्ने, ढुंगा कुँदेर महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मूर्ति बनाउने, प्राकृतिक ढुंगालाई नचलाइकन कालो, सेतो र रातो रङको ढुंगा मिश्रण गरेर फूलको आकृति बनाउने, विभिन्न कला तथा संस्कृति झल्कने सजावट गर्ने काम भइरहेको छ। हलेसी तुवाचुङ–७ महादेवस्थानस्थित ककनीडाँडामा निर्माणाधीन रक गार्डेनलाई नगरपालिकाले ‘बुङालुङ’ नामकरण गरेको छ।

विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमालको तस्वीर कैद गर्ने, दृश्यावलोकन गर्ने र मनोरञ्जन गर्ने ढुंगाकै स–साना गेट निर्माण गर्ने र रक गार्डेनका रूपमा विकास गर्ने चारैतिर घेराबार तथा पर्खाल लगाउने काम नगरपालिकाले गरिरहेको छ।

यसैगरी, एक क्षेत्रबाट अर्को क्षेत्र पुग्न ढुंगाकै कलात्मक सिँढी निर्माण गर्न, पर्यटक विश्रामका लागि डाँडाडाँडामा काठका बिसौनी राख्नेगरी तयारी गरिएको छ। यसबाहेक रक गार्डेनमा विद्युत्, खानेपानीको व्यवस्था, विश्रामस्थल, केबलकार, भोजनालयलगायत संरचना निर्माण गर्नेसम्मको परिकल्पना गरिएको छ।

भस्मासुर राक्षसले महादेवलाई लखेट्दा ककनीडाँडामा महादेवको पाइला परेपछि ढुंगाको कलात्मक आकृति निस्किएको किंवदन्ती छ। निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको ककनीडाँडा हलेसी भएर जाने सरकारको १०० वटा पर्यटकीय गन्तव्य मुन्दुम ट्रेल (पदमार्ग)को प्रवेश स्थलमा पर्छ।

ककनीडाँडामा रक गार्डेन निर्माण सुरु गरिएलगत्तै आसपासका जग्गा घडेरीका रूपमा किनबेच सुरु भएको नगर प्रवक्ता एवं महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए। “निर्माणाधीन अवस्थाका रक गार्डेन हलेसी आउने पर्यटकका लागि अर्को गन्तव्यस्थल बनेको छ। रक गार्डेन घुम्न तथा अवलोकन गर्नलाई अहिलेसम्म कुनै टिकट लिनुपर्दैन,” उनले भने, “निर्माण सम्पन्नपछि ठेक्का लगाएर प्रवेश शुल्क लिने योजना छ। यसले नगरको आन्तरिक आयस्रोत वृद्धिमा सघाउ पुग्ने अपेक्षा गरेका छौँ।”

घेराबाराभित्र रहेको रक गार्डेनमा गार्ड हाउस, रेस्टुरेन्ट, प्रमुख प्रवेशद्वार, शौचालय, टिकट काउन्टर निर्माण गरिएको छ। निर्माणाधीन अवस्थामा रहेको रक गार्डेनबाट सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमशृंखला, छिमेकी जिल्ला सोलुखुम्बु, ओखलढुंगा, भोजपुर र रामेछाप तथा तराईका विभिन्न फाँट अवलोकन गर्न सकिन्छ।

रक गार्डेनलाई कतिपयले म्युजिक भिडियो छायांकन गर्ने स्थलका रूपमा विकसित हुन थालेको छ। हलेसी नजिकै रहेको रक गार्डन काठमाडौँबाट मध्यपहाडी लोकमार्गमार्फत गाडीमा सिन्धुली–खुर्कोट–घुर्मी–जयरामघाट हुँदै आउन सकिन्छ। तराईका जिल्लाबाट सिरहाको मिर्चैया–उदयपुरको कटारी–घुर्मी–जयरामघाट तथा धरान–धनकुटा–भोजपुर–दिक्तेल हुँदै पनि यहाँ आउन सकिन्छ। मध्यपहाडी लोकमार्गअन्तर्गत जयरामघाट–हलेसी सडकबाट रक गार्डेन पैदल २०–२५ मिनेटमा र सवारीसाधनमा करिब १० मिनेटमा पुगिन्छ। चट्टानै–चट्टानको प्राकृतिक संरचनामध्ये ५६ रोपनी जग्गालाई समेटेर रक गार्डेन बनाइने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ।

रक गार्डेन सम्पन्न गर्न पाँच करोडभन्दा बढी लाग्ने गरी डीपीआर तयार भएको छ। तीन तहका सरकारको संयुक्त लगानीमा रक गार्डेन निर्माण गर्नेगरी स्तरोन्नति थालिए हो। पर्यटकीय स्थलको स्तरोन्नति गर्दै पर्यटन प्रवर्द्धन गर्ने योजना बनाइएको नगरप्रमुख विमला राईले बताइन्। “हाम्रो नगरपालिकाभित्र हलेसी महादेव, किरात समुदायको उद्गमस्थल तुवाचुङ–जायजुमलगायत दर्जन बढी धार्मिक तथा पर्यटकीयस्थल छन्। ती सबैको स्तरोन्नति एवं प्रवर्द्धन गरिरहेका छौँ,” उनले भनिन्, “धार्मिक तथा पर्यटकीय स्थललाई समेटेर क्युआर कोड विकास गरिरहेका छौँ। यसभित्र धार्मिक तथा पर्यटकीय स्थलको परिचय, महत्त्व, विशेषता, दूरीलगायत विषय समेटिनेछन्”

नगरपालिकाले शुरू गरेको पर्यटन प्रवर्द्धनका कामप्रति प्रदेश तथा संघीय सरकारले लगानी गरेपछि जिल्लाका पर्यटन व्यवसायी उत्साहित छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर