इटाली, स्पेनदेखि चीन र दक्षिण कोरियाली महिलामा सन्तान जन्माउने अरुचि बढ्दै गएको एउटा अध्ययनले देखाएको छ। यस किसिमको अरुचिले आउँदो शताब्दीसम्म विश्वको जनसंख्या उच्च तहमा पुगेर ओराले लाग्न थाल्ने आकलन गरिएको छ। सन् २१०० सम्म पुग्दा अर्थात् अबको ७५ वर्षपछि विश्वको जनसंख्या २० करोडले कमी हुने आकलन संयुक्त राष्ट्रसंघले जारी गरेको वल्र्ड पपुलेसन प्रोस्पेक्टसमा गरिएको छ। २२औं शताब्दीसम्म यत्ति धेरै जनसंख्या घट्नु यसअघि राष्ट्रसंघले गरेको अनुमानभन्दा बढी हो।
रिपोर्टमा भनिएको छ– सन् २०२४ मा संसारको जनसंख्या आठ अर्ब २० करोड पुगेको छ। सन् २०८० सम्म पुग्दा यो संख्या १० अर्ब ३० करोड पुग्नेछ। त्यसपछिका २० वर्षमा विश्वको जनसंख्या घट्न थाल्ने छ। जसअनुसार जनसंख्या १० अर्ब १० करोडमा झर्ने आकलन गरिएको छ। खासगरी युरोपेली मुलुकमा २१ प्रतिशतले जनसंख्या घट्ने प्रक्षेपण गरिएको छ । सन् २०२० मा युरोपमा जनसंख्या उच्च दरमा थियो।
जनसंख्या घट्नुलाई केही अर्थशास्त्रीले गम्भीर आर्थिक संकटलाई कारक मानेका छन्। आर्थिक संकटका कारण खासगरी हाउजिङ, भौतिक पूर्वाधार तथा सेवाजन्य व्यवसायमा ठुलो गिरावट आउने देखिएको छ । यस्तै काम गर्ने युवा घट्ने र वृद्धवृद्धाको संख्या बढ्दै जाँदा उनीहरूका लागि बढीभन्दा बढी वृद्धभत्ता थप्नु पर्दा सार्वजनिक वित्तमा ठुलो दबाब पर्ने राष्ट्रसंघको रिपोर्टमा जनाइएको छ।
‘कम कामदार हुँदा वृद्धिदर पनि कम हुन्छ। वृद्धिदर कम हुँदा कर पनि कम उठ्छ । यस्तो अवस्थामा वृद्धहरूलाई आवश्यक पर्ने स्याहारसुसार, औषधिउपचारमा ठुलो असर पर्ने देखिन्छ,’ लन्डन स्कुल अफ इकोनमिक्सका प्राध्यापक चाल्र्स गुडहार्टले उक्त रिपोर्टमा प्रतिक्रिया दिँदै भनेका छन् ।
यस्तो प्रोस्पेक्टस् राष्ट्रसंघले हरेक दुई वर्षमा प्रकाशन गर्छ । रिपोर्टमा जनसंख्या वृद्धिदर केही देशमा अहिले राम्रो देखिए पनि समयक्रमसँगै ती देशमा तीव्र गतिमा जन्मदर घट्ने देखिएको छ । सन् १९९० को दशकमा भन्दा अहिले महिलाले कम सन्तान जन्माइरहेका छन्। पछिल्लो समय औसतमा एक महिलाबाट हुने सन्तान जन्मदर २.१ छ।
यो जन्मदर स्थिर जनसंख्याका लागि उपयुक्त मानिन्छ। तर चीन, इटाली, दक्षिण कोरिया र स्पेनमा भने जन्मदर १.४ मात्र छ, जुन राष्ट्रसंघका अनुसार ‘ज्यादै न्यून’ हो। चीन, जर्मनी र जापानजस्ता देशमा सन् २०२४ मा नै जनसंख्या उच्च आकारमा पुगिसकेको छ ।
प्रायः उच्च आकारमा जनसंख्या पुगिसकेपछि झर्ने क्रम सुरु हुन्छ। विश्वभरिको जनसंख्या ‘लोअर पिक’ मा पुग्नुलाई केही अर्थशास्त्रीले राम्रो मान्ने गरेका छन्। यो एउटा आशावादी संकेत पनि हो। यसले पर्यावरणमा पार्ने असर कम हुनेछ। तर काम गर्न योग्य जनसंख्या घट्नु र वृद्धवृद्धा बढ्नुले सार्वजनिक वित्तमाथि ठुलो असर पुग्ने अर्थशास्त्रीको भनाइ छ।