एस ए टिभी, काठमाडौँ । भौगोलिक विविधताले धनी देश नेपालको सबै भन्दा ठुलो ताल हो रारा ताल। रारा ताल कर्णाली प्रदेशको जुम्ला र मुगु जिल्लामा बिस्तार भएको रारा राष्ट्रिय निकुञ्जको प्रमुख आकर्षण हो । कुल क्षेत्रफल ९.६ वर्ग किलोमिटर रहेको यस ताल र ताल वरपरको मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई पनि प्रफुल्लित पार्ने गर्छ।
मौसम अनुकूल आफ्नो स्वरूप फेरिरहने राराले आकाश खुल्दा आकाशकै रङ आफूमा समाहित गर्ने गर्छ। छायानाथ हिमालको छाया प्रतिबिम्बित हुँदा राराको दृश्यले झनै लालायित बनाउने गर्छ। कतिपयले रारालाई धर्तीकै स्वर्गको उपमाको रूपमा पनि चर्चा गर्ने गर्छन्।
रारा राष्ट्रिय निकुञ्ज बन्नु अघि यस क्षेत्रमा रारा, छाप्रु र मुर्मा गाउँ थिए। वि.स. २०३२ सालमा रारालाई राष्ट्रिय निकुञ्ज घोषणा गरेपछि रारा र छाप्रु गाउँका स्थानीयलाई स्थानान्तरण गरियो, तर मुर्मा गाउँलाई भने यथावत नै राखियो।
रारा ताल भई बग्ने खत्याड नदीको किनारै किनार करिब एक घण्टा हिँडेर केही माथि लाग्दा शुरू हुन्छ, मुर्मा गाउँ।
संरचनागत र जीवनशैलीका हिसाबले पृथक् छ मुर्मा गाउँ। ढुंगा, माटो र काठको प्रयोगले बनेका घरहरुले भरिएको छ मुर्मा गाउँ। आधुनिकताको प्रभावले मुर्माका परम्परागत छाना बिस्तारै जस्तापाताले विस्थापित गर्दै छ। गाउँ पुग्दा स्थानीयहरू कृषि गतिविधिमा व्यस्त देख्न सकिन्छ।
पर्यटकहरू राराको पूर्ण स्वरूप हेर्न मुर्मा टप पुग्न मुर्मा गाउँ हुँदै जाने गर्छन्। यहाँबाट उत्तर तर्फका जिल्ला बझाङ, बाजुरा तथा अपि, साइपाल लगायतका हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ।
प्राकृतिक सुन्दरताले भरपुर रारा पुग्न देशको सङ्घीय राजधानी काठमाडौँ देखी करिब ८ सय ६३ किलोमिटरको दुरी तय गर्नु पर्ने हुन्छ। सडकको विकल्पमा हवाई मार्ग हुँदै पनि रारा पुग्न सकिन्छ। मुगुको ताल्चा विमानस्थल हुँदै केही घण्टामै रारा पुग्न सकिन्छ।